RaraNews

प्रकाशित : २०७७/२/२७ गते
१०३२ पटक

बझाङ — भारतबाट आएर दौलीचौर मावि क्वारेन्टाइनमा बसेका एक जना बिहीबार राति कुटपिटमा परे । मदिरा सेवन गरेर पसेका एक जना स्थानीयले उनलाई कुटपिट गरेका थिए । क्वारेन्टाइनमा रहेकाको सम्पर्कमा गएको भन्दै प्रहरीले ती स्थानीयलाई पनि क्वारेन्टाइनमा राख्यो ।

त्यसको केहीबेरपछि कुटिने पक्षका ११ जना आफन्त गाउँबाट आए । क्वारेन्टाइनमा पसेर कुट्नेलाई खोजे, जाइलागे । गाउँबाट ठूलो संख्यामा मानिसहरू आएर झगडा गर्न थालेपछि त्यहीं रहेका अरूले छुट्याउने प्रयास गरे । झगडा साम्य भइसकेपछि ती ११ जनालाई पनि प्रहरीले क्वारेन्टाइनमै राखेको छ । यो घटना सुर्मा गाउँपालिकाको हो ।

मष्टा गाउँपालिकाले जानकी आधारभूत विद्यालयको क्वारेन्टाइनमा रहेका पाँच जना गाउँको एक पसलमा गएर दैनिक मदिरा सेवन गरिरहेको खबर पाएर प्रहरीले उनीहरूलाई धपाउन खोज्दा सामान्य तनाव भयो । उनीहरू रक्सी खान पाउनुपर्छ भन्दै प्रहरीविरुद्ध गालीगलौजमा उत्रिएपछि प्रहरीले केहीलाई लाठी नै हान्नुपरेको थियो । यो शुक्रबारको घटना हो ।

खप्तड छान्ना गाउँपालिकामा कोरोना पुष्टि भएका एक जना पुरुष संक्रमण पुष्टि हुनुपूर्व क्वारेन्टाइनबाट भागेर दुई दिन आफ्नो घरमा बसेका थिए । काठमाडौंबाट केही दिन पहिला गाउँ फर्केका उनी घरमात्रै गएनन् । केही आफन्त र साथीहरू बोलाएर कुखुरा काटेर रक्सी पार्टीसमेत गरेको स्थानीय शैलेन्द्र रोकायाले बताए । यसबीचमा उनले छरछिमेकका २० जनाभन्दा बढी मानिसहरूसँग भेटघाट गरेको उनको भनाइ छ । खप्तड छान्नामै कोरोना पुष्टि भएका अर्का व्यक्ति पनि क्वारेन्टाइनबाट भागेर घर गएको र उनी स्थानीयसँग मिलेर रोपाइँ गर्नसमेत गएको बुझिन आएको खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष बर्क रोकायाले बताए ।

बझाङको क्वारेन्टाइनमा भएका घटनामध्ये यी बढी चर्चामा आएकामात्रै हुन् । जिल्लाका अधिकांश क्वारेन्टाइनमा बस्नेहरूले त्यहाँ बस्दा पालना गर्नुपर्ने आचारसंहिता उल्लंघन गरेको विषय सामान्य जस्तै हुन थालेका छन् ।

शुक्रबार तल्कोट गाउँपालिकाको दुर्गा भवानी उच्च मावि क्वारेन्टाइन पूरै खाली थियो । त्यहाँ रहेका १२ जना मानिस अरू स्थानीयसँग मिलेर माछा मार्न खोलातिर गएको स्थानीय रमेश विष्टले बताए । उनका अनुसार यहाँका सबैजसो क्वारेन्टाइनमा बसेकाहरू साँझ खाना खाएर सुत्न घर जाने र बिहानै उठेर फेरि क्वारेन्टाइनमा फर्कने गरेका छन् । गाउँपालिका अध्यक्ष लालबहादुर विष्टले भने त्यसो गरिएको भए प्रहरी परिचालन गरेर कडाइ गरिने बताए ।

स्वास्थ्य कार्यालय बझाङले गतसाता संकलन गरेर पठाएका १७ वटा नमुना परीक्षण गर्दा ७ जनामा कोरोनाको संक्रमण पुष्टि भयो । यीमध्ये ६ जना भारतबाट आएका र एक जना काठमाडौंबाट केही दिनअघि बझाङ फर्किएका हुन् । संक्रमण पुष्टि भएसँगै जिल्लामा जोखिम बढ्दै गएको भए पनि सावधानी भने पर्याप्त नभएकामा चिन्ता गर्न थालिएको छ ।

‘क्वारेन्टाइनमा राखिएकाहरू दिनभर गाउँ घुम्छन् । गाउँलेसँग मिलेर तास खेल्ने, रक्सी खाने गरिरहेका छन्’ खप्तड छान्ना गाउँपालिकाका स्थानीय कलक खत्रीले भने, ‘कोही राति सुत्न घर गएर फेरि खाना खान क्वारेन्टाइनमा आइरहेका छन् । यो के चाला हो ?’ उनले गाउँमा ६ जनालाई कोरोना पुष्टि भइसक्दा पनि क्वारेन्टाइनमा बसेकाहरूलाई आचारसंहिता पालना गराउन स्थानीय सरकार र प्रशासन असफल हुँदा संक्रमण फैलिने जोखिम बढेको बताए ।

