RaraNews

प्रकाशित : २०७७/२/२७ गते
१०४८ पटक

काठमाडौँ — कुनै पसलको सटर आधा खुला छ । कोही पसलले सटर खोल्ने सुरसार गर्दै छन् । पसल खोलिसकेका व्यवसायीको ध्यान भने आफ्नो सटर बाहिर छ । खुलिसकेका सटरबाट कोही बाहिर निस्केर वरपर बाटोमा के हुँदै छ, अरू कुन पसल खुले भनी हेर्छन् । साथै कतै प्रहरीले पसल बन्द गर्न लगाएको छ कि छैन भनेर पनि आँखा डुलाउँछन् ।

काठमाडौंका न्युरोड, सुन्धारा, इन्द्रचोक, असन र विशाल बजार आसपासका पसलमा सोमबार देखिएको दृश्य हो, यो । तिनैमध्येका व्यवसायी टीकाराम चापागार्इं भन्छन्, ‘हामी व्यवसायीलाई डर र बाध्यता दुवै छ । आज पहिलो पटक पसल खोलेको हुँ । पुलिस आएर कतै बन्द गरिदिन्छन् कि भन्ने चिन्ताले पनि बाहिर हेरिरहनुपर्छ ।’ धेरै समय बन्द रहेपछि पसलको अवस्था बुझ्न खोलेको उनको भनाइ छ । उनले न्युरोडस्थित ब्रदर्स मोबाइल हब सञ्चालन गर्दै आएका छन् ।

व्यवसाय धान्न र अर्थतन्त्र चलाउन सरकारले निश्चित समय तोकर पसल खोल्न दिनुपर्ने उनको भनाइ छ । बिहान ८ देखि १२ बजेसम्म पसल खोलिने उनले बताए । लकडाउनको साढे दुई महिनासम्म चुप लागेर बसे पनि अब व्यवसाय ठप्प पारेर बस्न नसकिने व्यवसायीहरूको भनाइ छ । न्युरोडकै व्यवसायी श्रीराज महर्जनले व्यवसायीहरूको सल्लाहमा पसल खोलेको जानकारी दिए ।

एकातिर कोभिड–१९ को संक्रमण र भाइरसबाट मृत्यु हुनेको संख्या बढिरहेको छ भने अर्काेतिर व्यवसायी आफैंले सरकारको निर्देशनबाहिर रहेर पसल खोलिरहेका छन् । अहिले लकडाउन गर्नुपर्नेमा सरकारले अगाडि नै गरिसकेको उनीहरूको गुनासो छ । पसलबाटै गुजारा चलाउनुपर्ने भएकाले धेरै समयसम्म बन्द गरेर बस्न सक्ने स्थिति नभएको व्यवसायी बताउँछन् ।

‘सरकारले अचानक लकडाउन गर्ने घोषणा गर्‍यो । अब पसलको सबै हिसाबकिताब बुझाउनुपर्छ । पसलको भाडा, कर्मचारीहरूलाई तलब र बैंकलाई ऋणको ब्याज सबै तिर्नुपर्छ,’ उनले भने, ‘यो सबै गरेर महिनामा ४ लाख रुपैयाँ नोक्सान भइरहेको छ ।’ सुरक्षाका उपाय अपनाएर निश्चित समय तोकी सबै पसल सञ्चालन गर्न पाउनुपर्ने व्यवसायीको माग छ । कोभिड–१९ को संक्रमण बढी देखिएका स्थानलाई सिल गरेर अन्य ठाउँमा लकडाउन खुकुलो बनाउँदै जानुपर्ने उनीहरूको सुझाव छ ।

यता महानगरीय प्रहरी वृत्त विशालबजारका प्रमुख एवं डीएसपी सुनिलजंग शाहले भने धेरै समयदेखि पसल बन्द रहेकाले त्यसको रेखदेखका लागि केही समयसम्म खोल्न दिइएको बताए । ‘पसलका सामानको रेखदेख र सरसफाइका लागि पसल खोल्न दिनुहोस् भनेर अनुरोध गरिसकेपछि बिहान केही समय अनुमति दिएका हौंं,’ उनले भने, ‘व्यवसायीले ड्यामेज सामान बाहिर निकालिरहेको र फोहोर सफा गरिरहेको पाएका छौं ।’ सरकारले अहिलेसम्म लकडाउनसम्बन्धी कुनै निर्णय नगरेकाले व्यवसायीलाई केही दिन धैर्य गरिदिन अनुरोध गरेको उनको भनाइ छ ।

‘लकडाउनको ७७औं दिनसम्म चुप लागेर बसिदिनुभयो । यसमा सरकारले निजी व्यवसायी र विज्ञसँग छलफल गरिरहेको छ,’ उनले भने, ‘अब केही दिन सरकारको निर्णय मान्न आग्रह गरेका छौं ।’ सरकारले कुनै निर्णय गर्न नसकेपछि व्यवसाय जोगाउनकै लागि पसल खोलेको न्युरोडस्थित ससम्बु ट्रेड कन्सर्नका सञ्चालक भीमसेन थापाले बताए ।

‘सरकारले कुनै निर्णय गर्न सकेन । परिवार, स्टाफ सबै पसलबाट हेर्नुपर्छ,’ ४२ वर्षदेखि पसल चलाइरहेका उनले भने, ‘अहिलेसम्म धैर्य गर्‍यौं । सटरको भाडा १ लाख रुपैयाँ छ । व्यापार नगरी त्यो पैसा कसरी तिर्नु ?’ न्युरोड, सुन्धारातिरका मोबाइल, घडी, मिठाई, चस्मा, स्टेसनरी, कपडा व्यवसाय र खुद्रा पसल सोमबार खुलेका थिए । असन, इन्द्रचोक र विशाल बजार क्षेत्रका कपडा, सुनचाँदी, भाँडा र केही कस्मेटिक्स पसल पनि सञ्चालनमा थिए ।

‘अहिलेसम्म धेरै सामान बिग्रिएछन् । नोक्सान पनि उत्तिकै भयो,’ न्युरोडस्थित उन्नति फुड प्रडक्टका सञ्चालक सञ्जय चित्रकारले भने, ‘लकडाउनले ८ लाख रुपैयाँबराबरको घाटा भयो ।’ इन्द्रचोक हंस तामा पित्तल पसलका सञ्चालक दीपक बानियाँले पनि व्यावसायिक संघसंगठनले भनेपछि पसल खोलेको जानकारी दिए । ‘घरमा थुनेर मात्र समस्याको समाधान हुँंदैन । लकडाउनले मझौला व्यवसायीलाई धेरै असर पारेको छ,’ उनले भने ।

सुनचाँदी व्यवसायीसमेत लकडाउनको मारमा छन् । उनीहरूको पनि महिनौंदेखि व्यवसाय ठप्प छ । ‘मानिस नै नभएपछि व्यापार कसरी गर्ने ?’ विशालबजारस्थित आनन्द ज्वेलर्सका सञ्चालक कमलेश रतेरियाले भने, ‘ग्राहकले अनुरोध गरेपछि अवस्था हेरेर आज पहिलो पटक पसल खोलेका हौं ।’

प्रतिकृया दिनुहोस्