RaraNews

रेम विश्वकर्मा प्रकाशित : २०७७/१/९ गते
२०१० पटक

कोरोना भाइरस (कोभिड १९) को महामारीले विश्व नै बन्दाबन्दीको मारमा छ । विकसित, र विकासोन्मुख सबै राष्ट्रहरु कोभिड १९ को प्रभाव र असर सँग जुधिरहेका छन् । विश्व स्वास्थ्य संगठनसँगै प्रत्येक देशका सम्पूर्ण निकाय यसको विरुद्धमा क्रियाशील छन् । महामारीको रोकथामका लागि विभिन्न पहल र प्रयासहरु भइरहेका छन् । तर पनि सबै यसको प्रभावबारेमा चिन्तन मन्थनसँगै समाधान र नियन्त्रण कसरी गर्न सकिन्छ भनेर तल्लीन छन् । यद्यपि, कोभिडको फैलावटसँगै नेपाली समाजमा पनि यसको असर सवै तहमा र क्षेत्रमा परेको हामीले अनुभव गरिरहेका छौं । कोभिड रोकथामका लागि विकसित देशलाई समेत हम्मे हम्मे परिरहेको अवस्थामा हामी पनि त्यही परिस्थितिसँग जुधिरहेका छौं ।

कोभिडले धनी, गरिब, उच्च, निच केही पनि भन्दैन । तर, यसले हुने खानेलाई भन्दा दैनिक ज्याला मजुदरी गरी खाने मजदुर, दलित र सिमान्तकृत समूदायलाई अझै बढी तत्कालीन र दृर्धकालीन रुपमा असर र प्रभाव पार्ने कुरामा दुईमत छैन । यस्तो वर्ग र समुदाय नै बढी जोखिममा पनि रहने कुरा कुरा विश्व बैंक, एशियाली विकास बैंकलगायतले पनि प्रक्षेपण गरेका छन् । यस्ता महामारीले देशको आर्थिक, सामाजीक र भौतिक विकाससँगै विभेद र असमानताको खाडललाई अझै बढाउने सम्भावना पनि उत्तिकै छ ।

त्यसैले समाजको पिँधमा रहेका समुदायलाई समयमै सबै कुराहरुबाट बलियो बनाउनु पर्ने आजको आवश्यकता हो । नेपालका दलित समुदाय सवै प्रकारको विभेद र जातिय छुवाछुतको मारमा छन । यसको प्रभाव लकडाउन प्रभाव र राहात वितरणमा पनि विभेद र छुवाछुत भएको देखियो । दलितहरु झनै यसको प्रभाव र असरमा पर्ने भएको हुदा दलित समुदायको सवै क्षेत्र र तहवाट काम दलित अधिकारका लागेका नेता, नागरीक समाज, सासद र पत्रकार सवै जना एकजुट भएर काम गर्नु पर्ने हुन्छ । यसै सन्दर्भमा दलित अधिकारको वकालत गर्ने सभासद् र नेताहरु अहिले के गरिरहेका छन् ? जागरण मिडिया सेन्टरका अध्यक्ष रेम विश्वकर्मासँग को कुराकानीमा उहाँहरुले यस्तो बतानुभएको छ ।

मान बहादुर विश्वकर्मा प्रतिनिधिसभा सदस्य एवं केन्द्रिय सदस्य, नेपाली काँग्रेस
म काठमाडौंमा छु । लकडाउनमा घर बस्ने बाहेक अरु काम गर्न सकिँदो रहेनछ । कोरानाले वृद्धवृद्धालाई बढी प्रभाव पार्दछ भन्ने विभिन्न अनुसन्धान र विज्ञहरुले बताएका छन् । म पनि ६० वर्ष भन्दा माथिको भएका कारण म अझै बढी सचेत भएर बसेको छु । अहिले अध्ययन गरेर समय सदुपयोग गरिरहेको छु । वि.पीको आत्मवृतान्त र नेलशन मण्डेलाको लङ वाक टु डेमोक्रेसी भन्ने पुस्तक अध्ययन गरिरहेको छु । विभिन्न नेटवर्कमा फोनमा कुराकानी पनि गरिरहेको छु ।