सोमबारसम्म जिल्लाभरिका १ सय ९० क्वारेन्टाइनमा ३ हजार २ सय ६४ जना बसिरहेका छन् । क्वारेन्टाइनमा बसेकाहरू अधिकांश मानिस समुदायको सम्पर्कमा जान थालेपछि संक्रमण फैलिने जोखिम बढेको भन्दै स्थानीयहरू चिन्तित हुन थालेका छन् ।

‘भारतबाट आउँदा हामीलाई नेपालमात्रै लैजानुस्, जति दिन पनि बस्न तयार छौं भन्ने यता आएर मनपरी गर्ने गरेका छन्,’ बझाङका डीएसपी गणेश बमले भने ‘आफैं सचेत हुनुपर्ने हो । यत्रो मान्छेलाई नियन्त्रण पनि कसरी गर्नु ?’ उनले भारतबाट आएकाहरूलाई क्वारेन्टाइनमा राखिएको भए पनि देशकै अन्य जिल्लाबाट आएकाहरूलाई सोझै घर पठाएका कारण पनि जोखिम बढेको बताए ।

क्वारेन्टाइनमा नराख्ने गाउँपालिकाको निर्णय

यसैबीच सबैभन्दा बढी (६ जना) संक्रमित एकैपटक देखिएको खप्तड छान्ना गाउँपालिकाले क्वारेन्टाइन व्यवस्थापनमा समस्या भएको भन्दै अब आउने कसैलाई पनि क्वारेन्टाइनमा नराख्ने निर्णय गरेको छ । जेठ ७ गते नै कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको भए पनि २० गतेबाट कार्यान्वयन थालिएको गाउँपालिका अध्यक्ष बर्कबहादुर रोकायाले बताए ।

‘यहाँका सबै क्वारेन्टाइन भरिए । अब राख्ने ठाउँ छैन,’ उनले भने, ‘त्यसैले अब आउनेलाई घरमै सुरक्षित रुपमा बस्न अनुरोध गर्ने र क्वारेन्टाइनमा नराख्ने निर्णय गरेका हौं ।’ यहाँ रहेका १० वटा क्वारेन्टाइनमा हाल ५ सय २१ जना बसिरहेको उनले बताए । जबकि बझाङकै अन्य स्थानीय तहले १ हजार ३ सय जनालाई पनि विभिन्न क्वारेन्टाइनमा राखिरहेका छन् । गाउँपालिकाको क्वारेन्टाइनमा नराख्ने निर्णयले जोखिम झन् बढाएको स्थानीयले बताएका छन् ।

खप्तड छान्ना गाउँपालिकाले नै संक्रमण पुष्टि भएको चार दिनपछि संक्रमित भेटिएको वडालाई सिल गर्ने निर्णय गरेको छ । जेठ २२ गने ६ जनामा संक्रमण पुष्टि भए पनि आइतबारमात्रै संक्रमितहरू भेटिएको वडा नं. ३ मा आवतजावत बन्द गर्ने निर्णय गरेको हो ।

यता निमित्त प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीले क्वारेन्टाइनमा नराख्ने भन्ने गाउँपालिकाको निर्णयका बारेमा आफूलाई आधिकारिक जानकारी नआएको र त्यसो गरिएको रहेछ भने सीसीएमसीको बैठकमा छलफल गरिने बताए । उनले क्वारेन्टाइनबाट राति घर जाने गरेको सूचना आफूलाई पनि आएको बताउँदै यस्ता गतिविधिले जोखिम झन् बढाएको बताए । क्वारेन्टाइनमा बसेकाहरूको पीसीआर परीक्षणका लागि ५४ जनाको स्वाब संकलन गरेर धनगढी पठाइएको छ । साता दिनअघि पठाएको नमुना परीक्षणको रिपोर्ट अझै आइसकेको छैन । यद्यपि क्वारेन्टाइनमा बसेकाहरूलाई आरडीटी परीक्षण गरेर धमाधम घर पठाउन थालिएको छ ।

नमुना राख्ने ठाउँ नभएको भन्दै पीसीआर परीक्षणको काम बन्द गरिएको छ । परीक्षण सुस्त भएका कारण जिल्लामा झन् जोखिम बढेको स्वास्थ्य कार्यालयका प्रमुख भानुभक्त जोशीले बताए । ‘पीसीआर परीक्षण बन्द भएपछि आरडीटी गरेर घर पठाउनुको विकल्प छैन । तर आरडीटीको कुनै भर छैन,’ उनले भने । थोरै मात्रामा गरिएको परीक्षणमा आधाभन्दा बढीमा संक्रमण पुष्टि भएको बताउँदै उनले आरडीटीकै भरमा घर पठाएकाहरूका कारण समुदायमा संक्रमण फैलिए जिल्लाले धान्न नसक्ने बताए ।

प्रतिकृया दिनुहोस्