RaraNews

प्रकाशित : २०७७/२/२५ गते
१४९६ पटक

✍️रेम बहादुर विक

आदरणीय सम्पुर्ण ‘उच्च’मानव ज्युहरु,
कोरोना सिर्जित लकडाउनका कारण तपाईको व्यक्तिगत र सार्वजनिक जीवनमा असर परेका कारण धेरै पीडा झेल्नुपरे पनि तपाईहरु सन्चै हुनु हुन्छ होला भन्ने पुर्ण आशा छ । त्यसो त त्रासमय वातावरणमा पनि कोरोना रोकथाम र नियन्त्रमा हामी सवै एकजुट भएर सरकार र विश्व स्वास्थ्य संगठनकौ निर्देशन पालना गर्दै आएका छौं । र, हामी कोरानालाई जित्दै पनि छौ ।

तर मलाई यतिखेर कोरोना भन्दा पनि हिन्दु परम्परा र उच्चजातिवादी डरलाग्दो भाइरसका बारेमा तपाईहरुसँग केही कुरा साटासाट गर्न मन लागेको छ । कोरोना अस्थायी भाइरस हो र यसलाई समयक्रमसँगै हामी जित्ने नै छौं तर युगौदेखि नेपाली समाजले जित्न नसकेको र जित्न नचाहेको उच्चजातिय भाइरसका कारण भर्खरै मात्र रुकुम पश्चिम चौरजहारीमा दलित जाति भएका कारण गाउँलेहरुको कुटाईबाट नवराज वि.क.सहित अरु साथीहरुको मुत्यु भएको छ । यता रुपन्देहीको देवदहमा दलित बालिकामाथि भएको बलात्कार र हत्या भएको छ । कोरोनाको त्रास भन्दा यो मान्छेले दिने पीडाले झनै पीडित बनाएको छ ।

तर कोरोनाविरुद्ध जसरी जात, वर्ग, लिंग नभनी हामी लड्दैछौं, यो जातको भाइरसविरुद्ध हामीले सबैको आवाज सुनेनौं । आज, नेपालभर यस घटनालाई लिएर दलित समुदायलै आन्दोलन गरेका छन । तर यो आन्दोलनमा आफूलाई सामाजिक न्याय, अधिकार, समाजवाद अािद नारा लगाउने मित्रहरुको पनि चासौ र ध्याय दिनुभएको छैन ।

त्यसो त दलितमाथि हिंसा हुँदा दलित मात्रै पीडित हुनुपर्छ भन्ने मानसिकता कायमै छ । त्यसैले पनि दलितको मुद्दा दलितको मात्रै बन्दै आएको छ । यो मुद्दा हामी सबेैले खोजेको समृद्धिको बाधकका रुपमा बन्न सकेको छैन । अहिले पनि हत्या हिंसाका घटना हामी सबैले हेरिरहेका छौं तर हामी तर हामी वोल्न सकेका छैनौ । बोल्न चाहन्नौं । या यो मुद्दामा दलितले मात्रै बोल्नु पर्छ भन्ने ठान्छौं ।
हामीले विकास खोज्छौं, हामीले सामाजिक न्याय खोज्छौं, हामीले समृद्ध नेपाल खोज्छौं ।

तर मित्रहरु, समाजको एउटा तप्कालाई मर्नु र बाँच्नुको अवस्थामा छोडेर हामीले कस्तो समाज निर्माण गर्न सकौंला ? हिंसा त हिंसा हो, अहिले दलितमाथि सिर्जना हुने हिंसाको मानसिकताले समाजका अन्य क्षेत्रमा पनि हिंसाको मानसिकता रोप्दै आएको हामी किन बिर्सिन्छौं ।

बिडम्बना, बिभिन्न रुपमा जातीय छुवाछूतको भाइरस र भेदभावको अन्त्यका लागि वनेका ऐन, कानुन, संवैधानीक अधिकार र संयूक्त राष्टसंघले जारी गरेका मानवअधिकारका सवै नीति निर्देशननहरु पनि हामी सवैले पालना गरेका छैनौ । पालना गरेको भए यो जातीय छुवाछूत भेदभाव र हिंसात्मक गतिविधि नेपालमा फैलिन र फस्टाउन पाउने थिएन । समयमै नियन्त्रण हुने थियो जातिय भेदभाव र छुवाछूत ।

हामी मानव जाति हौ, भने यो मुद्दा नेपालमा संस्थागत र भयाभवको रुपमा धेरै ठूलो चुनौती भएको छ र हामी सबैले यो भयानक चुनौतिका कार्यहरूको निन्दा गर्न, संघर्ष गर्न र जातिभैदकौ अन्त्य र न्यायको पक्षमा भूमिका खेल्न सक्नु पर्ने होइन र ?