 

छविलाल विश्वकर्मा, पूर्वमन्त्री एवं सदस्य, प्रतिनिधिसभा

म रुपन्देहीमा छु । लकडाउनको अवस्थामा धेरै अभियान गर्न सकिँदो रहेनछ । तर पनि आफुले गर्न सक्ने काम र जान सक्ने ठाउँमा विशेष सर्तकता अपनाएर पुगेको छु । खास गरी म स्थानिय सरकार, नागरीक समाज, संचार र पार्टीका साथीहरुसंग समन्वय र सम्पर्कमा काम गरिरहेको छु । सिमा क्षेत्र, हस्पिटलहरुमा अनुगमन र निरिक्षण पनि गरिरहेको छु । अप्ठ्यारोमा परेकालाई उद्धार र सहयोग गर्ने काम पनि सक्दो गरिरहेको छु । सबैबीच न्यायोचित राहात वितरणको लागि वातावरण बनाउने काम पनि गरेको छु । मेरो आफनो चुनावी क्षेत्रमा पनि काम गरिरहेको छु । तराईका दलितहरु बढी समस्यामा छन् । उनीहरुलाई आवश्यकताको आधारमा राहत वितरणको लागि पहल पनि गरिरहेको छु ।

 

मिन बहादुर विश्वकर्मा सदस्य, प्रतिनिधिसभा एवं केन्द्रिय सदस्य, नेपाली काँग्रेस
म अहिले धरानमा छु । कोरोना रोकथाम विरुद्धको अभियान अन्य अभियान जस्तो हुँदो रहेनछ । लकडाउनका कारण चाहेर पनि धेरै कुरा गर्न सकिँदो रहेनछ । तर पनि टेलीफोनबाट आपत र विपतमा परेकालाई सक्दो सहयोग गरिरहेको छु । संघीय सरकारसँगै स्थानिय निकायहरुलाई जनमुखि कामको लागि सहजीकरण गरिरहेको छु । राहत वितरणमा समन्वय र सहजीकरण गर्दै आफनो गन्तव्यमा जानेलाई सम्बन्धित ठाउँमा पुग्नको लागि सहयोग गरिरहेको छु । महामारीले सबैलाई असर गरिरहेको छ । गरीब, दलित र मजदुर भने यो माहामारीबाट अझै धेरै प्रभावित भइरहेका छन् । त्यसैले यो कुरालाई मध्यनजर गर्दै राहत वितरण गर्न अपिल र वकालत गरिरहेको छु । समस्यामा परेका यस्ता समुदायलाई राहतदेखि सबै कुराको व्यवस्थापनको लागि दलित संघ र म आफैले काम गरिरहेको छु ।

 

जितु गौतम, पूर्वमन्त्री
म काठमाडौंमा छु । लकडाउनका कारण धेरै काम गर्न सकेको छैन । अहिले अध्ययन .गरेर समय बिताइरहेको छु । साथै सरकारका गतिविधीहरु न्जिकबाट हेरिरहेको छु । आफनो तहबाट हुन सक्ने कामका लागि राजनितिक तहमा, सांसद र जिल्लला साथै स्थानिय तहमा संयोजन गर्ने काम पनि टेलिफोनबाटै गरिरहेको छु । विपन्न र दलितहरु यसबाट धेरै प्रभावित र शिकार हुने भएकाले न्यायोचित कामको लागि सबै तहसँग छलफल र सम्पर्कमा छु ।

 

