RaraNews

प्रकाशित : २०७७/२/१५ गते
१३८९ पटक

काठमाडौं । रुकुम पश्चिमको चौरजहारीमा अन्तरजातीय प्रेम विवाह गर्न खोज्दा भएको घटनामा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

चौरजहारी नगरपालिका–८ सोती गाउँका स्थानीयले लखेटेपछि ज्यान जोगाउन भेरी नदीमा हामफालेका भेरी नगरपालिका–४ काा १९ वर्षीय सञ्जु विकको शव बिहीबार फेला परेसँगै मृत्यु हुनेको संख्या पाँच पुगेको हो ।

जाजरकोटका डीएसपी किशोर श्रेष्ठका अनुसार सञ्जुको शव छेडागाड नगरपालिका–१३ स्थित कालाभीर नजिक भेरी नदीको किनारमा फेला परेका हो । भेरी नदी किनारमा तैरिरहेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीले खबर गरेका थिए ।

यसअघि बुधबार भेरी नगरपालिका–११ का अन्दाजी २० वर्षीय लोकेन्द्र सुनारको शव भेरी नदीमा तैरिरहेको अवस्थामा फेला परेको थियो । ६ जना मध्ये दुई जनाको शव शनिबार नै फेला परेको थियो भने एक जनाको शव सोमबार फेला परेको थियो । अझै एकै जना भने बेपत्ता छन् ।

पाँच दिनमा के के भयो ?

जेठ १० गते

नवराज विकको अगुवाइमा १८ जना युवाको टोली दिउँसो १२ बजे रुकुम पश्चिमको चौरजहारी नगरपालिका १ सोतीमा रहेकी नवराजकी प्रेमिका सुष्मा मल्ललाई लिनको लागि त्यसतर्फ हिँड्यो । केटीसँग नवराजको पटक पटक कुराकानी भएको र साँझ ५ बजेतिर आइपुग्नु भनेपछि एकदुई घण्टा युवाहरुको टोली बाटोमै अल्मलियो । टोलीका एक सदस्य सुदीप खड्कासँग कान्तिपुर दैनिकले गरेको कुराकानी अनुसार नवराजको टोली साँझ ५ बजे केटीको घर नजिक पुग्यो ।

खड्काका अनुसार उनको परिवारका सदस्यले युवाहरु गाउँमा आएको थाहा पाइसकेका रहेछन् । केटीकी आमा प्रकाशी मल्लले ‘यो डुम किन आयो, अस्तिको चोटले पुगेनछ’ भन्दै गालीगलौज गर्न थालिन् । ‘ठूल्ठूलो स्वरमा गाली गर्न थालेपछि हामीहरु केही नबोली तलतिर फर्कियौं,’ खड्काले भने, ‘नवराजलाई पनि अब केटी लिन सकिँदैन, घर फर्किऔं भनेर मनायौं ।’ टोलीले करिब १० मिनेट टाढाको नाउला भन्ने ठाउँमा पुगेर एउटा घरमा पानी मागेर पिउन थाल्यो ।

खड्काका अनुसार त्यहाँ रहेका अपरिचित व्यक्तिले ‘बाबुहरु बस्नुस्, काफल खानुहोस्’ भनेर अलमल्याए । यो व्यबहार षड्यन्त्र हुनसक्ने आकलनसहित टोली हतारहतार मध्यपहाडी लोकमार्गतिर लाग्यो । तर, पाँच मिनेटमै एक्कासी ५०र६० जनाको समूह आएर ढुंगामुढा गर्न थाल्यो । ‘हामीहरु जीउ जोगाउन भाग्दाभाग्दै गाउँलेले चारैतिरबाट घेरा हालेर ढुंगा, हँसिया र चिरपटले हान्न थाले,’ उनले कहालीलाग्लो क्षण सम्झिँदै भने, ‘हामीहरु ज्यान जोगाउन भागाभाग गर्न थाल्यौं ।’
युवाको समूहले नवराजलाई नचिनिने गरी लगेको थियो । तर, आक्रमणको तारो उनै बने ।

