RaraNews

प्रकाशित : २०७७/२/२८ गते
१०८९ पटक

डा. अम्बेडकरले भारतमा एक बौद्धिक व्यक्ति तथा नेताको परिचय बनाए । दलित समुदायका भीमराव रामजी अम्बेडकरले दलितका निम्ति समानताको लडाइँ मात्रै लडेनन्, भारत स्वतन्त्र भएपछि संविधान निर्माणमा महत्त्वपूर्ण योगदान पनि गरे । तर, अम्बेडकरको भारतमा दलित समुदायका अधिकांशले अझै उपेक्षित भएर बाँच्नुपरेकै छ ।

विक्रम संवत् १९१० मा जंगबहादुर राणाले ल्याएको मुलुकी ऐनले छुवाछूत तथा जातीय विभेदलाई नेपालमा वैधानिक गरायो । प्रस्तावनामा ‘समानता’ शब्द राखेको मुलुकी ऐनले आफूभित्र प्रशस्तै विभेदकारी धाराहरू पनि राखेको थियो । यी विभेदकारी व्यवस्थाबाट सबभन्दा बढी दलित समुदाय प्रताडित भए । २०२० सालमा आएको मुलुकी ऐनले जातीय विभेद अन्त्य त भन्यो तर ऐनमा व्यवस्था भएका कुरा समाजका बुज्रुकहरू मान्न तयार भएनन् । आज पनि व्यवहारमा दलितले विभेद भोग्नु सामान्य ठानिन्छ । पोहोर आएको नयाँ मुलुकी ऐनले पनि जातीय विभेदलाई गैरकानुनी मानेकै छ । तर, समाजका कथित उच्च जातका मानिसहरू दलितको हैसियत सम्झाउन आज पनि उद्यत छन् । पश्चिम रूकुमको सोतीमा नवराज विक र उनका साथीहरूको हालै भएको हत्या यसको पछिल्लो उदाहरण हो ।

निरंकुश राणा शासकहरूको ऐनले वैधानिकता दिएको जातीय विभेद राजतन्त्र र गणतन्त्रमा आएका ऐनले किन अन्त्य गर्न सकेनन् ? नेपाल होस् वा भारतमा, कानुनले वर्जित गरेको दशकौं बित्दा पनि किन दलितमाथिको विभेद कायमै छ ? किन यत्तिका वर्ष चलेका विभिन्न राजनीतिक संघर्ष र दलित आन्दोलनले पूर्ण परिवर्तन ल्याउन सकेनन् ? किनकि सामाजिक विभेदलाई राज्य र समाजले कहिल्यै आफ्नो समस्या ठानेनन् । सामाजिक स्तरीकरणमा माथि राखिएका समुदाय अनि राज्यको वागडोर सम्हालेका वर्ण र जातले जातीय विभेद दलित समुदायको मात्रै समस्या ठाने ।

समाजलाई सभ्य बनाउने वा विधिमा बाँध्ने भनेको लिखित कानुनले मात्र होइन । यसमा अलिखित नीति–नियमको भूमिका अझै बढी महत्त्वपूर्ण हुन्छ । संविधान र ऐनमा समानताको व्यवस्था हुँदैमा वा दलित समुदायले अधिकारको निम्ति आन्दोलन गर्दैमा समानता हुँदैन । यसलाई सबभन्दा बढी राजनीतिक दलले आत्मसात् गर्नुपर्छ । जबसम्म राजनीतिक दलले यसलाई आत्मसात् नगरी राजनीति गर्ने हतियार मात्रै बनाउँछन् तबसम्म कानुनी ब्यवस्था तथा दलित समुदाय र राज्यबीच भएको सम्झौताको दस्तावेज दलितमाथि गरिएको प्रपञ्चमात्रै साबित हुन्छन् । अझै पनि स्तरीकरणमा माथि पारिएका समुदायका कत्तिले (सबैले होइन) तल पारिएकासँग दूरी कायम गर्नु तथा उनीहरूलाई दबाउनुमै महानता देखिरहेका छन् । यसमै छ, अरूका श्रम र साधनमाथि राइँदाइँ गर्ने मौका । कुनै पनि नाममा दूरी कायम गर्नु र अरूलाई दबाउनु अहंकार र मूर्खता हो । मूर्खता र अहंकारको उपचार विश्वको कुनै कुनामा छैन । यसले समाजमा दुष्परिणामको पुनरावृत्ति भने गराइरहन्छ । अरूका श्रम र साधनमाथि राइँदाइँ गर्दा द्वन्द्व मात्रै बढ्ने गरेको छ ।

