RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/९/१८ गते
११९३ पटक

काठमाडौँ – प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव डिल्लीराज घिमिरेले पाँचौँ राष्ट्रिय मानव अधिकार कार्ययोजनामा छुटेका दलित सवाललाई सम्बोधन गरिने बताउनुभएको छ ।

दलित गैरसरकारी संस्था महासंघका कार्यवाहक अध्यक्ष भक्त विश्वकर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले पेश गरेको टिप्पणी तथा सुझावमाथि बोल्दै उहाँले यस्तो प्रतिवद्धता जनाउनुभएको हो ।

गएको मंसिर १६ गते मानव अधिकार महाशाखाका सहसचिव कोशलचन्द्र सुवेदीको उपस्थितिमा भएको परामर्श गोष्ठीमा उठेका सवाल तथा सुझावलाई समेटेर नागरिक समाजको तर्फबाट दलित गैरसरकारी संस्था महासंघले सो सुझाव तथा टिप्पणी तयार पारेको थियो ।
सुझाव तथा टिप्पणीमा दलित, महिला, यौनिक अल्पसंख्यक तथा समग्र मानव अधिकारको विषयहरु समेटिएको दलित गैरसरकारी संस्था महासंघले जनाएको छ ।

प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्रीपरिषद कार्यालयका सचिव घिमिरेले सो कार्ययोजना सम्बन्धित मन्त्रालयले कार्यान्वयन गर्न सक्ने र मिल्ने गरि सुझाव राख्न अनुरोध गर्नुभएको थियो ।

प्रतिनिधिमण्डलका सदस्य तथा दलित गैरसरकारी संस्था माहासंघका सल्लाहकार हिरा विश्वकर्माले सुझावमा समेटिएका कुराहरुको बारेमा जानकारी गराउनुभएको थियो ।

महासंघका कार्यवाहक अध्यक्ष भक्त विश्वकर्माले छुवाछुत र त्योबाट सिर्जित समस्याहरुको निराकरण गर्नु पर्ने कुरामा जोड दिनुभयो ।

डिएनएफले प्रस्तुत गरेको सो सुझाव कार्ययोजनामा समाहित गर्नका लागि सचिव घिमिरेले प्रधानमन्त्री कार्यालयका सहसचिव कोशलचन्द्र सुवेदीलाई हस्तान्तरण गर्नुभयो। सुवेदीले सुझाव तथा टिप्पणीमा सुझाईएका कुराहरुलाई अध्ययन गरि सके सम्म कार्ययोजनामा समेटिने बताउनुभएको छ।

प्रतिकृया दिनुहोस्