RaraNews

प्रकाशित : २०७७/२/२२ गते
१३३१ पटक

जिल्ला अदालत रुकुमले चौरजहारी हत्याकाण्डमा अनुसन्धानका लागि पक्राउ परेका चौरजहारी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित १८ जनालाई १० दिन थुनामा राख्न अनुमति प्रदान गरेको छ। 

हत्याकाण्डमा थप अनुसन्धानमा लागि २५ दिने समयमा माग गर्दै सरकारी वकिल कार्यालय रुकुमले जिल्ला अदालत पेश गरेको थियो। अदालतले उनीहरुलाई जाजरकोटका ६ युवाको हत्या गरेको अभियोगमा थप अनुसन्धान गर्नका लागि थुनामा राख्न अनुमति दिएको हो। पश्चिम रुकुम चौरजहारी हत्याकाण्डमा संलग्न भएको आरोपमा उनीहरु पक्राउ परेका हुन्।

रुकुम पश्चिम चौरजहारीबाट प्रेमिकालाई भगाउन आएका जाजरकोटका युवाहरुलाई जेठ १० गते घेरा हालेर हत्या गरी भेरी नदीमा बगाएको आरोप लागेको छ। जाजरकोटका नवराज विक र मल्ल थरकी युवतीबीचमा प्रेम सम्बन्ध रहेको थियो। परिवारको सहमति नभएपछि विक १८ जना साथीसहित युवती लिन पुगेका थिए।

उनीहरुलाई चौरजहारीबासीले आक्रमण गरेका थिए। यसरी पुगेका मध्ये ६ जना युवाको ज्यान गएको थियो। दलित युवाले माथिल्लो जातकी युवती लिन आएको भन्दै गाउँलेहरुले जातीय विभेदका आधारमा हिंसा गरेको भन्दै प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको थियो। अनुसन्धान नसकिएकाले म्याद थप पाएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्