RaraNews

प्रकाशित : २०७७/२/२० गते
७३१ पटक

ऋषि ‘आजाद’
अहिले विशेषतः अभिजातहरु ‘दलित’ शब्दमा आत्म—सम्मान नभएको हुनाले यस शब्दलाई विस्थापित गरेर अरु शब्द राख्नुपर्ने विषयमा सामाजिक सञ्जाल तथा पत्रपत्रिकाका लेखहरुमा निरन्तर विचारहरु प्रक्षेपण गरिरहेका छन् । यसलाई उनीहरुले बडो जोडतोडका साथ भाइरल बनाइरहेका छन् । किन अभिजातहरु ‘दलित’ शब्दको विरुद्धमा देखिन्छन् ? किन दलित अगुवाहरु ‘दलित’ शब्दको पक्षमा देखिन्छन् ? यो गम्भीर विषय हो । किन अभिजातहरुले ‘दलित’शब्दमा सौन्दर्य देख्न सकेका छैनन् ? दलित शब्दमा सौन्दर्य देख्न नसक्नुको मुख्य कारण के होला ? यही विषयमा आज छलफल छोटो चर्चा चलाउँछु ।

हुन त केही सहरिया अभिजातहरुसँग सान्निध्यमा रहेका दलित परिवारका एकाध साथीहरु पनि लहलहैमा दलित शब्द फेर्नुपर्ने धारणा राख्छन् । वास्तवमा उनीहरुले किन त्यसो भनिरहेका छन् भन्नेतिर भन्दा पनि आफू त्यो शब्दबाट अपमानित भइरहेको महशुस गरेका छन््् । उनीहरुमा पनि अभिजात्य संस्कारको संक्रमण भएको कारण दलित शब्दमा सौन्दर्य देख्दैनन् । उनीहरु आर्थिक रुपमा सम्पन्न भएको हुनाले उनीहरुलाई मुक्ति आन्दोलन चाहिएको छैन । उनीहरुलाई पनि अभिजात वर्गको रोग सल्किएको छ । तर पनि लोकतन्त्र हो । उनीहरुलाई यो बोल्ने स्वतन्त्रता छ । यो स्वतन्त्रता प्राप्तिको लागि हामी सबैले लडेकै हो ।

सौन्दर्य देख्नुमा मनोविज्ञानले काम गरेको हुन्छ । वास्तवमा हरेक शब्दमा विम्ब आएको हुन्छ । पानी शब्दमा तरल पदार्थको विम्ब आउँछ । रानी शब्दमा पनि राजाका साथमा ठाँठिएर बसेकी सुन्दरीको विम्ब आउँछ । विद्यालय शब्दमा विद्यार्थी,खेल मैदान, शिक्षक, कक्षकोठा भएको विम्ब आउँछ । सहर शब्दमा घरैघर भएको भएको विम्ब आउँछ । नहर शब्दमा पानी बगिरहेको विम्ब आउँछ । जङ्गल शब्दमा रुखैरुख भएको विम्ब आउँछ ।

त्यसरी नै ‘दलित’ शब्दमा भाँडा बनाइरहेका, सुनको काम गरिरहेका, कपडा सिलाई रहेका, छालाका जुत्ता सिलाइरहेका, हलो जोतिरहेका आदरणीय श्रमिकको दृश्य विम्बहरु आउँछन् । उक्त जातिलाई अभिजात्य समाजले हेला गरेको हुनाले दलित शब्दमा सौन्दर्य देख्न सकेको छैन । खास कारण यही मनोविज्ञान हो । अभिजातहरुले उक्त कामलाई इज्जत नभएको काम ठान्छन् । त्यो काम गर्नेलाई इज्जत नभएको समुदाय ठान्छन् । श्रमलाई हेला गर्ने श्रमिकलाई अपमान गर्ने शोषकीय उत्पीडक मनोविज्ञानले गर्दा दलित शब्दमा सौन्दर्य देखिदैन । उनीहरुको लागि यो कुरुप शब्द जस्तो लाग्छ । यसलाई सौन्दर्य भर्नको लागि उत्पीडनकारी अभिजात्य मनोविज्ञानमा नै परिवर्तन आउनुुपर्छ । मस्तिष्कमा शल्यक्रिया गर्नुपर्छ । समानताको भावना जाग्नु पर्छ । श्रमप्रति माया बस्नु पर्छ । अनि मात्र सौन्दर्य भेटिन्छ । दलित शब्द प्यारो लाग्छ ।

