RaraNews

प्रकाशित : २०७७/२/२२ गते
८४४ पटक

अन्तरजातीय प्रेम विवहाको विवादको क्रममा ६ जना युवाको ज्यान जाने गरी भएको रुकुम घटनाको सम्बन्धमा सत्तारुढ दल नेकपाले दोषीमाथि कारवाही गर्न माग गरेको छ । पार्टी महासचिव विष्णु पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडितलाई राहत दिन सरकारसँग माग गरेका हुन् ।

छुवाछुतविरुद्धको राष्ट्रिय दिवस पारेर नेकपाका महासचिव पौडेलले जारी गरेको विज्ञप्तिमा रुकुम पश्चिममा घटित घटनाले हामी सबैलाई गम्भीर र चिन्तित तुल्याएको उल्लेख छ । हाम्रो पार्टी उक्त बीभत्स, त्रासदीपूर्ण र आपराधिक कुकृत्यको घोर निन्दा र भर्त्सना गर्दछ । मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दछ र घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दछ । शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ । 

उक्त घटनाको निष्पक्ष छानबिन गर्न, अपराधीहरूलाई कडाभन्दा कडा कारबाही गर्न र पीडितहरूलाई क्षतिपूर्ति दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ,’ महासचिव पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ  ‘संवैधानिक र कानुनी हिसाबले यति अग्रगामी परिवर्तन र उपलब्धिहरू हुँदाहुँदै पनि व्यवहारमा अझै पनि दलित समुदायमाथि विभेद र हिंसाका घटना देखापर्नु गम्भीर चिन्ताको विषय हो ।

यसले हामीलाई राजनीतिक रूपमा प्राप्त उपलब्धिहरूलाई हेरेर सन्तुष्ट नहुन र सामाजिक–सांस्कृतिक रूपान्तरणका लागि गम्भीर, सार्थक र योजनाबद्ध प्रयास गर्न घचघच्याइरहेको छ ।’

प्रतिकृया दिनुहोस्