RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/८/१९ गते
२२९० पटक

पशुधन बिमा
आकस्मिक रूपमा बाढी, पहिरो, भूकम्प, डुबान, चट्याङ, आगलागी, भू–स्खलन, हिउँ, आधिबेहरी, दुर्घटनाजस्ता कारणले पशुको मृत्यु भएमा कुल रकमको अधिकतम ९० प्रतिशत र पूर्णरूपमा स्थायी अशक्त भएमा ५० प्रतिशत रकम क्षतिपूर्ति स्वरुप दिने व्यवस्था छ । यस्तै, स्थायी रुपमा थुनिलो भएमा बिमाङ्कको ३० प्रतिशत रकम बिमकले बिमितलाई भुक्तानी दिनु पर्नेछ । तर, उक्त घटनाको जानकारी तीन दिनभित्रै दिएर आवश्यक कागजातसमेत पेस गर्नुपर्ने हुन्छ ।

यस्ता कागजातहरु सक्कल बिमा, पुर्णरुपले भरिएको दाबी फारम हुन् । पशु मरेको प्रमाणपत्र सम्बन्धित गाउँपालिका, पशुसेवा केन्द्रका प्राविधिक वा मान्यता प्राप्त पशुसेवा केन्दका प्राविधिकहरुले प्रमाणित गरेको हुनुपर्छ । साथै दुईजना छिमेकीको सरजमिन मुचुल्का पनि संलग्न हुनुपर्छ । यसको साथमा पशुधनमा बिमा कम्पनीले लगाईदिएको संकेत पट्टा पनि अनिवार्य हुन्छ ।  यस्तै, स्थायी रुपले पुर्ण रुपमा अनुत्पादक अशक्त भएको अवस्थामा जिल्ला पशु सेवा कार्यालयका प्रमुख वा उपप्रमुख वा कृषि ज्ञान केन्द्रका पशुसेवा चिकित्सकबाट प्रमाणित गराएको कागजपत्र पेश गर्नुपर्छ ।

बिमालेखका सर्तहरु
*पशुधन मालिकले बेला बेलामा आफ्ना पशुहरुलाई पशु प्राविधिकबाट चेकजाँच गर्नु पर्नेछ ।
*बिमालेखलाई निरन्तरता दिन तोकिएको बिमा शुल्क वा भुक्तानी गर्ने स्थानमा बिमा शुल्क बुझाई प्रत्येक वर्ष नविकरण गर्नु पर्नेछ ।
*संकेत पट्टा झरेमा, हराएमा तत्काल बिमा कम्पनीलाई वा बिमा अभिकर्तालाई खबर गर्नु पर्ने छ ।
*आफुले पालेका पशुधन मरेको खण्डमा किसानले बिमा कम्पनीलाई तीन दिनभित्र लिखित जानकारी दिनुपर्नेछ । सूचना दिन तत्काल सम्भव नभएको खण्डमा सम्बन्धित संस्था वा प्रतिनिधिलाई जानकारी गराउनु पर्नेछ ।
*नविकरणको हकमा प्रस्ताव फारम चाहिँदैन तर शुरुमा बिमा गर्दा प्रस्ताव फारमसंगै प्राविधिकको प्रमाणपत्र अनिवार्य रुपमा संग्लन गरेको हुनुपर्छ ।

बिमालेख रद्द हुन सक्ने अवस्था
*बिमा गरिएको पशुको उचित स्याहार नगरेको अवस्थामा बिमा गर्ने किसानलाई सात दिनभित्र सूचना दिएर बिमा लेख रद्द गर्न सकिनेछ । *बिमा गर्ने कम्पनीले त्यसको जानकारी बिमा समितिमा पन्ध्र दिनभित्र दिइसक्नु पर्नेछ ।
*बिमा गर्ने किसानले पशुधनको सम्बन्धमा सत्य, तथ्य कुरा लुकाएको, झुटा विवरण दिएको खण्डमा बिमालेख स्वतः रद्द हुनेछ ।
*बिमा अवधि समाप्त हुन बाँकी छँदै वा समाप्त नहँुदै पशु बिक्रि गरेमा वा कुनै कारणले हक छाडी हस्तान्तरण गरेमा बिमालेख रद्द हुनेछ । बिमकसंग स्विकृति गरेर लिएर बिमालेख हस्तान्तरण गर्न भने सकिनेछ ।

*बिमा शुल्क नबुझाएको र नविकरण नगरेको अवस्थामा दाबी लाग्दैन । बिमकको सहमती बिना पशुलाई जुन प्रयोजनका लागि पालेको हो सो बाहेक अन्यमा प्रगोग गरेमा दाबी लाग्दैन । बिमा गरेको बस्तुभाउलाई पहिलो पटक बिमालेख जारी भएको मितिले १५ दिनभित्र रोगका कारण मर्यो भने पनि दाबी लाग्दैन ।

पशु बिमा गर्ने किसानको दुई लाखसम्मको जीवन बिमा
किशानहरुको लागि हाम्रो यो बिमा लेखमा के व्यवस्था छ भने पशु बिमा गर्ने किसानको पनि दुई लाखसम्मको जीवन बिमा हुन्छ । तर, यो सरकारले दिने अनुदानमा भने पर्दैन । त्यसका लागि उसले ६ महिना वा एक वर्षको पशु बिमा गरेको छ भने किस्तामा थप पचास रुपँैया वा सय रुपैया तिर्नु पर्ने हुन्छ ।

पशु बीमाका लागि उमेर
बीमा गरिने गाईको उमेर दुई वर्षदेखि दश वर्षसम्म ।
राँगा–भैंसी तीन वर्षदेखि बाह्र वर्षसम्म ।
बाछी वा पाडा छ महिनादेखि दुई वर्षसम्म
भेडा–बाख्रा–बङ्गुर तीन महिनादेखि बिक्री–वितरणयोग्य नभइन्जेलसम्म ।
बहर वा साँडे प्रजननका लागि तीन वर्षदेखि बाह्र वर्षसम्म ।
सामान्यतया गाई, भैंसी पहिलो बेतबाट बीमायोग्य मानिन्छन् ।

प्रतिकृया दिनुहोस्