RaraNews

प्रकाशित : २०७७/२/२१ गते
८३३ पटक

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछूतसम्बन्धी जघन्य घटनाका अपराधीलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । छुवाछूतविरुद्धको राष्ट्रिय दिवसका अवसरमा बुधबार सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले मानव हितविरुद्धका यस्ता गतिविधिलाई सरकारले नसहने उल्लेख गरे ।

‘अमानवीय हिंसाका घटनाहरूको छानबिन गरी दोषीलाई कारबाही गर्न राज्य किञ्चित पछि पर्ने छैन । मानव सभ्यताको कलंक र सभ्य, लोकतान्त्रिक तथा सम्मानजनक जीवन जिउन पाउने मानव अधिकारको पालनामा देखिएका बाधालाई सरकारले हटाउनेछ’ प्रधानमन्त्री ओलीको सन्देशमा छ ।

प्रधानमन्त्रीले सामाजिक बहिष्करण, छुवाछूत र यसका आधारमा हुने हिंसामा सरकारले शून्य सहनशीलताको नीति अवलम्बन गरेको उल्लेख गरेका छन् । यो समस्या जातीय छुवाछूत विभेद वा छुवाछूतको पीडामा परेका निश्चित समुदायको मात्र नभई हरेक व्यक्ति, परिवार, समाज र राष्ट्रको समस्या भएको ओलीको धारणा छ । ‘जातीय छुवाछूतका पीडितको मानव अधिकार संरक्षण गर्न र हिंसा अन्त्य गर्न म सम्पूर्ण व्यक्ति, परिवार, समाज र सम्बन्धित सबै निकायलाई संवेदनशील हुन आग्रह गर्दछु’ प्रधानमन्त्रीको सन्देशमा भनिएको छ ।

संविधान र कानुनद्वारा स्पष्ट व्यवस्था गरिएको भए तापनि सरकारको दृढ प्रतिबद्धता र लगातारको प्रयासका बावजुद समाजको पछौटेपन र कतिपय पक्षहरूमा रहेको अज्ञानता र भ्रमले अझै पनि समाजमा छुवाछूतजस्ता जघन्य अपराध हुने गरेको ओलीले उल्लेख गरेका छन् ।

प्रतिकृया दिनुहोस्