RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/८/९ गते
१३६२ पटक

प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले दलित समुदायबारे प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि सङ्घर्ष गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय दलित पत्रकार सङ्घ, नेपाल प्रदेश नं ३ को प्रथम भेलाको यहाँ आज उद्घाटन कार्यक्रममा मन्त्री जम्मकट्टेलले लामो सङ्घर्षबाट प्राप्त समानुपातिक र समावेशीताको विकल्प नभएको भन्दै त्यसको रक्षाका लागि सबैलाई आग्रह गरे ।

उनले भने,“समृद्ध नेपाल निर्माणका लागि दलित समुदायले लामो समयदेखि भोग्दै आएको जातीय भेदभाव तथा छुवाछुतको समस्यालाई आर्थिक र राजनीतिक सहभागितासँग जोडेर एकीकृतरूपमा समाधान खोजिनुपर्छ ।” मन्त्री जम्मकट्टेलले दलित समुदायको पत्रकारका लागि प्रदेश सरकार र व्यक्तिगतरूपमा सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

प्रदेश नं ३ का प्रदेशसभा सदस्य कल्पना नेपालीले मूलधारका मिडियाले वास्तविक आवाजविहीनको आवाजलाई समेट्न नसकेको भन्दै गुनासो गरिन् । सङ्घका अध्यक्ष विनोद पहाडीले अधिकांश दलित समुदाय अझैपनि सूचनाको हकबाट वञ्चित हुनुपरेको सन्दर्भमा सङ्घको स्थापना गर्नुपरेको प्रस्ट पारे ।

“दलित पत्रकारमाथि अन्याय हुँदा उसैलाई मात्रै दुखेको हुन्छ, आफनो आवाज आफँैले उठाउनुपर्छ, त्यसैले पनि सङ्घको आवश्यकता महसुस गरी स्थापना गरिएको हो” उनले भने,“यसले सबै सङ्घसंस्थासँग एकाकार भएर काम गर्नेछ ।” । उनले सङ्घले दलित समुदायका पत्रकारका लागि जीवन बीमा र कल्याणकारी कोषको समेत स्थापना गर्ने तयारी गरेको जानकारी दिए ।

नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले महासङ्घ हरेक हिसाबले समावेशी भए पनि लक्षित समुदायले लाभ लिन नसक्नु चिन्तको विषय भएको बताए । उनले महासङ्घ दलित समुदायका पत्रकारसँग सहकार्य गरेर अगाडि बढ्नेसमेत प्रतिबद्धता व्यक्त गरे ।

दलित नेता तथा अधिकारकर्मी गणेश विक, मोतीलाल नेपाली, भक्त विश्वकर्मा, जेवी विश्वकर्मा, सङ्घका उपाध्यक्ष तथा नेपाल पत्रकार महासङ्घका केन्द्रिय सदस्य गोपाल बराइली, नेवा पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरजवीर बज्राचार्य, मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह, प्रगतिशील पत्रकार सङ्घ नेपालका अध्यक्ष नाराणय शर्मा, प्रदेश नं ३ का प्रेस रजिस्ट्रार रेवती सापकोटा र सङ्घका प्रदेश नं ३ का इन्चार्ज भीम घिमिरेलगायतले सञ्चारमाध्यममा विषयवस्तु र सहभागिताको हिसाबले समावेशी हुनुपर्नेमा जोड दिएका थिए ।

दलित समुदायका पत्रकारलाई सङ्गठित गर्दै उनीहरुको अधिकारका लागि विसं २०६७ मा स्थापित सङ्घले दलित आन्दोलन र पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुयाउने तीन दलित नेताको नाममा पत्रकारिता पुरस्कारसमेत स्थापना गरेको छ । सङ्घको हालै सम्पन्न बैठकले लामो समय आन्दोलनमा सक्रिय नेता एवं लेखक÷पत्रकार टिआर विश्वकर्माको सम्मानमा टिआर विश्वकर्मा स्मृति पत्रकारिता पुरस्कार स्थापना गरेको छ ।

सङ्घले राणाशासनविरुद्ध आन्दोलन चलिरहँदा कुचीकारको काम गर्दै कारागारबाट गणेशमान सिंहलगायत नेताको चिठी आदानप्रदान गर्ने राममाया च्यामेको सम्मानमा ‘राममाया च्यामे लोकपत्रकारिता पुरस्कार’ समेत स्थापना गरेको अध्यक्ष पहाडीले जानकारी दिए ।

त्यसैगरी सङ्घले ‘देवव्रत परियार स्मृति राष्ट्रिय पुरस्कार’ समेत स्थापना गरेको छ । दलित अधिकारकारकर्मी डा विष्णुमाया परियारले आफ्ना पिता रुपबहादुर परियारको नाममा रु. २० हजार राशिको पुरस्कार घोषणा गर्नुभएको छ । त्यसैगरी जातिभेद विरुद्ध विश्वमञ्चका अध्यक्ष तीर्थ बर्माले पनि रु. १० हजार राशिको पुरस्कारको घोषणा गरेका छन् । भेलाले प्रदेश नं ३ को अध्यक्ष र उपत्यका संयोजकको टुङ्गो लगाउने छ । सङ्घ देशभर क्रियाशील करिब एक हजार २०० दलित समुदायका पत्रकारको छाता सङ्गठन हो ।

यस्तै, राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालको प्रदेश नं ३ को अध्यक्षमा गोरखापत्र दैनिकका सिन्धुपाल्चोक संवाददाता चित्र मिजार निर्वाचित भएका छन् ।

सङ्घको आइतबार सम्पन्न प्रदेश नं ३ को प्रथम भेलाले मिजारको अध्यक्षमा १७ सदस्यीय प्रदेश समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा कमल विश्वकर्मा (मकवानपुर), सचिवमा वसन्त परियार (धादिङ), सहसचिव सरोज उपरकोटी (चितवन) र कोषाध्यक्षमा शर्मिला विश्वकर्मा (काठमाडौँ)लाई चयन गरिएको छ । सदस्यमा भोजराज विश्वकर्मा, सीताराम बयलकोटी, विश्वास नेपाली, रामचन्द्र रम्तेल, गम्भीर विक, सङ्गम दर्जी, सुशीला विक, अशोक परियार, सन्दीप सुन्दास, निर्मला नेपाली र श्याम रोक्का चयन भएका छन् ।

त्यसैगरी भेलाले सङ्घको काठमाडौँ उपत्यका कमिटीको अध्यक्षमा राष्ट्रिय समाचार समितिका सुशील दर्नाललाई चयन गरेको छ । उपाध्यक्षमा गणेश विक, सचिव सन्दिप विश्वकर्मा, सहसचिव निरोज तालागङ्गी, कोषाध्यक्ष सुशीला विश्वकर्मा तथा सदस्यहरुमा पवन बराइली, देवेन्द्र रसाइली, शोभा नेपाली, वीरेन्द्र जैरु, अर्जुनसिंह भुल, मुकेश रोक्का र अनिल सुनाम परियारलाई चयन गरिएको छ । राष्ट्रिय दलिल पत्रकार सङ्घ, नेपालका अध्यक्ष विनोद पहाडीले दलित समुदायका पत्रकारलाई सङ्गठित गर्दै उनीहरुको अधिकारका लागि २०६७ मा संस्था स्थापना गरिएको जानकारी दिए।

प्रतिकृया दिनुहोस्