RaraNews

प्रकाशित : २०७७/२/२२ गते
३१८६ पटक

सिद्धार्थ नेपाली

नेपालमा दलितहरुको जनसंख्या झण्डै ७० लाख हराहारिमा रहेको विभिन्न संघसंस्थाले दाबी गर्दै आएका छन् । जसमध्ये धर्मका हिसाबले सबैभन्दा धेरै हिन्दु धर्म मानिरहेका छन। तर, धर्मका नाममा समाज भित्रको कुसंस्कार कुरिती, विकृति र अन्धविश्वास हाम्रा समाजमा जरो गाढेर बसेको छ । त्यसैको प्रतिफल दलित समुदाय जातीय विभेद र छुवाछूतबाट प्रताडित छ ।

रुकुम घटना जस्ता अन्य विभेदकारी घटनाका कारणले गर्दा सिङ्गो समुदाय न्याय हराएको भन्दै चिन्तामा छ । रुकुममा भएको घटना दलितको मात्र नभएर सबै मानव जातीको हो। दलित भएकै कारण वर्षौंदेखि अपमान, अपहेलना र अछुत मान्छे भनेर विभेदसँगै यो समुदाय शोषणमा पनि पर्दै आएको छ । शिक्षाबाट बञ्चित गराइएको छ । थुप्रै व्यवस्था फेरिए, ऐन कानून बने तर पनि २१ औं शताब्दीको यो समयमा पनि दलितमाथि विभेदका घटनाहरु बारम्बार भइरहनु ठूलो विडम्बना हो ।

विश्वव्यापी महामारिका रुपमा फैलिएको कोरोना भाइरस संसारभरी तहल्का मच्चाइ रहँदा दलित समुदायले जातीय विभेदको पनि सामना गर्नु परिरहेको छ । पुर्व मेचीदेखि पश्चिम् महाकालीसम्म जातीय छुवाछूतका घटनाहरु दिन दिनै बढी रहेको अवस्था छ। नेपाल सरकार र शासक वर्गले नेपालको संविधानले व्यवस्था गरेअनुसार कानून कार्यान्वयनमा खासै पहल गरिरहेका छैनन् । दलितमाथि भएको हत्या, हिंसा,विभेद र बलात्कारका घटनालाई गम्भीरतापूर्वक लिइरहेको देखिँदैन । यो उदासिनतामा मात्र नभएर दलित समुदायप्रति गरिएको अपमान पनि हो ।

तसर्थ यस्ता पिडा, कष्ट र असमर्थताको अवस्थामा सम्पुर्ण दलित समुदायका अग्रज नेता, अगुवा र शिक्षक वर्ग लगायत संचारकर्मी साथीहरुले एकजुट भएर आवाज बिहीनहरुको आवाजलाई अगाडि ल्याएर फेरि एक पटक लड्नु पर्ने अवस्था आएको छ । न्यायको पक्षमा सबै एकजुट भएर लड्नु आजको आवश्यकता देखिन्छ । हामी जुन समाजमा जन्मीयौं त्यो समाजको उद्दार गर्ने हामी सबैको पहिलो कर्तव्य हो। सामाजिक दुरि र बहिष्करणमा पर्नुको पिडा कति हुदो रहेछ भन्ने कुरा अहिलेको एउटा भाइरसले प्रष्ट देखाएको छ र सबैलाई अछुत बनाईदिएको छ ।

तर वर्षौंदेखि बहिष्करण र सामाजिक रुपमा अलग रहेर बस्नुपर्दाको पिडा केबल दलित समुदायलाई मात्र थाहा छ । कोरोनाले अछुत बनाएकाहरु त केही महिना वा वर्षका लागि सामाजिक दूरी कायम गरेर बस्छन् । दलितहरुले त यस्तो विभेद वषौंदेखि भोग्दै आए । कानूनमा जेसुकै लेखिए पनि व्यवहारमा अझै विभेदमा परिरहेका छन् । त्यसैले दलितमाथि भएको विभेद र अन्यायका विरुद्ध फेरि एकजुट हुनु पर्ने बेला आएको छ ।

(लेखक प्रगतिशील नेपाली समाज भारतका केन्द्रिय सदस्य हुनुहुन्छ)

प्रतिकृया दिनुहोस्