सोती गाउँदेखि आधा घण्टा टाढाको भेरी नदीसम्म लखेटेर नवराजको हत्या गरिएको अर्का युवा इन्द्रजंग शाहले बताए । उनका अनुसार गाउँलेले युवाको समूहलाई भेरी किनारतर्फ बाहेक अन्यत्र जान नपाउने गरी घेरा हालेका थिए । ‘हामीलाई बचाउनुस्, माफ पाऊँ भनेर हात जोड्दासमेत छोडेनन्,’ उनले भने, ‘भूईँमा लडाएर अन्धाधुन्द कुट्न थाले ।’ त्यसपछि को साथी नदीमा हाम फाले र को साथी पुल तरे भन्ने याद पनि नभएको उनले बताए ।

ज्यान जोगाउन भेरीमा हाम फालेकालाई पनि नदीमै पुगेर ढुंगा, हँसिया र चिरपटले प्रहार गरेका उनको भनाइ छ । अर्का युवा सरोज भँडेलले पनि कुटपिटबाट बच्न भेरीमा हाम फालेको बताए । नदी पार गरेपछि युवाहरुले थप कुटपिट गरेपछि प्रहरीले पक्राउ गरेर लिएको उनले बताए ।
घटना भइरहँदा करिब ६ बजेतिर प्रहरीको टोली पनि पुगेको थियो । ज्यान जोगाएका १२ जना युवालाई गाउँलेको सहयोगमा प्रहरीले नियन्त्रणमा लियो ।

जेठ ११ गते
रुकुम घटना जेठ ११ गते मात्रै मिडियाहरुमा आएको थिए । नवराज विकसँगै टीकाराम सुनारको शव भेटिएको जेठ ११ गते नै भेटिएको थियो । गणेश बुढा, लोकेन्द्र सुनार, सन्दीप विक र गोविन्द शाही बेपत्ता थिए । सामाजिक संजालमा तिव्र विरोध सुरु भयो । दलित नागरिक समाजको ध्यानार्कषण र विज्ञप्तिले सरकारलाई दबाब पर्यो ।

जेठ १२ गते
जेठ १२ गते गणेश बुढाको शव भेरी नदिमा भेटिएको थियो भने अन्य तीन जना बेपत्ता नै थिए । घटनामा संलग्न भएको भन्दै जाजरकोट जिल्ला प्रहरी कार्यालयमा १२ जनाविरुद्ध किटानी जाहेरी दर्ता भयो । १७ वर्षीया केटी, उनका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल र सोही गाउँका डिल्ली मल्ल, सन्तोष मल्ल, तुलबहादुर मल्ल, मानबहादुर मल्ल, रमेश मल्ललगायत १२ जनालाई प्रहरीले पक्राउ गर्यो । जाजरकोट जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले दोषीमाथि कारवाहीको माग गर्दै धर्ना दिने कार्यक्रम हुनुका साथै जिल्ला अस्पतालमा राखिएको शव परिवारले बुझ्न माने मानेनन् ।

जेठ १३ गते

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा सांसदहरुले यो घटनाको व्यापक विरोध गर्दै सरकारसँग जवाफ माग गरे । गृहमन्त्री रामबहादुर थापा बादलले संसदलाई जवाफ दिँदै जातीय हिंसाबारे अध्ययन गर्न गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा प्रहरी वरिष्ठ उपरीक्षक, अनुसन्धान विभागको अधिकृत, महान्यायाधिवक्ता कार्यालयका अधिकृत र गृहमन्त्रालयको उपसचिव रहने गरी पाँच सदस्यीय छानबिन समिति गठन गरिएको र दुई हप्ताभित्र छानबिन प्रतिवेदन आउने जानकारी गराउनुभयो ।

दलित सांसदहरुले यो घटनाको कडा शब्दमा निन्दा गर्दै निपष्पक्ष छानबिनका लागि समग्र दलितसँग सम्बन्धित घटनाबारे अध्ययन गर्न संसदीय समिति गठनको माग समेत राखे । नेपाल कम्युनिस्ट पार्टीकी सांसद पार्वतीकुमारी विशंखेले घटनाको छानबिन गर्न संसदबाट समेत उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने बताउनुभयो । उक्त घटना अन्तरजातीय प्रेमकै कारण भएको सामूहिक हत्या रहेको उहाँको भनाई थियो ।

