RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/११/१८ गते
३९०२ पटक
बुटवल

दलित समुदायभित्र पनि जातीय भेदभाव हुने गरेको प्रसंग बेला बेलामा उठ्ने गर्दछ ।

कथित दलित र गैरदलितविचको जस्तो चरम विभेद नभएपनि नेपालमा विवाह जस्ता साँस्कृतिक सम्बन्ध कायम गर्न भने त्यति सहज देखिदैन । तर, रुपन्देहीको तिलोत्तमा नगरपालिकामा भने दलितभित्र पनि अन्तरजातीय विवाह गरेर एक जोडीले विभेद विरुद्धको अभियानमा सामेल गराएका छन् ।

तिलोत्तमा ७ करैया बर्गदुहवाका २९ वर्षिय सुर बुढाप्रिथि (परियार) र बिमला बौडेल(नेपाली) विच मागी विवाह भएको छ । दलितभित्र जातीय भेदभाव छैन भन्ने सन्देश दिनका लागि दुवै परिवारले मागी विवाह सम्पन्न गरेका हुन ।

मुक्ति समाजका नेता समेत रहेका जंगबहादुर बुढाप्रिथीले आफ्नो छोराको विवाहलाई साँस्कृतिक परिवर्तनको एउटा अभियानकै रुपमा लिएका छन् । केटीपक्षका तर्फबाट पनि सहज रुपमा स्विकार गरि विवाह सम्पन्न भएको हो । दलित भित्रै विभेद छ भनेर अरुले औला तेर्साउने गरेकाले त्यसको शुरुवात गर्न पाएकोमा केटीका वुवा नन्द बहादुर बौडेलले बताए ।

पछिल्लो समय समाज परिवतर्न हुँदै गएको बेला यस्तो विवाह हुँदा विभेद अन्त्यमा पनि सहयोग पुग्ने विश्वास गरिएको छ । बेहुला सुरज बुढाप्रिथीले पारिवारिक सहमती अनुसार विवाह भएको भन्दै समाजमा रहेको विभेद अन्त्यमा सहयोग गर्ने बताए ।

दुवै पक्षमा सर्वस्विकार्य रुपमा विवाह भएको थियो । नेपाली समाजमा जातीय विभेदको श्रृखला प्रत्येक जातीमा रहेकाले त्यसलाई चिर्न यस्ता अन्तरजातीय विवाह सफल हुने तिलोत्तमा नगरपालिकाका प्रवत्ता सुरेन्द्र श्रीले बताए ।

उनले अहिलेका यूवा पुस्ताले कुनै पनि खालको विभेदको सोँच राख्न नहुने भन्दै साँस्ृकतिक रुपान्तरणले मात्रै दलित समुदायमाथि भएको अपमान र विभेद अन्त्य गर्न सकिने बताए ।

उक्त विवाहमा दलित नेताहरु लक्ष्मण नेपाली, एचवि रम्तेल, खड्क दर्नाल, जुद्ध विश्वकर्मा, सुरेन्द्र श्री, लक्ष्मण परियार, लोक बहादुर नेपाली लगायतका नेताहरुको समेत सहभागिता थियो । विवाह फागनु १४ गते भएको थियो ।

प्रतिकृया दिनुहोस्