जब जब श्रमलाई सम्मान गर्ने संस्कृति निर्माण हुन्छ, तब दलित शब्दमा पनि सौन्दर्य भरिन्छ । दलित शब्द प्यारो हुन्छ । दलित शब्दलाई विस्थापित गरेर उक्त स्थानमा ‘शिल्पी’ शब्द राखियो भने पनि अभिजातको दिमागमा खेल्ने विम्ब त आखिर उही नै हो । त्यो शब्द राखेर पनि अभियानमा फरक आउँदैन । दलित शब्दलाई विस्थापित गरेर ‘हरिजन’ राखियो भने पनि उनीहरुको दिमागमा खेल्ने विम्ब उही हो । त्यसैले श्रमलाई हेला गर्ने र श्रमिकलाई निच ठान्ने मनोविज्ञानलाई सच्याउन आवश्यक छ । दिमागमै शल्यक्रियाको खाँचो छ । यसबाट मात्र सौन्दर्य आउँछ ।

अभिजातहरु दलितहरुको संगठित आवाज विरुद्ध उनीहरुको सशक्त अभियानलाई निस्तेज पारेर उही पुरानै अधीनताको संरचनामा राख्न चाहन्छन्् । त्यसैले उनीहरुले दलित शब्दलाई विस्थापित गर्न चाहन्छन् । उनीहरुले अभियानलाई दिगभ्रम पार्ने कमजोर पार्ने मनोविज्ञानका साथ दलित शब्दमा परिवर्तन गर्न चाहन्छन् । यसबाट जधौ भन्दै निहरिएर हिंड्नु पर्ने पुरानो प्रचलन र त्यसबाट प्राप्त सैतानी शान जोगाउन सजिलो होस् भन्न चाहन्छन् । त्यसैले पनि यो शब्द हटाउन चाहन्छन् । दलित अन्तर्राष्ट्रिय स्तरमा स्थापित शब्द तत्काललाई फेर्नु हुँदैन ।

दलित शब्द दलित जागरण अभियानको शान हो । यो सिम्बोल र झण्डा हो । यो झण्डा अटल बनेर सदा फहराई रहोस्, जुन बेलासम्म विभेद रहिरहन्छ, त्यो बेलासम्म फहराई रहनु पर्छ । यसलाई हटाउन र बदल्न हुँदैन । दलित शब्द साध्य हैन । यो साध्य प्राप्तिको लागि आवश्यक र सशक्त साधन हो । साधन सधै एउटै र एकै नास नरहन सक्छ । संसारका कैयौ अभियानमा साध्य प्राप्तिका साधनहरु फेरिएका छन् । मुलतः हेर्ने र समाज फेर्ने दृष्टिकोणमा परिवर्तन आउनु पर्छ । हामी रुढ हुनु पर्छ भनेको हैन । तर तत्काल दलित शब्दलाई विस्थापित गरेर विकल्पमा आउने शब्दमा अभिजातहरुले सौन्दर्य पाउँदैनन् । ‘शिल्पी‘ भने पनि ‘हरिजन’ भने पनि उनीहरुमा उत्पीडनकारी मनोविज्ञानमा परिवर्तन नआएसम्म ती शब्दमा सौन्दर्य भरिदैन । त्यसैले उक्त शब्द फेरेर साध्य प्राप्ति हुँदैन । बरु स्थापित शब्दलाई विस्थापित गरेर दलित अभियानलाई दिगभ्रम पार्न र कमजोर बनाउन खोजिएको छ । यो अभियानबाट विभेद विरुद्धको समाज बनाउने साध्य प्राप्त भएपछि यो साधन स्वतः हट्छ ।

अहिले पनि पुरोहितहरु वेदको पुस्तक कोखिलामा राखेर मतवालीले सुन्छन् कि दलितले छुन्छन् कि भन्दै ओंठ लेब््रयाउँदै हिड्छन् । उनीहरु गाउँबाट सहरमा पसेर पनि ब्रम्ह गयो कर्मसँगै भनेजस्तै विभेद गर्न छोडेका छैनन् । विभेद गरेर संस्कृति जोगिन्छ भन्ने मनस्थिति बदलिएको छैन । समाजमा परिवर्तन भएको छैन । आन्दोलन र क्रान्तिको समयमा अलिकता प्रगति भएजस्तो देखिए पनि शान्त समयमा फेरि फर्केर उही हालतमा आउँछ । परिवर्तन संस्थागत हुन्छ । नयाँ नयाँ कानुन पनि बन्छन् तर व्यवहारमा परिवर्तन आउँदैन । अहिले पनि दलित आन्दोलनलाई शून्यमा पु¥याएर शिताङ्ग बनाउन चाहन्छन् । तर अबको दलित आन्दोलन आगो हो । आगोसँग सिङ्गौरी नखेल्दा हुन्छ ।

