RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/१२/२८ गते
८७६ पटक

एजेन्सी
भारत, चैत २८
भारतमा एउटी आमाले लक डाउनमा फसेका छोरालाई घर ल्याउन स्कुटरमा १४ सय किलोमिटर यात्रा गरेकी छन्।

तेलंगनाको निजामावादकी रजिया बेगम बोडन छोरालाई ल्याउन आन्ध्रप्रदेशको नेल्लोर शहर पुगेको टाइम्स अफ इन्डियाले जनाएको छ।

स्थानीय विद्यालयमा पढाउने ५० वर्षीया रजियाले लक डाउनमा स्कुटर चलाउन प्रहरीबाट एउटा अनुमतिपत्र लिएकी थिइन्। उक्त पास बोकेर उनी गत सोमबार छोरा लिन स्कुटरमा हिँडेकी थिइन्।

बाटोमा ठाउँ ठाउँमा प्रहरीहरूले उनलाई रोक्थे। प्रहरीलाई उनी त्यही पास देखाउँथिन् र छोरालाई ल्याउन जान लागेको बताउँथिन्। उनको कुरा सुनेपछि प्रहरी बाटो छोडिदिन्थे। यो कठिन थिएन’, छोरालाई ल्याएर गृहनगर आइपुगेपछि रजियाले संवाददाताहरूसँग भनिन्।

डक्टर बन्ने लक्ष्य बोकेका उनका छोरा १७ वर्षीय निजामुदिन हैदरावादमा तयारीका लागि कोचिङ एकडेमीमा भर्ना भएका थिए।

सँगै पढ्ने साथीका बाबु बिरामी परेपछि निजामुदिन साथीसँगै गत महिना मार्च १२ मा नेल्लोर पुगेका थिए।

केही समय उनी त्यहीँ बसे। मार्च २५ देखि भारतमा लक डाउन घोषणा भएपछि निजामुदिन फर्कन पाएनन्, उतै अड्किए।छोरा अड्केपछि लक डाउनको समयमा रजियाको मन मानेन र उनी छोरा लिन जाने निर्णयमा पुगिन्।

त्यसका लागि उनले बोधनका एक प्रहरी अधिकारीको सहयोग मागिन्। ती प्रहरी अधिकारीले उनलाई आवश्यक अनुमति दिलाइदिएपछि उनी एक्लै स्कुटरमा सात सय किलोमिटर लामो यात्रामा हिँडेकी थिइन्।

‘वनको बाटो हुँदै पनि यात्रा गर्नुपर्‍यो तर मलाई केहीको डर थिएन,’ रजियाले यात्रा अनुभव सुनाउँदै भनिन्, ‘मेरो चाहना नै छोरालाई कुनै पनि हालतमा फिर्ता ल्याउनु थियो।’

घरबाट हिँडेको दुई दिनपछि उनी छोरा ल्याएर सकुशल घर आइपुगेकी हुन्।

प्रतिकृया दिनुहोस्