म र हामी दलित समुदाय पनि तपाईंहरूलै जस्तै उच्च जीवन जिउन चाहान्छौ । हामीलाई पनि जातको डर भय नराखि मायाप्रेम गर्न मन लाग्छ । मन परेको मान्छेसँग जीवन बिताउन मन लाग्छ । मन परेको ठाउँमा गच्छे अनुसार खान मन लाग्छ । सबैका मालिक भगवानको मन्दिर गएर निर्धक्क भगवानको आराधना गर्न मन लाग्छ । हामीहरुको मन छ, कुनै केटा या केटी मन पर्दा सबैभन्दा पहिला आफ्नो जात सम्झिन नपर्ने अवस्था मन पर्छ ।

तर महानुभावहरु, के हामीले त्यसो गर्न सकेका छौं त ? तपाईहरुले हामीबाट सम्मान खोस्नुभयो, मायाप्रेम खोस्नुभयो, हुँदाहुँदा भगवान समेत तपाईले नीजिकरण गर्नुभयो । मेरो समुदायका सवैले मानव हुनको लागि संघर्ष गर्दै बाँचेका छन । तर उच्चताको मनोविज्ञानमा बाँच्नुभएको तपाई भन्दा फरक वा तल्लो जाति भएका कारण मेरो समुदायका मान्छेलाई त्यही जातको छुवाछूत र विभेदको नाममा आफनो धर्म र कर्म मान्दै अपमान गर्दै आएको भएको छ ।

तपाईहरुलाई भन्न मन लाग्छ, म र हामीहरु मरेको मात्रै छैनौं, तर प्रति सेकेन्ड जातीय विभेदले हामीलाई मरेतुल्य नै बनाएको हुन्छ । जुन कुरा तपाईहरु महसुुुस गर्न र भन्न सक्नुहुन्न । किन की त्यो घाउचोट तपाईको वंशलाई नै लागेकौ छैन । नवराज विक जस्तै घेरै दलितकोे तपाईको जात वा समुदायका मान्छेले हत्या गरेका छन । जनावरलाई भन्दा पनि तल्लो व्यवहारको कार्य तपाईकौ पुस्ता र समुदायले गरेको छ र गर्दै पनि छ ।

कहिलेकाहिं लाग्छ, यस्ता दलित समुदायमाथि गरिने हत्याहिसाले तपाइहरु जस्ता मानवहरुको मन पनि मानवको रुपमा दुख्नु पर्ने हो । तर खै, तपाईहरुलाई यस्ता घटनाहरुले पिरोल्दैन, तपाईको मन दुख्दैन र तपाइकौ ध्यान तान्दैन ।

जिवनभर दलित समुदायले असमानता, अन्याय, अत्याचार, हिसा र जातिय छुवाछूत विरुद्ध संघर्ष र आन्दोलन गरे, र गर्दै आएका छन् । यदि अझै पनि जातलाई संस्थागत बनाउने प्रयास जारी नै रहेमा र जातपातलाई मलजल गर्नै काम हुँदै आयो भने हामी असमानता र अन्यायको पक्षमा मात्र होइन तपाईहरुको ‘उच्चमानवता विरुद्ध लड्न बाध्य हुने अवस्थामा पुग्नेछौ । यसको दोषी तपाई सवै हुनुपर्नेछ ।

