RaraNews

शम्भु यादव प्रकाशित : २०७६/९/१४ गते
१६०३ पटक

सिरहा : गत शनिबार सिरहा नगरपालिका ६ बसपिट्टाका जमिन्दारले दलित समुदायको घर डोजर लगाएर भत्काइदिएका थिए। मध्यजाडोमा घर भत्काइदिएपछि पीडित आन्दोलित भएका छन्।

उनीहरुले दलित एकता अधिकार मञ्चको अगुवाइमा आइतबार सदरमुकाम सिरहामा र्‍याली निकालेका थिए। उनीहरूले प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी र नगरपालिकाका मेयर अशेश्वर यादवलाई ज्ञापन पत्र बुझाएका छन्।

उनीहरूले पुनः बसोबासको माग गर्दै प्रजिअमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन्। शीतलहरको समयमा घरबारविहीन बनाउने जमिन्दारलाई कारवाहीको माग पनि गरेका छन्।

वडा नम्बर १ का जमिन्दार खलकका दामोदर प्रधानाङ्गले आफ्नो बाजे लालबहादुरले राधाकृष्ण मन्दिरलाई दिएको जग्गा अतिक्रमण गरी घर बनाएको भन्दै रामजी महरा, रामवृक्ष, रिझो, फूल्चो, समतौलिया महराको घर डोजर लगाएर भत्काएका थिए।

घर भत्कापछि उनीहरूको परिवार बिच्चलीमा परेका छन्। एक हप्तादेखि पीडितले नजिकैको आँप बगैँचामा आश्रय लिएका छन्। संघसंस्थाले उपलब्ध गराएको त्रिपाल टाँगेर दिनरात जसोतसो काटिरहेका छन्।

चिसोमा त्रिपालमुनि पराल ओछ्याएर बस्दा वृद्धवृद्धा र बालबालिका बिरामी पर्न थालेका छन्।

वृद्धवृद्धा आगो बालेर रात गुजार्छन्। त्यसका लागि नगरपालिकाले ६ क्युन्टल दाउरा उपलब्ध गराएका छन्। वैकल्पिक व्यवस्था नभइ उनीहरुको घर भत्काइयो। घर भत्काएपछि दिनभर मजदुरी गर्न पनि नसकिएको पीडितको गुनासो छ। मजदुरी नभएपछि छाक टार्नसमेत समस्या भएको उनीहरू बताउँछन्।

घर भत्काउन समय दिनुस् भन्दा समेत जमिन्दारले नमानेको र पुलिससहित आएर जर्बजस्ती डोजर लगाएर घर भत्काइदिएको पीडितको गुनासो छ। ‘दुई वटा फुसको घर थियो, त्यही भए पनि जाडोमा बस्न हुन्थ्यो,’ पीडित सम्तोलिया महराले दुःखेसो पोखिन्, ‘त्यही फुसको घरलाई पनि हेर्दाहेर्दै क्षणभरमा डोजरले सखाप पारिदियो, हामी कहाँ शरण लिन जाऔँ हजुर ?’

घर भत्काउँदा किताब, कपी पुरिएपछि विद्यालय जाने बालबालिका विद्यालय जान सकेका छैनन्। यहाँ १३ जना विद्यालय जाने उमेरका बालबालिका छन्। ‘घरमै राखिएको किताब, कपी पुरियो। त्रिपालमा बाँस छ। खाने बस्ने अप्ठयारो भएपछि कसरी पढ्नु ?,’ कक्षा ६ की बबिता महराले भनिन,‘पढाइ लेखाइ चौपट भएको छ।’

जमिन्दार परिवारका संरक्षक दामोदर प्रधानाङ्गले आफ्नो निजी गुठी रहेकाले त्यहाँ (बसपिट्टा)का घर–टहरा खाली गराउन जिल्ला अदालतमा मुद्दा दिएका थिए। सोही मुद्दामा अदालतले घर–टहरा खाली गर्न फैसला गरेपछि बसपिट्टाका समतोलिया महरा, रामजी महरा, फुलचो महरा, राजकुमार महरा र रामवृक्ष महराको घरमा गत शनिबार डोजर चलाइएको थियो। अतिक्रमित जग्गा खाली गर्न अदालतमा आफूले मुद्दा दिएको र अदालतको फैसलाअनुसार खाली गर्न खोजिएको प्रधानाङ्गले बताए।

२४ कार्तिक ०७३ मा घर टहरा खाली गर्न र २१ जेठ ०७५ मा घर टहरा हटाइ चलन चलाउन जिल्ला अदालत सिरहाले फैसला गरेको छ। जिल्ला न्यायाधीशहरू देवेन्द्रराज पौडेल र तीर्थराज केसीले उक्त फैसला गरेको तहसिलदार सीताराम खड्काले जानकारी दिए।

Source – Annapurnapost

प्रतिकृया दिनुहोस्