प्रेमिकाले बोलाएपछि लिन गएको टोलीलाई चौरजहारी नगरपालिका–८ का वडाध्यक्षको नेतृत्वमा ठूलो जत्थाले लेखेटेर कुटीकुटी मारेर भेरीमा फालेको भन्दै उहाँले निन्दा गर्नुभयो । ‘यो भन्दा समाजमा ठूलो बर्बरता समाजमा के हुन सक्छ रु सभामुख महोदय’ उहाँले प्रश्न गर्नुभयो ‘तत्कालिन व्यवस्थापिका संसदबाट जातीय भेदभाव, कसूर तथा सजाय ऐन पास भएको दिन जेठ १० गते उत्सवका रुपमा मनाउनुपर्नेमा त्यही दिन ६ जनाको सामूहिक हत्या जातकै कारण गरिनु कतिसम्म बर्बरता हो, कतिसम्म उत्पीडन हो ?’

प्रमुख प्रतिपक्षी दलका सांसद मीन विश्वकर्माले यो घटनालाई मुलुककै इतिहासमा सबैभन्दा ठूलो त्रासदीपूर्ण कहालीलाग्दो जातीय नरसंहारको घटना भएको बताउनुभयो । उहाँले यस घटनाको छानबिनका लागि संसदीय समिति गठन गर्न माग गर्नुभयो त्यस्तै घटनामा संलग्नको आरोपमा पक्राउ परेकालाई राजनीतिक दबाब र प्रभावमा रिहा नगरी निश्पक्ष छानबिन गर्न पनि सांसद विश्वकर्मा को माग थियो ।

नेपाली कांग्रेसकै सांसद डा। मिनेन्द्र रिजालले सरकारले छानबिन समिति गठन गरे पनि संसदले पनि छानबिन समिति गठन गर्नुपर्ने बताउनुभयो । ‘गृहमन्त्रीले आफ्नो काम गरोस् सरकारले आफ्नो काम गरोस्’ उहाँले भन्नुभयो ‘तर संसदले अहिले पनि नेपालमा घृणाको अपराध छ, दलितहरुलाई मानव मानिदैन भनेर बोल्ने ठाउँमा उभिन सकेन भने के सन्देश जान्छ ?’

संसदमा रुकुमकै जनप्रतिनिधि जर्नादन शर्मा बोल्दै गर्दा भने उहाँको अभिव्यक्तिलाई लिएर चर्काचर्की भएको थियो । सांसद प्रकाश स्नेहीले घटनाको कडा शब्दमा आलोचना गर्दै दलितमाथि भएको बर्बरताको विरुद्धमा कडा कदम चालिनुपर्ने बताउनुभयो ।

३ जनाको मृत्यु र ३ बेपत्ता भएको पश्चिम रुकुम चौरजहारी घटनाबारे छानबिन गरी दोषीमाथि कारबाही गर्न नागरिक अगुवाहरूले माग गरेका छन् । नागरिक अगुवाहरू दमननाथ ढुंगाना, कनकमणि दीक्षित , विपिन अधिकारीलगायत २१ अगुवाले एक विज्ञप्ति जारी गरी यसबारे छानबिन गर्न माग गरेका हुन् । अधिकाँस सेलिब्रेटीहरुले पनि सामाजिक संजालमा यो घटनाको विरोध गर्दै निष्पक्ष छानबिनको माग गरेका छन् ।

जेठ १४ गते
भेरी नदिमा बेपत्ता भएका तीनजनाको खोजी गर्न चार जना गोताखोरको टोली परिचालन गरियो । प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै नेपाली कांग्रेसकी सांसद विमला नेपालीले रुकुममा मारिएका दलित युवकलाई शहीद घोषणा गर्न माग राख्नुभयो । ‘कथित माथिल्लो जातको युवतीको प्रेम सम्बन्धका कारण रुकुम पश्चिम चौरजहारी ८ सोतीमा जाजरकोटको भेरी नगरपालिका राना गाउँका नवराज विकले मृत्युको खबरले स्तब्ध बनाएको छ । यो घटनामा ज्यान गुमाउने सबैलाई सामाजिक रुपान्तरणको सहिद घोषणा गरियोस्’ जेठ १४ गतेको प्रतिनिधिसभा बैठकमा उहाँले भन्नुभयो । अन्य केही सांसदहरुले पनि घटनाको छानबिनका संसदीय समिति बनाउनु पर्ने र घटना राजनितिकरण हुन सक्ने भन्दै ध्यानार्कषण गराएका थिए ।

