RaraNews

प्रकाशित : २०७७/२/२३ गते
९५७ पटक

क्वारेन्टिनमा स्वयंसेवकको रुपमा खटिएका दलित युवाले पकाएको खाना नखाएपछि अर्घाखाँचीमा एकजनालाई अर्कै क्वारेन्टिनमा पठाइएको छ।

अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं ४ खन चुंदारटोलको समाजकल्याण प्रावि क्वारेन्टिनमा रहेका दिनेश घिमिरेलाई अर्को क्वारेन्टिनमा पठाइएको वडा सदस्य शसे सुनारले जानकारी दिए।

रोजगारीको लागि भारतको दिल्लीमा रहेका वडा नं. ४ शीतका ४० वर्षीय घिमिरेलाई गत मंगलबार गाउँ फर्किएपछि समाजकल्याण प्राविमा बनाइएको क्वारेन्टिनमा राखिएको थियो।

क्वारेन्टिइनमा रहेका अरू गैरदलितले कुनै छुवाछुत नगरेपनि घिमिरेले दलित युवकले पकाएको खाना खान्न भनेपछि त्यसदिन एक स्थानीयको घरबाट खाना ल्याएर खुवाइएको थियो।

वडा सदस्य सुनारले दलितले पकाएको खान्न भनेपछि त्यही क्वारेन्टिनमा राख्दा क्वारेन्टिनमा बस्ने र व्यवस्थापन गर्ने दुवै पक्षलाई समस्या हुनसक्ने भएपछि घिमिरेलाई खन लुटिपोखरीमा रहेको कालिकानेर राष्ट्रिय माविमा लगेर राखिएको जानकारी दिए।

गाउँमा भोजभतेर र पानी पधेरोमा छुवाछुत गर्ने र बार्ने प्रचलन हटिसकेको भएपनि अहिले एकजनाले खाना नखाने भनेपनि यसलाई धेरै विवादमा नल्याउन अर्को क्वारेन्टिनमा राखिएको बताए।

‘हामी दलित र गैरदलित परिवार मिलेर बसेका छौं, पधेरो बार्ने, छुवाछुत गर्ने प्रचलन हटिसकेको थियो, उहाँलाई के भयो खै?’ सुनारले भने ।

मालारानी गाउंपालिका वडा नं. ४ का ८ वटा स्कुलमा बनाइएका क्वारेन्टाईनमा २ सय भन्दा बढी व्यक्तिहरु बस्दै आएका छन्। ती मध्ये केहीले क्वारेन्टिनमा आफै पकाएर खाने गरेको उनले बताए।

‘कतिपय क्वारेन्टाईनमा आफै पकाएर पनि खाने गर्नुभएको छ, धेरैमा त दलित र गैरदलित मिलेर सँगै खाने गर्नुभएको छ’, उनले भने।

अर्का वडा सदस्य अशोक भुसालले वडा कार्यालयले क्वारेन्टिन तयार गर्दा नै दलित र गैरदलितलाई एउटै बनाएकोले एकजनाको विषयलाई लिएर समुदायविच द्वन्द्ध बढाउन नहुने बताए।

‘सबै क्वारेन्टिनमा दलित गैरदलित सबै मिलेर बस्नुभएको छ, हामीले राख्दा पनि त्यसरी छुट्टयाएर राख्ने गरेका छैनौं, उहाँ अलि सोझो हुनुहुन्थ्यो के सोचेर छोएको खान्न भन्नुभयो? त्यसैलाई लिएर यो घटनालाई ठूलो बनाउन हुँदैन’, उनले भने।

उनले वडा भित्र बनाइएका सबै क्वारेन्टाइनमा जातीय रुपमा नहेरि त्यहाँ बस्नेहरुलाई पायक पर्ने, सहज हुने र खाली भएको आधारमा राख्ने गरिएको जानकारी दिए।

उनले दलित बस्ती नजिक रहेका क्वारेन्टिनहरुमा दलित युवालाई नै स्वयंसेवक खटाइएको जानकारी दिए।

प्रतिकृया दिनुहोस्