RaraNews

प्रकाशित : २०७७/१/२७ गते
१०३७ पटक

 पोखरा । घरिघरि टोलाइरहन्छिन्, मीना सुनार । आफैंसँग झस्किन्छिन् । घरि भक्कानो छोडेर रुन्छिन् त घरि सुँक्क सुँक्क गर्दै घर भित्र–बाहिर गरिरहन्छिन् । आफ्नै घर बिरानोजस्तो लागेको छ । छोरा आइपुग्छन् र थम्थम्याउँछन् ।

कालीखोला सुसाएझैं मीनाको मन यसै सुसाइरहेको होइन । एकातिर श्रीमान बित्दाको चोट छ, अर्कोतर्फ समाजले गरेको विभेद ।

मीनालाई पतिवियोगको पीडासँगै किरिया बस्छुभन्दा आफैं बाँचेको समाजमा सहनुपरेको विभेदले थप विक्षिप्त बनाएको छ ।

चैत २३ गते मीनाका पति सम्मरबहादुर सुनारको विदेशमा मृत्यु भयो । गत वर्ष अब एकचोटि वैदेशिक रोजगारीमा गएर फेरि नजाने गरी आउँछु भनेका सम्मरबहादुरलाई कहिल्यै नफर्किने गरी निमोनियाले लग्यो ।

विश्वभर फैलिएको माहामारीले शव नेपाल ल्याउन नसक्ने अवस्था भएपछि उनको उतै अन्त्येष्टि गरियो । माइला छोरा र भाइ दुबईमै थिए । उनीहरुले उतै किरिया गरे ।

सम्मरका जेठा छोरा फ्रान्समा छन् । मीना र कान्छा छोराले नेपालमै काज किरिया गर्नुपर्ने भयो ।

पोखरा–१६ बाटुलेचौर चण्डीटोलमा भर्खरै किरियापुत्री भवन बनेको छ । त्यही भवनमा किरिया बस्छु भन्दा दलित भएकै कारण समाजले पीडामाथि पीडा थप्ने काम गरेको सम्मरका दाजु मोहन सुनारले बताए ।

‘दलित भएकै कारण विभेद सहनुपर्दा परिवार नै विक्षिप्त छौं भने समुदाय नै फेरि एकपटक समानताको लडाइँ लड्नुपर्ने अवस्थामा पुगेको छ,’ मोहनले भने, ‘भर्खर बनेको किरियापुत्री भवन तिमीहरुका लागि होइन, भनिदियो, यही समाजले । यो ‘कामीहरुलाई दिन बनाइएको होइन’ भनियो ।

भवन निर्माण समितिका व्यक्तिहरुले त्यो भवन क्षेत्रीहरुको अगुवाईमा बनाएकाले कालीखोलामा गएर किरिया गर्न भनेका थिए । ‘घरनजिकै बनेको भवनमा किरिया बस्छौं र बेलुका घरै फर्कन्छौं भनेका थियौं,’ मोहनले भने, ‘दलित भएकै कारण किरिया बस्न नपाएपछि टाढाको कालीखोलामै जानुपर्‍यो ।’

किरिया बस्न चाबी माग्न जाँदा भवन समितिका मान्छे बैठक नै बसेर नदिने निर्णय गरेको मोहनको गुनासो छ । चाबी माग्न जाँदा बाटो छेक्ने र अपहेलित हुने गरी गाली खानु परेको उनले सुनाए ।

यो घटनापछि मोहनले तीनजनाविरुद्ध किटानी जाहेरी दिएका थिए । प्रहरीले भवन निर्माण समितिका अध्यक्ष राम जिसी र जनक थापालाई पक्राउ ग¥यो । उमेर पाको भइसकेका कारण देवबहादुर थापालाई भने प्रहरी पक्राउ गरेन ।

राम र जनक पक्राउ परेपछि थप दुःख र त्रासमा रहनुपरेको मोहनले गुनासो गरे । ‘दुई दिन त घरभित्रै थुनिएर बसें । सब गाउँ नै उठेर घेरा हाल्न आए,’ मोहनले अनलाइनखबरलाई सुनाए, ‘तीन गतेबाट आफ्नै घरमा किरिया बसिरहेका थियौं, जनक थापाले बाटो छेकेर झगडा नै गरे । १५ गते उम्केपछि कानुनी उपचारको बाटो लागेको हुँ ।’

सय/डेढ सय वर्षदेखि बसिरहेको समाजमा सानातिना कुरालाई सहेरै बसिएको र अति भएपछि मात्रै प्रहरीको शरणमा पुगेको मोहनको भनाइ छ ।

