RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/७/२५ गते
१५८३ पटक

प्युठान– लामो समयदेखि घर परिवारबाट पीडित रहेको भन्दै एक महिलाले जिल्ला प्रहरी कार्यालय प्यूठानमा जाहेरी दिएकी छन् । सरुमारानी गाउँपालिका ५ बिरिङकोटकी २४ वर्षीया शुसिला खाम्चा (कामी)ले अन्तरजातीय विबाहको कारण अपहेलित हुनुपरेको र घर छाड्न बाध्य बनाइएको भन्दै प्रहरीमा जाहेरी दिएकी हुन् । उनले ६० वर्षीय ससुरा मतिराम खाम्चा, ५६ वर्षीया सासु जिवा खाम्चा र २६ वर्षीय पति चित्र बहादुर खाम्चाविरुद्ध शुक्रबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी हुन् ।

चित्र बहादुर र शुशिलाले २०६९ साल कार्तिकमा सामाजिक परम्परा अनुसार विवाह गरेका थिए । प्रेम विवाह गरेकी शुशिला र चित्र बहादुरका एक सन्तानसमेत छन् । विवाहको केही समयपछि सासु, ससुरा र पतिले दलितको छोरी भन्दै विभिन्न लान्छाना लगाई गाली बेइज्जत गरेर घर निकाला गरेपछि आफु माइतीको शरणमा बस्दै आएको उनले बताइन् ।

‘कमिनी घर पस्न आएकी भनी घर निकाला गरे,’ शुसिलाले भनिन, ‘दिनहुँ मानसिक यातना भोगेँ ।’ घरपरिवारबाट आफूले मानसिक तनाव बेहोर्दै आएपछि जाहेरी दिन बाध्य भएको उनले बताइन ।

शुशिलाले प्रहरीमा दिएको जाहेरीको आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पीडितले शुक्रबार जातीय भेदभाव तथा छुवाछुत सम्बन्धि उजुरी प्रहरीमा दर्ता गराएपछि जिल्ला प्रहरीका कार्यलय प्यूठानका प्रहरी निरीक्षक लोकेन्द्र जिसीले शुशिलाको श्रीमान्, सासु र ससुरालाई पक्राउ गरेको बताए । ‘हामीले सम्बन्धित व्यक्तीलाई पक्राउ गरि आवश्यक अनुसन्धान थालेका छौं,’ उनले भने, ‘अनुसन्धानपछि उनीहरुलाई कानुनी सजाय हुन्छ।’

Source – Farakdhar

प्रतिकृया दिनुहोस्