जेठ १४ गतेका दिन नै बेपत्ता भएका तीनमध्ये एकजनाको शव फेला पर्यो । जाजरकोटको भेरी नगरपालिका(११ कुदुका लोकेन्द्र सुनारको शव घटनास्थलबाट करिब १० किलोमिटर तल कुदु नजिक भेरी नदी किनारमा फेला परेको हो । यो संगै रुकुम घटनामा ज्यान गुमाउनेको संख्या चार पुग्यो । भेरी नगरपालिका वडा नम्वर ११ का गोविन्द शाही र वडा नम्बर ४ का सन्दीप विक अझै वेपत्ता छन् ।

अन्तरजातीय विवाहको विषयलाई लिएर रुकुम पश्चिममा दलित युवकसहित चारजनाको हत्या भएको भन्दै बुटवलमा विरोध प्रदर्शन भएको छ । दलित अगुवा, मानव अधिकार तथा शान्ति समाज, राजनीतिक दलका नेता–कार्यकर्ता, विश्वकर्मा युथ क्लबले बुटवलको पुष्पलाल पार्कमा भेला भएर प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । करिब दुईसय जनाको संख्यामा उपस्थित उनीहरुले ‘जातीय आधारमा हत्या कहिलेसम्म रु’, ‘हामी कहिलेसम्म मौन बस्ने रु’ ‘जवाफदेही को रु’, ‘मान्छे मान्छेमा के फरक छ र रु’, ‘संविधानले दिएको अधिकार कहिलेसम्म उल्लंघन गर्ने रु’ लगायतका नारा लेखेको प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रदर्शनपछि बोल्दै पूर्वसांसद एवं दलित अधिकारकर्मी विनोद पहाडीले उक्त घटना जातीय विभेदको आधारमा भएको जघन्य अपराध भन्दै निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न माग गर्नुभयो । घटनालाई सत्ता र शक्तिको आडमा ढाकछोप र अपव्याख्या नगर्न आग्रह गर्दै उहाँले त्यसो गरिए लकडाउन उल्लंघन गरेरै दलितहरु सडकमा आउने चेतावनी दिनुभयो ।

यस्तै, मानवअधिकारवादीहरूले गत शनिबार रुकुममा भएको हत्या घटनाको छानबिन गर्न उच्चस्तरीय विशेष संयन्त्रको माग गरेका छन् । विभिन्न ३३ वटा मानवअधिकारवादी संघरसंस्था तथा व्यक्तिहरूले विज्ञप्ति जारी गर्दै घटनाबारे चासो व्यक्त गरेका हुन् ।

रुकुम पश्‍चिम घटनाको निष्पक्ष छानबिन होस् : राष्ट्र संघ

नेपालका लागि संयुक्त राष्ट्र संघकी आवासीय संयोजक भ्यालेरी जुलियान्डले रुकुम पश्चिमको घटनामा सरकारले निष्पक्ष रुपमा छानबिन गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

अन्तरजातीय विवाहको विषयमा ४ जनाको हत्या र २ जनाको बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गर्दै संयोजक भ्यालेरीले यो घटनाले नेपालमा जातीय विभेद कायमै रहेको बताउनुभयो । उहाँले भन्भनुभयो , ‘म मृतकका परिवारप्रति समवेदना प्रकट गर्न चाहन्छु र विश्वास ग‍र्छु कि नेपाल सरकारले संविधान र अन्तर्राष्ट्रिय प्रतिबद्धताबमोजिम शून्य सहनशीलता देखाउँदै यस घटनाको निष्पक्ष छानबिन गर्नेछ ।’

प्रतिकृया दिनुहोस्