सुरुमा उनी प्रहरी कार्यालय पुगेका थिए । पक्राउ गरेर अनुसन्धान अगाडि बढाएपछि छाड्न दबाव दिँदै राम र जनकका पक्षधर क्षेत्री समुदायका व्यक्तिहरु प्रहरी कार्यालय घेराउ गर्न पुगे । त्योबेला प्रहरीले लाठीचार्ज नै गर्नुपर्‍यो ।

सार्वजनिक जग्गा र सरकारी पैसामा बनेको भवन

त्यो ठाउँ क्षेत्रीहरुको बाहुल्यता भएको ठाउँ हो । उनै गाउँलेहरुले सम्मरको परिवारलाई किरिया गर्न नदिने बताएको मोहनको गुनासो छ ।

भवन निर्माण समितिको बैठकमा क्षेत्रीहरुको किरिया कर्म गर्न बनाएको भवन भएकाले दलितलाई दिन नहुने एकमत भएको उनको दाबी छ । जसका कारण मीनाको परिवारले घरछेउकै सार्वजनिक भवनमा किरिया गर्नबाट बञ्चित हुनुपर्‍यो ।

गाउँमा क्षेत्रीहरुको बाहुल्य रहे पनि त्यो उनीहरुको नाममा बनेको भवन भने होइन । एक त त्यो भवन सरकारी जग्गामा बनेको छ, अर्कोतर्फ ‘किरिया भवन निर्माण’ शीर्षकमा पोखरा महानगरले ५ लाख र वडा नम्बर १६ ले डेढ लाख रुपैयाँ सरकारी कोषबाट दिएका छन् ।

‘हिन्दु धर्मअनुसार किरिया कर्म गर्नका लागि सार्वजनिक ठाउँमा भवन बनाइएको छ,’ सम्मरका दाजु मोहनले प्रश्न गर्छन् ‘के हिन्दु धर्मले दलित र क्षेत्री भनेर विभेद गर्नु, बहिस्कृत गर्नु भनेको छ ?’

भवन सार्वजनिक जग्गामै बनेको र महानगर तथा वडाबाट बजेट पनि परेको वडा नम्बर १६ का वडाध्यक्ष जीवन आचार्यले स्वीकार गरे । तर, यो विषयले ठूलो रुप लिएको हुँदा अदालतले नै फैसला गर्नुपर्ने उनले बताए ।

‘अब यो घटनाले ठूलो रुप लिइसकेको छ, कानुनी उपचारको बाटोमा गइसकेको छ,’ अध्यक्ष आचार्यले भने, ‘अब अदालतले नै फैसला गर्ला, यथार्थ के हो ।’
पक्राउ परेका दुबैजनाको म्याद थप गरी अनुसन्धान गरिरहेको कास्की प्रहरी प्रवक्ता डीएसपी राजकुमार केसीले जानकारी दिए ।

सांसदको विज्ञप्ति : षडयन्त्र भयो

पीडित पक्षले राजनीतिक र शक्तिका आडमा मुद्दालाई कमजोर बनाउने र फिर्ता लिन दबाव दिने काम भइरहेको आरोप लगाएका छन् । उनीहरुले सांसद र जनप्रतिनिधिले समेत पीडित पक्षलाई साथ नदिएको आरोप लगाएका छन् ।

आरोपकै बीच प्रहरीले अनुसन्धान गरिरहेको घटनामाथि प्रदेश सांसद कृष्ण थापाले षडयन्त्रपूर्वक फसाउन खोजिएको विज्ञप्ति जारी गरेका छन् ।

जातिवादी नेता–कार्यकर्ताले सामाजिक सद्भावलाई धमिल्याउने काम गरिरहेको सांसद थापाको तर्क छ । ‘घटनालाई बढाइ–चढाइ गरियो । यहाँ भएको केही होइन । सामान्य कुरा हो त्यो,’ सांसद थापाले अनलाइनखबरसँग भने, ‘४० वर्षदेखि राजनीतिक आन्दोलनमा लागेको मान्छे हुँ । के गर्न हुन्छ, के हुँदैन भन्ने जानेको छु । अति बढी जातिवादी नेता, कार्यकर्ताले सामाजिक सद्भाव खल्बल्याउन सक्छन् नि ।’

थापाको विज्ञप्तिपछि दलित अधिकारका लागि लडिरहेका अगुवाहरुले सांसद नै एकपक्षीय रुपमा देखिएको बताएका छन् । उनीहरुले सांसदले नै एकपक्षीय विज्ञप्ति जारी गरेपछि अनुसन्धान कमजोर हुन सक्ने आशंका गरेका छन् ।

प्रतिकृया दिनुहोस्