अभिजात वर्गले पौराणिक कालदेखि नै वर्ण व्यवस्था गरेर दलित समुदायमा माथि विभेदको कर्द चलाउदै आएको हो । समय समयमा शासकहरुले पनि उक्त वर्ण व्यवस्थालाई वैधानिकता दिएका थिए । अहिले पनि केही पुरोहितहरुले हाम्रा धार्मिक ग्रन्थहरुमा विभेद छैन भन्दै निर्धक्कसँग औला ठड्याएर आँखा नचाउँदै कुरा गर्छन् । आफूहरु आफ्नो धर्म समतामूलक भएको दाबी गर्छन् । तर व्यवहारमा भएको विभेदलाई स्वीकार गर्दैनन् । उनीहरुमा परिवर्तनका आभास देखिदैन । बरु बडो कलात्मक तरिकाले विभेदलाई कायम राख्न माथापच्ची गरिरहेका छन् । यसले गर्दा अपमान खप्न नसकेर सिङ्गो दलित समुदाय कि त नास्तिक बनेको छ कि त बौद्धमार्ग अपनाउने सुरसारमा छ कि त क्रिश्चिनीकरणको दिशातिर लहसिएको छ । तर विडम्बना ! त्यही क्रिश्चिनीकरणको माहोलमा नेतृत्व गर्न भने अभिजात वर्ग नै पुगेको देखिन्छ । त्यसले अभिजात वर्ग कि त दबाएर अधीनमा राख्छ, हैन भने जसरी पनि नेतृत्व गर्न पुुग्छ । हामीले विगत हजारौ वर्षदेखि आर्य सँस्कृतिको कित्ताबाट बाहिर राखेर उपेक्षा निन्दा र विभेद गरिरहेको अवस्था हो ।

दलितलाई नामकरण, अन्न प्राशन,उपनयन, विवाह, श्राद्ध, काजक्रिया आदि कार्य सम्पादन ब्राह्मणहरुबाट भएन । दलित समुदायबाटै हाम्रा धार्मिक साँस्कृतिक ग्रन्थ अनुसारका पठनपाठनमा सरिक बनाएर ब्राह्मण तयार गर्न दिइएन । मठ मन्दिर बनाउन धार्मिक ग्रन्थहरु घरमै राखेर पढ्न दिइएन । दलितहरुलाई काम चलाउ संस्कार विधि दिइयो । आचार संहिताहरुमा कडाइ गरिएन बरु छुत अछुत भनेरै पन्पछे गरियो । आम रुपमा जनजातिहरुलाई मतवाली भन्दै अनेक कामहरुमा छुट दिइयो । यसबाट एउटा ठूलो समुदाय आर्य संस्कृतिको कित्ताबाट बाहिर पा¥यो । यसले समाजमा उत्पीडक र उत्पीडित बनायो । साँस्कृतिक मूल प्रवाहीकरण हुन सकेन ।

ब्राह्मणहरु तागाधारी भए । उनीहरुले आफू र आफ्नो वर्णलाई सदाचारी बनाउन प्रयास गरे । उनीहरुले रक्सी खाने चिज हैन, खुवाउने चिज हो भन्दै सिङ्गो समुदायको मस्तिष्कलाई नै डेमेज बनाएर दास बनाउने क्रियाकलापतिर लागे । हुन त अहिले त्यो अवस्था छैन । ब्राह्मणहरु पनि सोमरसका लोभी हुँदैछन् । उनीहरु पनि होटल रेस्टुरेन्टहरुमा बाक्लै देखिन थालेका छन् । उनीहरुले सदाचार कायम गरेका छैनन् तर विगतले बनाएको सामाजिक संरचनालाई यहाँ ख्याल गर्न खोजिएको मात्र हो । अहिले पनि विगतकै सामाजिक संरचनाले काम गरिरहेको छ ।

यसरी राज्य र अभिजात वर्गले सुनुयोजित रुपमा पछाडि पार्दा अभिजातहरु धनी हुँदै जाने र उनीहरु विपन्न हुँदै जाने उपक्रम चल्दै गयो । अहिले दलित समुदाय २० प्रतिशत धनी छ भने अभिजातहरु ९० प्रतिशत धनी छन् । यस्तो गहिरो र फराकिलो खाल्डोलाई समाप्त पारेर समान तहमा ल्याउनको लागि दलित समुदायलाई राजनीतिक क्षेत्रमा समावेशीकरण, प्रशासनिक क्षेत्रमा आरक्षण, आर्थिक क्षेत्रमा सशक्तिकरण, साँस्कृतिक क्षेत्रमा सुसंस्कृत, सामाजिक क्षेत्रमा प्रतिष्ठित बनाउन आवश्यक छ । यसैको लागि नयाँ संविधान बनेको हो । नयाँ संविधानमा दलितको पहुँच छ तर दलित प्रतिनिधिहरुलाई अभिजात वर्गबाट कुनै न कुनै रुपमा अठ्याइएको छ ।