विनोद पहाडी, संविधानसभा सदस्य एवं राष्ट्रिय दलित पत्रकार संघका केन्द्रिय अध्यक्ष
म रुपन्देहीमा छु । अलपत्र परेका मजदुरहरुको उद्धारमा सक्दो सहयोग गरिरहेको छु । पैदल यात्रा गरेरै गन्तव्यतर्फ लागेका श्रमिकको समस्या समाधान गर्न संघीयसँगै प्रदेश र स्थानीय सरकारलाई झक्झकाउने काम गरिरहेको छु । लकडाउनको समयमा भोकसँग लडिरहेकाहरुलाई राहत वितरणको लागि समन्वय र सहकार्य गरिरहेको छु । कोरोना रोकथाम र यसरको असरबारे प्रदेश सरकार, स्थानीय तहसँग निरन्तर छलफलमा छु । पत्रकार, नागरिक समाजलाई पनि कोरोनाविरुद्धको अभियानमा परिचालन गरिरहेको छु । निजी क्षेत्रको पहल र सहयोगमा राहत वितरणको काम पनि गरिरहेको छु ।

 

अन्जना विशुन्के, सदस्य, प्रतिनिधिसभा एवं केन्द्रिय सदस्य, नेपाल कम्युनिष्ट पार्टी
अहिले काठमाडौंमा छु । मैले खास गरी काठमाडौंको नागढुंगाबाट विभिन्न जिल्लामा जान खोज्नेलाई खाना खुवाउने काम गरिरहेको छु । उनीहरुलाई रोकेर स्वास्थ्य परिक्षणको व्यवस्था पनि मिलाएको छु । थानकोटको त्रिभुवनपार्कमा खाना र बस्ने व्यवस्था गरेका छौं । मैले त्यहाँको स्थानीय तहसँग समन्वय गरेर काम गरिरहेको छु । राहत संकलन र वितरणको काममा पनि समन्वय, सम्पर्क गरिरहेको छु । साथै सरकारका सम्वन्धीत निकाय, नेता र सांसदहरुसंग सहकार्य र समन्वयमा काम गरीरहेको छु ।

 

निरा जैरु, सदस्य, प्रतिनिधिसभा एवं सभापति, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति
म काठमाडौंमा छु । कोरना र लकडाउनका कारण सबैलाई धेरै प्रभाव परेको छ । सबै गरिब र दलित तथा सिमान्तकृत समुदायलाई धैरै असर गरेको छ । हामी सभासद्हरुलाई आफ्नो आफ्नो क्षेत्रको जिम्मेवारी सरकारले दिएको हँदा त्यस क्षेत्रका समस्यामा केन्द्रित छु । प्रत्येक जिल्लामा गठन भएको प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा संयोजन समितिको हामी सल्लाहाकार पनि भएका कारण त्यसमा धेरै व्यस्त छु । सुदुरपश्चिम क्षेत्रको सिमानाहरुमा समस्या देखिएका कारण समाधानका लागि सक्रिय रुपमा लागिरहेको छु । संक्रमण देखिएकाहरुको उपचार र सहज तरिकाले यथाशिघ्र टेस्ट गर्नका लागि वातावरण बनाउने काममा पनि पह गरेँ । सुदुरपश्चिमका मन्त्री र सांसदहरु संग संयोजन र सम्पर्क गरिरहेकी छु । आफ्नो जिल्ला डडेलधुरामा राहत वितरण र हस्पीटल व्यवस्थापनका लागि पहल गरेकी छु । दलितको सवालमा दलित, हलिया, हरुवा र चरुवाको बारेमा राहत पुर्याउनको लागि पहल गरेको छु ।

 

