RaraNews

मदन गिरी प्रकाशित : २०७६/८/१८ गते
४३५२ पटक

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ भगतपुरमा दलित छात्रावास निर्माण अलपत्र परेको छ । सुदूरपश्मिाञ्चल दलित  छात्रावास समितिले शुरू गरेको छात्रावास भवनको निर्माण बजेट अभावका कारण सम्पन्न हुन सकेको छैन ।

उक्त छात्रावास भवन निर्माण २०७२ सालमै शुरू भए पनि हालसम्म पूरा हुन नसकेको समितिका अध्यक्ष हरिहर परियारले बताए । ‘जिल्लाका दलित विद्यार्थीले बेहोर्नुपरेको बसोवासको समस्यालाई दृष्टिग गरी छात्रावास बनाउन थालिएको थियो,’ उनले भने, ‘बजेट नहुँदा निर्माण सम्पन्न गर्न सकिएन ।’

छात्रावास भवन निर्माणमा विभिन्न दाताबाट सहयोग हुने आशा समितिले गरेको थियो । तर अपेक्षाकृत सहयोग नपाएपछि भवन निर्माण ठप्प भएको उनको भनाइ छ । २ वर्षभित्र निर्माण गरिसक्ने लक्ष्य लिइएको उक्त छात्रावासको भौतिक प्रगति हालसम्म करीब २५ प्रतिशत मात्र पूरा भएको छ ।

समितिले छात्रावासको दुईओटा कोठा निर्माण सम्पन्न गरेको छ भने बाँकी संरचना अधुरो छ । ४२ कोठा रहने उक्त भवन भुई तलासहित तीनतले बनाइनेछ ।

तत्कालीन जिल्ला विकास समितिले डिजाइन गरेको उक्त छात्रावास निर्माणका लागि २ करोड रुपयाँ खर्च लाग्ने अनुमान गरिएको छ । हालसम्म दाताहरूबाट ४४ लाख ५० हजार रुपैयाँ प्राप्त भएको अध्यक्ष परियारले जानकारी दिए । भवन निर्माणका लागि तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट २२ लाख, पूर्वमन्त्री रमेश लेखकको संसद् विकास कोषबाट १० लाख, सांसद तारणीदत्त चटौतको संसद् विकास कोषबाट ५ लाख र जिल्ला विकास समिति, महाकाली नगरपालिका र स्थानीय दुर्गा खुनाबाट २÷२ लाख सहयोग प्राप्त भएको छ । त्यस्तै शुक्लाफाँटा नगरपालिकाले १ लाख र भीमदत्त नगरपालिकाले ५० हजार रुपैयाँ सहयोग गरेको अध्यक्ष परियारले बताए ।  सहयोगका लागि केन्द्र, प्रदेश र स्थानीय सरकार तथा संसद लगायत सरोकारवालालाई आग्रह गरिए पनि आश्वासन मात्र पाइएको उनको गुनासो छ ।

पहाडी जिल्लाबाट अध्ययनका लागि महेन्द्रनगर आउने दलित विद्यार्थीलाई कोठा पाउन निकै समस्या हुने गरेको अध्यक्ष परियारले बताए । ‘दलित भनेपछि घरबेटीले कोठा दिन चाहँदैनन्,’ कतिपय विद्यार्थी थर खुलेपछि कोठाबाटै लेखेटिने गरेका छन् । छात्रावास निर्माणपछि दलित विद्यार्थीको आवासको समस्या धेरै हदसम्म समाधान हुनेछ ।’

समितिले छात्रावास निर्माण गरी दलित विद्यार्थीलाई न्यून शुल्क तथा निःशुल्क रूपमा आवासको व्यवस्था गरिने बताएको छ । छात्रावासको भवन निर्माणमा आर्थिक सहयोग गरिदिन समेत समितिले आग्रह गरेको छ ।

Source – Aarthik Abhiyan

 

प्रतिकृया दिनुहोस्