RaraNews

गोपाल भण्डारी प्रकाशित : २०७६/८/५ गते
९८७ पटक

कपिलवस्तु : शिवराज नगरपालिका ५ को चन्द्रौटामा पूजा गर्न गएका पूजारीहरु ‘दलितको घर’ भन्ने थाहा पाएपछि पूजा मण्डप नै छाडेर भागेका छन् ।

चन्द्रौटा बजारमा स्थानीय मिलन विश्वकर्माले निर्माण गरेको नयाँ घरको पूजा, रुद्री, सत्यनारायण पूजा लगायत कर्मका लागि निम्त्याइएका पूजारीहरु भीमप्रसाद आचार्य र गोविन्द भट्टराई उक्त घरका घरमालिक दलित भएको थाहा पाएपछि पूजा स्थलबाट ‘एकै छिनमा आउने’ बाहाना बनाएर भागेका हुन् ।

पूजाका लागि घर मालिक मिलन विश्वकर्माले घर चिटिक्क पारेका थिए । आगनमा फूलमाला र पताकाले सिंगारिएको पूजा मण्डप बनाइएको थियो । पूजाका लागि आफन्तजन, ईष्टमित्र बिहानैबाट जुट्दै थिए । तर करिब १० बजे पूजा सुरु गर्न लागेपछि मिलन दलित भएको थाहा पाएपछि पूजारीहरु भागेको स्थानीयले बताएका छन् ।

पूजा गर्न आएका पूजारी मण्डपबाट भागेपछि पूजाको कार्यक्रम एक घण्टा रोकिएको थियो । पूर्व निर्धारित निमन्त्रणा गरिएका पूजारीहरुल भीमप्रसाद र गोविन्द भागेपछि अर्को पूजारी बोलाइ पूजा कार्य अघि बढाइएको थियो ।

दलित भएकै कारण आफूहरुमाथि पूजारीबाट भएको यो हर्कतले निकै दुखी भएको मिलनले प्रतिक्रिया दिए । ‘जातीय छुवाछुतको आधारमा ममाथि भएको यस्तो घटना विरुद्धमा म कानुनी उपचारका लागि अघि बढ्छु,’ उनले भने ।

नेताले नै गुपचुप राखे

घटना शनिबारको भए पनि गोप्य राखिएको यो घटना मंगलबार मात्रै बाहिरिएको हो । चन्द्रौटाका राजनीतिक दलका स्थानीय नेताहरु र अगुवाले घटनालाई साम्य पार्न घटना गुपचुप नै राखेका थिए ।

पूजारीबाट माफी मगाएर घटनालाई मिलाउन स्थानीय अगुवाहरु लागिपरेका छन् । यस सम्बन्धमा इलाका प्रहरी कार्यालय चन्द्रौटा र जिल्ला प्रहरी कार्यालय तौलिहवाले भने कुनै उजुरी नआएको जनाएका छन् ।

Source – Annapurnapost

प्रतिकृया दिनुहोस्