तर अभिजातहरुले दलित समुदायलाई समानताको तहमा ल्याउनको लागि अपनाइएका रणनीतिहरुमध्ये समावेशीकरण र आरक्षणमाथि नै विरोधको हतौडा चलाई रहेका छन् । उनीहरुले यी दुबै कुरा हटाउनको लागि अभिव्यक्ति खर्च गरिरहेका छन् । तर पनि उनीहरुको नैतिक तागत छैन । उनीहरुले हाल अशक्त अवस्थामा रहेको दलित समुदायलाई प्रतिस्पर्धामा आउन चुनौती दिइरहेका छन् । त्यसो त अहिले दलित समुदायका अगाडि प्रतिस्पर्धामा आउन सक्ने संख्या नभएको हैन । त्यो संख्या कम छ । तर आरक्षण र निःशुल्क शिक्षाको माध्यमबाट थुप्रो जनशक्ति उघ्रेर सतहमा आएको छ । अझै दश वर्षमा समान तहमा आउन सक्छन् । यसलाई सकारात्मक विभेदको माध्यमबाट पनि सशक्त बनाएर अघि ल्याउन सकिन्छ ।

अहिले पनि अभिजातहरुले तल र माथि शब्दको कर्द चलाउँछन् । अभिजातहरु जन्मजात माथि र दलित समुदाय जन्मजात तलका हुन् भन्ने मनोविज्ञान हुर्केको छ । यो भर्टिकल मनोविज्ञान हो । यस्तो मनोविज्ञानलाई लोकतान्त्रिक प्रणालीले आफै सच्याउँदै जान्छ । लोकतन्त्रले विभेद विरुद्ध लड्नको लागि स्वतन्त्रता दिन्छ । त्यसैले लोकतन्त्रलाई संस्थागत गर्नु र त्यही अनुसारको जनशैली अपनाउनु आवश्यक छ । अब तलमाथि शब्द बोल्न पनि पाइँदैन । समाजमा तलमाथि संस्कृति छ । राजनीतिक नेताहरुले ज्यादै तलमाथि शब्द प्रयोग गर्छन् । कर्मचारीहरुमा पनि यो समस्या छ । यसबाट ठूलो विभेद आएको छ । कार्यालयहरुमा कार्यालय सहयोगीहरुलाई तलमाथिको विभेदको चापमा पारेर अपमान गरिरहेका छन् । यो अभियानमा हामीहरुले तलमाथि हैन समानतामा आधारित संस्कृति निर्माण गर्न चाहन्छौं । राजनीतिमा भन्नै परे पनि स्थानीय, प्रादेशिक र केन्द्रीय शब्द प्रयोग गर्न सकिन्छ । तलका कार्यकर्ता माथिका नेता भन्न हुँदैन ।

अहिले रुकुम घटनाले मुलुकका हरेक असल नागरिकहरुको आँसु सुकेको छैन । मुलुकका होनाहार सत्र अठार वर्षका आधा दर्जन युवाहरुलाई विभेदकै कारण ढुङ्गामूढाले हत्या गरेर भेरी नदीमा सदाका लागि फ्याकिएको छ । यस्ता जघन्य प्रकृतिका घटनाहरु अरु पनि छन् । जे होस् यी सबै घटनाहरुलाई अभियानको एउटै डालोमा राखेर अपराधीहरुलाई सशक्त कारवाही हुनु पर्छ । विभेदको कारण ज्यान गुमाएका आदरणीय ६ जना (एक जना फेला पार्न बाँकी) सहिदहरुलाई सम्झदै हामी सबै दलित आन्दोलनलाई मानवतावादी आन्दोलनको रुपमा अघि लैजान सबै मानवतावादीहरु एकजुट हुनै पर्छ । ती ५ जना मृतकहरुलाई सहिदको रुपमा सम्मान गर्नुपर्छ । उनीहरु सामुदायिक सहिद हुन् । अनि यो अभियानलाई दिगभ्रम पार्न खोज्नेहरुसँग सतर्क हुनु पर्छ । यस काममा ब्राह्मणवाद जस्ता चर्का शब्द राख्न हुँदैन । तर उत्पीडत दलित हुँदा उत्पीडक को हो त भनेर किटान गर्नु पर्दा सम्बोधनको लागि ‘अभिजात’ शब्द राखिएको हो ।