तपाइहरुले दलित समुदायको पक्षमा समर्थन गर्नु भयो भनै, त्यौ दलित समुदायकौ लागि ठुलो आवाज हुने छ र परिवर्तनक र न्यायका लागि ठुलौ महत्व राख्ने छ । दलित समुदायको लागि गर्व र खुसिको कुरा हुने छ । तपाइले दलितको पक्षमा र जातिवाद विरुद्ध लेख्न, कुरा गर्न, भौतिक रुपमा उपस्थित र व्यवहारीकरुपमा कार्यन्वयन गर्नु भयो भने मात्रै बल्ल तपाईको मानवता देखिने छ । यो संरचनागत प्रणालीले हामी दलित एक राष्ट्रको र एकै नागरिक भएको मलाई अनुभूति छैन ।

तपाईंहरुलाई तपाईका पुर्खा र धर्मशास्त्रले दलितलाई सम्मान गरे पाप र अपमान गरे धर्म भन्ने सिकाउनु भयो । तर हाम्रो पुस्ताले यसको बिरोध गर्दै आयौं । यो संघर्षमा कतिपय गैर दलितहरुले पनि निर्णायकरुपमा साथ नदिएका होइनन्, तर समाजमा यो भाइरस भने अहिलेसम्म पनि उही अवस्थामा रहेको छ ।

तपाइहरुं शिक्षीत, आधुनिक र लोकतान्त्रीक समाजमा बाँच्न खोज्नुहुन्छ । तर यो समाजमा एकथरि दलित समुदायमा भने क्रोध र पीडा चर्किएको पनि तपाईले देख्नुहुन्छ । तपाईहरूलाई भारी महसुस भएको हुन सक्छ । किनकि तपाईको अगाडी हत्याहिंसा भएको छ । म र तपाईंको समाज र देश एउटै हो । कृपया यो वुझ्नुस कि दलितहरू यी र अन्य अन्याय, अपराध, र अवमूल्यनको बारेमा मौन हुनेछैन । हामी संरचनागत जातिय भेदभावलाई भत्काउन चाहान्छौ, र हामी निरन्तर जातिय भेदभाव अन्त्यको लागि लडिरहेका छौ, र देशलाई जातीय समानतामा पु¥याउनै नै छौ । जतिखेर तपाईहरुलाई ठुलो पश्चाताप हुने छ ।

एउटा बुझ्दैपर्ने कुरा के हो भने दलितको समावेशीकरण, स्वाभिमान, न्यायको लडाईसंगै नेपालमा जातिय भेदभावविरुद्धको भावना जसरी चर्किंदैछ, यसले इतिहासदेखि हुँदै आएको गल्तीको व्यवस्थापन गर्नैपर्ने चुनौतीपूर्ण समय तपाईसामु पनि आउने छ । न्यायपूर्ण बाटोमा तपाईहरुले साथ दिनुभएपनि तपाईहरुबाट नै सिर्जना भएको यो समस्या कसरी समाधान गर्नै भन्नै वारैमा सबैभन्दा ठूलो तनाव तपाईहरुलाई नै हुने छ ।

अन्तमा, हाम्रो अपेक्षा बढी केही छैन । तपाईहरुको उच्च जातिवादी मानसिकता मात्रै परिवर्तन गरिदिनुस् भन्ने हाम्रो अपेक्षा हो । मानिसहरु समान हुन भन्ने अनुभूति, आफूले जसरी श्रोत र साधनमा स्वामित्व गरेका छौं, त्यही श्रोत र साधनमा सबै समुदायको पनि समान पहुँच होस् भन्ने अनुभूति । अरुको पनि सम्मान र स्वाभिमान हुन्छ भन्ने अनुभूति । हो, यो अनुभूति भयो भने समाजमा हुने यस्ता घटनाहरुमा तपाईलाई पनि पीडाबोध अवश्य नै हुनेछ ।

आउनुस्, अब हामी सवै सामुहिक रुपले यस्ता जातिवादी संरचनालाई भत्काउन लागौ । नवराज विकलाई न्याय दिन लडौ, जाति विभेदको अन्त्यको लागि लडौ । अनि मात्र तपाईको उच्च मावनता देखिने छ । आउनुस्, सबै प्रकारका विभेद अन्त्यको लागि सँगै हिंडौं ।

(लेखकः जागरण मिडिया सेन्टरका अध्क्षय हुनुहुन्छ) इमेलः[email protected]

प्रतिकृया दिनुहोस्