जीवन परियार केन्द्रिय सदस्य, नेपाली काँग्रेस
म काठमाडौंमा छु । कार्यकर्तासंग सम्पर्कमा छु । अध्ययनमा पनि समय बिताएको छु । लकडाउन भए पनि फुर्सदमा भने छैन । विभिन्न तहबाट कार्यकर्ता र जनताका समस्या, अप्ठ्यारो परेका कुरा आउँछन । समाधानका लागि समन्वय गरिरहेको छु । देशैभरि सबै जनतालाई समस्या परेको छ । सबैको जनजीवनमा असर परेको छ । समस्यामा परेका जनतालाई खाना दिने र आफनो ठाउँमा पुग्न चाहानेलाई पार्टीका साथिहरु परिचालन गरेर त्यो वातावरण मिलाउने काम गरेको छु । राहत नपुगेको ठाउँ र नपाएकालाई छिटो पुर्याउनको लागि स्थानिय, प्रदेश र केन्द्रिय तहमा पहल गरेको छु । साथै आफनो चुनावी क्षेत्रमा भएका र देखिएका समस्यामाहरुमा बढी केन्द्रित छु ।

 

केशवहादुर परियार, पोलिटव्यूरो सदस्य, क्रान्तिकारी माओवादी
म पोखरामा छु । लकडाउन भएर घरमा बसे पनि कोरानाले पारेको प्रभाव विरुद्ध काम गरिरहेको छु । राहतवितरणमा सहभागी भएको छु । विभिन्न निकायमा हुन सक्ने अनियमितता नियन्त्रणमा सक्रिय छु । यसबारे खबरदारी पनि गरिरहेको छु । प्रदेश सरकार र स्थानिय निकायसंग समन्वय गरिरहेको छु । भोका र गरिबको आवश्यकताको आधारमा राहता वितरणको लागि पहल गरेको छु । नागरिकता नभए पनि अप्ठ्यारोमा परेकाहरुलाई राहतबाट बञ्चित हुन नदिनका लागि काम गरिरहेको छु । दलित तथा अन्य समुदायमाझ सचेतना र राहतको लागि फोनबाट काम गरिरहेकाले घरमै भए पनि व्यस्त छु ।

दुर्गा सोव, महिला अधिकारकर्मी एवं नेता समाजवादी पार्टी
कोरोनाले विश्व नै आक्रान्त छ । सरकारको निर्देशन पालना गर्दै घरभित्र बसेर विभिन्न अनलाइन बैठकमा सहभागि भइरहेको छु । कोरोना रोकथामका लागि भएका प्रयास र त्यसले गरेको असर प्रभावबारे अन्य देशका साथीहरुलाई जानकारी गराउनुका साथै आफु पनि जानकारी लिईरहेको छु । विभिन्न संजालमा सहभागि भएर महिला र बालबालिकालाई कोरोनाबारे सचेत बनाउन पहल र पैरवी गरिरहेको छु । पुरुषहरुमा यस्ता महामारीको जोखिम र असरबारे धेरथोर जानकारी भएपनि महिला र बालबालिकामा यस्ता सूचनाको पहुँच छैन । त्यसैले उनीहरुमा सचेतना फैलाउनेबारे अनलाइन बहस र छलफलमा पनि सहभागि भइरहेको छु । घरेलु हिंसा र बलात्कारजस्ता घटना व्यापक रुपमा बढीरहेका छन् । भौतिक रुपमा उपस्थित हुन नसकेपनि संघीय, प्रदेश र स्थानीय सरकारसँग यस्ता घटना न्युनिकरणको पहल गरिरहेको छु । विपद्को समयमा विभेद बढ्ने भएकाले यो विषयमा पनि सर्तक भएर वकालत गरिरहेको छु । लकडाउनको अवधिमा तथ्यांक संकलन एवं राहत वितरण भइरहँदा त्यो राहत पाउनु पर्ने व्यक्तिहरु सडकमा पैदल यात्रा गरिरहेका छन् । जिल्ला जिल्लामा थुप्रै अधिकारवादीहरु छन् यो विषयमा उनीहरुले पनि आवाज उठाउनु पर्ने हो । नागरिकताको समस्या मधेसमा मात्र छैन थुप्रै दलितहरु नगरिकता नलिएरै बसेका छन् । तथ्यांक संकलन गर्दा यो कुरालाई पनि ध्यान दिनुपर्छ भनेर आवाज उठाइरहको छु ।

प्रतिकृया दिनुहोस्