रुकुममा दलित समुदायको ठूलो जनसंख्या छ । विगत जनयुद्धमा रुकुमका पाँचसय जति दलितहरुले क्रान्तिमा सहादत गरेका थिए । उनीहरुको विभेद विरुद्धको क्रान्तिको माध्यमबाट सभ्य समाज बनाउँला भन्ने चाहना राखेका थिए । तर अभिजात वर्गले उनीहरुका सुन्दर सपनाहरुलाई भेरी नदीमा धकेलेर चकनाचुर पारिदियो । उनीहरुका अधुरा सपनाहरुलाई अहिलेको पिंढीले पूरा गर्न सकेनौ भने समाज फेरि पुरानै अवस्थामा फर्किन सक्छ । अहिले युवा अवस्थामा क्रान्तिको बिगुल फुक्ने नेताहरु आज आखिर पुरोहित बनेर श्रीकृष्ण रहेछ एक भन्दै पुरानो उत्पीडन तथा विभेदको कित्तामा जान थालेका छन् ।

पुरोहित भनेको पुरको हित गर्ने हो । पुर भनेको सहर हो । सहरमा बस्नेहरुलाई तार्नु पुरोहितको कर्तव्य हो । तर सहरमा अभिजात मात्र छैनन्, दलित समुदाय पनि छन् । अभिजातहरु दलितहरुको संस्कार कर्ममा जान सकेका छैनन् । हुन त उनीहरु धर्मको कित्तामा रहेर त केही थिएन । तर परम्परागत सनातनी धर्म संस्कृतिको नाममा पैसा कमाउने ध्येयले स्वाङ् पारिरहेका छन् । उनीहरुमा पलायित मनोविज्ञान देखिन थालेको छ । उनीहरुले यो जीवनमा पाप गरिरहेका छन् । उनीहरुले पापबाट मुक्त हुने हो भने ५ जना दलित कन्याहरुलाई टिका लगाई दिएर यही जीवनमा प्रायचित्त गर्नुपर्छ र दलितलाई संस्कारमा बिना शर्त सम्मानपूर्वक सहभागी बनाउनु पर्छ । नत्र अभिजात वर्ग नरक जान्छ ।

आज अभिजातहरु त्यही रुकुमको घटनालाई अन्य दिशातिर मोड्न थालेका छन् । रुकुममै पे्रम प्रणयको विषयलाई लिएर दलित युवा नवराज बिकलाई त्यहीकै अभिजात वर्गले निर्घात कुटेर भेरी नदीमा मिल्क्याई दिएको छ । उनका साथमा ५ जना होनाहार युवाहरुले ज्यान गुमाएका छन् । एकजना अझै बेपत्ता भएका छन् । यो जघन्य अपराध हो । यो विभेदबाटै आएको अपराध हो । यो जातीय सोंच हो । यसलाई अन्य दिशातिर धकेलेर समस्याको सही निदान हुन सक्दैन । अभिजात्य स्वभाव भएर होला यति ठूलो सबालमा पनि पूर्व प्रधानमन्त्रीहरु, पार्टी अध्यक्षहरुले समवेदनासम्म दिएनन् । उनीहरुलाई जनैले अल्झाएर उछार दिएन । केही जिम्मेवार दलित सभासदहरु पनि बेखबरजस्ता देखिए ।

त्यसैले दलित समुदायमा आज फेरि चुनौती थपिएको छ । आज पनि आन्दोलनमा पूर्ण विराम लागेको छैन । यो निरन्तर चलिरहेको छ । यो अनन्तसम्म चलिरहन्छ । यो विषयलाई विभिन्न दलित संघ संस्थाहरु मात्र हैन, संयुक्त राष्ट्र संघले पनि छानबिनको माग गरेको छ । प्रशासन र प्रहरीलेले यस विषयलाई गम्भीरताका साथ काम गरेको सुनिदैछ देखिदैछ । अदालतले पनि उनीहरुको पक्षमा फैसला दिने अवस्था देखिदैन । दलित समुदायले जित्छ । यो निश्चित छ । अब दलित आन्दोलनहरुलाई सबै रुपमा मूलधारमा ल्याउनु पर्छ । यो हामी सबैको साझा कर्तव्य हो ।

प्रतिकृया दिनुहोस्