रूकुममा भएको घटनामा विभिन्न तर्क आइरहेका छन् । नि:सन्देह घटनाको जरा जातवादी सामाजिक संरचना र विभेदकारी मानसिकतामा छ । अन्तर्जातीय प्रेमलाई, त्यसमा पनि सामाजिक स्तरीकरणमा पिँधमा रहेको र कथित उपल्लो जातिबीचको मायालाई स्विकार्न नसक्नेहरूले यो घटनाको दोष दलित समुदायतिरै तेस्र्याएका छन् । किन हूल बाँधेर गुन्डाको शैलीमा केटी लिन गएको ? किन लकडाउन उल्लंघन गरेको ? किन नाबालिका केटी लिन आएको ? यी सब जातीय अहम्को दुष्परिणामलाई मोड्न गरिएका निम्छरा प्रश्न हुन् ।

समाजलाई सभ्य बनाउने वा विधिमा बाँध्ने भनेको लिखित कानुनले मात्र होइन । यसमा अलिखित नीति–नियमको भूमिका अझै बढी महत्त्वपूर्ण हुन्छ । संविधान र ऐनमा समानताको व्यवस्था हुँदैमा वा दलित समुदायले अधिकारका निम्ति आन्दोलन गर्दैमा समानता हुँदैन ।

गुन्डाको शैलीमा केटी लिन गए भनिएकालाई जन्तीको रूपमा बेहुली लिन जाने रहर थिएन होला ? जन्ती जानु नै उनीहरूका लागि सहज, स्वीकार्य र रुचिकर कदम हुन्थ्यो । तर, केटीको परिवारले नवराज विकलाई पहिले नै प्रहरीमा बुझाएपछि सहज बाटो बन्द भइसकेको थियो ।

लकडाउनमा हूल बाँधेर हिँडेकोमा प्रश्न गर्न सकिन्छ । तर, १८ जनाको हूललाई लखेट्न, छेक्न र पिट्न कति मान्छे चाहिन्छ ? १८ जनालाई लखेट्ने ४० जना जति थिए भनिएको छ । ती मानिस अचानक कसरी भेला भए ? कि लकडाउन उल्लंघन गर्नेहरू गाउँमा पस्छन् र जाइलाग्नुपर्छ भनेर पहिल्यै एकजुट थिए ? चालीस जना मानिस एकै ठाउँमा थिए भने त्यो पनि लकडाउन उल्लंघन होइन ?

उमेर नपुगी विवाहको विषय आफैँमा जायज छ । तर, यस्तो विवाह पहिलोचोटि हुँदै थियो ? अझै पनि गाउँ–घरमा कानुनले तोकेको उमेर नपुगी विवाह गर्ने धेरै छन् । यसबारे सामाजिक चेतना फैलाउनु जरुरी छ । तर, नाबालिकासँग प्रेम र विवाह गर्न खोजेकै आरोपमा सामूहिक हत्या जायज मान्न सकिन्छ ? यसले देखाउँछ– नेपाली समाजमा पिँधमा पारिएका दलितको प्रेम भावनासमेत सधैं वर्जित छ ।

रूकुम घटना खासमा जातजातबीच समानता कायम गर्ने कि असमानता बाँकी राख्ने भन्ने प्रश्नको संघर्ष हो । ‘म पनि तिमीजत्तिकै समान छु’ भन्ने र ‘तँ मजत्तिकै समान छैनस्’ भन्नेहरूले उपभोग गर्दै आएको संरचना र हैसियतबीचको द्वन्द्वको परिणाम हो । द्वन्द्वमा विवेक प्रयोग गरिएन भने समाजको शक्ति र छवि दुवै खस्किँदै जान्छ । रूकुममा ऊर्जावान युवा मारिएका छन् । साथै ऊर्जावान युवाको हत्या–आरोपमा केही मानिस जेल जाने निश्चित छ । ती कुटिएका र आफ्ना साथी गुमाएका युवाहरू कथित उपल्लो जातप्रति जीवनभरि नै नकारात्मक हुन्छन् । त्यहाँ देखिएका यी आयामले सिंगो समाजलाई फेर्ने काममा अवरोध पुगेको तथ्यतिर इंगित गर्छन् ।

रूकुम घटनामा नवराज विकलाई नै गलत देख्नु जातीय उन्माद हो । जातीय उन्माद भएको ठाउँमा एकाध दलित अम्बेडकर भएर स्थापित होलान् । तर, अन्तरजातीय प्रेमको नाममा धेरै नवराजहरू मारिने क्रम जारी रहन सक्छ । दलितको प्रेमलाई वर्जित र हत्यालाई चाहिँ जायज देख्ने समाज कहिल्यै सभ्य र सुसंस्कृत हुन सक्दैन, समतामूलक वा समाजवादी त टाढैको कुरा भयो ।प्रकाशित : जेष्ठ २४, २०७७ १०:३०

ekantipur.com

प्रतिकृया दिनुहोस्