RaraNews

जागरण मिडिया प्रकाशित : २०७४/९/१८ गते
२०५२ पटक

काठमाडौं । 

वाम गठबन्धनको सानो घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकीकरणपूर्व नै नेकपा एमालेभित्र बहुमतमा रहेका छन् । अब बन्ने सरकारको प्रधानमन्त्री पदमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रस्ताव गरेका प्रचण्डले एकीकरणका क्रममा पार्टी अध्यक्षमा दाबी गरेका छन् ।

ओलीले प्रचण्डलाई आफूपछिको वरियतामा राखी पार्टी एकीकरणको प्रस्ताव अघि सारेपनि त्यसलाई प्रचण्डले अस्वीकार गरेका छन् । ‘प्रधानमन्त्री पद माओवादीले नपाएको खण्डमा पार्टी अध्यक्ष पाउनुपर्छ भन्ने दाबी हो, अहिले प्रचण्ड प्रधानमन्त्रीका लागि लालयित हुनुहुन्न ।’, प्रचण्ड सचिवालय स्रोतले भन्यो,‘नत्र पार्टी एकीकरण गर्नुको अर्थ रहँदैन ।’
माओवादीले सरकार र पार्टीको नेतृत्वमध्ये एक आफूले पाउनुपर्ने धारणा राख्दै आएको छ । नेताहरूका अनुसार यसविषयमा विभिन्न विकल्पमा अहिले छलफल भइरहेका छन् ।

माओवादी केन्द्रका नेताहरूले निर्वाचनमा नेपाली जनताले एमाले र माओवादीबीच हुने एकतालाई मतदान गरेको भन्दै दुवै पार्टीका तलदेखि माथिसम्मका नेताहरूको शक्ति बाँडफाँट प्रभावकारी हुनुपर्ने माग राख्दै आएको छ । तर प्रचण्डले पार्टीको अध्यक्ष पद पाए अन्य पदमा सम्झौता गरेरै पनि अघि बढ्नसक्ने संकेत देखाएका छन् भने सत्ता समिकरणमा भने सन्तुलन कायम राख्नुपर्ने प्रस्ताव अघि राखेका छन् । ‘पार्टी एकताका लागि सिद्धान्त विचारधारा मिलिसकेपछि नेतृत्व प्रणालीमा पनि मिल्नुपर्दछ । पावर सेयरिङ प्रमुख नेताहरूदेखि अन्य नेताहरूको पनि माथिदेखि तलसम्म मिलाउनुपर्छ । अनि प्रभावकारी एकीकरण हुन्छ’, माओवादी नेता गिरीराजमणि पोखरेलले भने,‘सरकार एमाले नेतृत्वले लिए पार्टीको नेतृत्व प्रचण्डले स्वभाविक रूपमा पाउनुपर्छ ।’

त्यसो त एमालेभित्र पनि प्रचण्डलाई पार्टी अध्यक्ष मान्नका लागि वरिष्ठ तहका नेता तयार रहेका छन् । वरिष्ठ नेता झलनाथ खनालले ओली प्रधानमन्त्री हुन गए पार्टीको अध्यक्ष प्रचण्डले पाउनुपर्ने बताएका छन् । अर्का नेता माधवकुमार नेपालले प्रचण्डलाई पार्टी नेतृत्व दिनसक्ने संकेत देखाइसकेका छन् ।

एकीकरणका मियोँ बनेका एमाले उपाध्यक्ष बामदेव गौतमले प्रचण्डलाई अध्यक्ष स्वीकार गरी अघि बढ्नुपर्ने बताइसकेका छन् । यस हिसावले पार्टीभित्र रहेका ओलीका प्रतिपक्षी र ओलीका मुख्य समर्थक गौतमले पनि प्रचण्डलाई नै मान्ने भएपछि एकीकरणपूर्व नै प्रचण्ड एमालेको बहुमतमा उभिएका छन् ।

अग्नी सापकोटाले पार्टी एकताबाट दुवै पार्टी पछाडि फर्कन नहुने भन्दै पदको विषयमा एकताबारे कसैलाई पनि शंका नगर्न आग्रह गरे । एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता संयोजन समितिको बैठक लामो समयसम्म बस्न सकिरहेको छैन । भर्खरै सम्पन्न भएको चुनावी परिणाममाथि छलफल र एजेण्डा तय नहुँदा बैठक बस्न नसकेको हो ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टी एकताको लागि एजेन्डा तय नहुँदा पार्टी एकता संयोजन समितिको बैठक बस्न नसकेको बताए । तर नेतृत्व बाँडफाँटको विषयमा नै ओली खुलस्त नहुँदा यो समस्या आएको बताइएको छ । पछिल्लो पटक ओली निकटका नेता शंकर पोखरेलले पार्टी नेतृत्व संयुक्त हुने नयाँ कार्ड फ्याँकेका छन् ।

जनप्रहार साप्ताहिकका अनुसार अध्यक्ष ओली भए त्यसमा सहअध्यक्षका रूपमा प्रचण्डलाई नेतृत्वले स्वीकार्नसक्ने उनको संकेत थियो । तर, प्रचण्डले सहायक भुमिका भन्दा पनि कार्यकारी पद नै खोजिरहेका छन् । उनले भने,‘दुई कार्यकारी मध्ये एक माओवादीले पाउनुपर्छ ।’ यसको अर्थ एमालेलाई सरकारमा पठाएको खण्डमा पार्टी अध्यक्षको जिम्मा प्रचण्डले नै पाउनुपर्ने हो । पार्टीको नेतृत्व नत्यागे ओलीले प्रधानमन्त्रीमा प्रचण्डलाई अघि सार्नुपर्ने संकेत देखिएको छ ।

साभार- उज्यालोनेपाल

प्रतिकृया दिनुहोस्