RaraNews

‘सानो जातकी भएर ठूलो बन्न नखोज !’

दलित महिला जनप्रतिनिधिको बयान

अञ्जली गोतामे प्रकाशित : २०७६/७/२५ गते
१६६३ पटक

बुटवल उप–महानगरपालिका वडा नं १५ उजेलापुर उपल्लो भाटा । साँझ ७ः३० बजे । डम्म कुइरोले ढाकेको रात एकदम जाडो थियो । सिमसिम पानी परेको र हल्का हावा चलिरहेको थियो । कठ्यांग्रिने जाडो भएर के गर्नु, केटाकेटीलाई खुवाउनै प-यो । दुबै छोरा भोकले आत्तिरहेका थिए । छिटोछिटो खाना बनाएर खुवाएँ ।

खाना खाइवरी सुत्ने कोठातर्फ बढदै थियौं, अकस्मात नजिकैको घरमा रोएको आवाज सुनियो । रोएको आवाज आएको घरसँग मितेरी साइनोको थियो । एकछिनपछि चिच्याइचिच्याइ रोएको आवाज आएपछि लाग्यो, के भएछ ? किन होला रोएको ? आफ्नै मनलाई सम्झाउँदै भनें, ‘घरायसी झगडा होला, अलिअलि ठाकठुक त जसको घरमा पनि भइहाल्छ नि ।’ म छोराहरूभएको कोठातिर लागें र उनीहरूसँग टि.भी हेर्न थालें । रोएको दिशातिरबाट झन् बढी आवाज आइरह्यो, त्यसपछि सुन्दै बस्न सकिन । आवाज आएतिर दौड्दै पुगें ।

रुवाबासी भएको घर रविको कान्छा बाको थियो । त्यहाँ त दाइले बहिनीलाई कुटिरहेको थियो । म र अरु छिमेकीले रविको कान्छा बाको छोरालाई छुट्टयाउँदै भन्यौ, “भान्जा, यसरी बहिनीलाई कुट्नु हुँदैन ।” घरकी दिदीलाई सोधें, “दिदी के कारणले कुटेको हो नी ?” उनले ठाडो जवाफ दिइन्, “खोइ किन कुटेछ !”

मैले फेरि आशा भान्जीलाई सोधें । “मैले मुबाइल चलाएको थिएँ, दाइले किन मुबाइल चलाइस् भनेर एक्कासी कुटेको हो”, भान्जी फेरि रुन थालिन् ।

भेला भएका सबैले आशालाई कुट्ने उनका दाइलाई सम्झायौं, “यसरी बहिनीमाथि हात हाल्नु हुँदैन, सानो गल्ती गर्दैमा पिट्नैपर्छ र ? राम्रो मुखले सम्झाई बुझाई पो गरे भो नि ।” त्यत्तिखेर आइपुगेका आशाका ठुला बाका छोरा रविले रिसाउँदै आदेश दिए, “लल सबैजना आआफ्नो घर–घर जानी ! केको रमाइलो हो ?”

हामी घरतिर लाग्दै गर्दा उनले आशाका दाइलाई घरभित्र लगेर कराउन थाले, “तेरो पारा के हो ? दुनियाँको अगाडि तमाशा देखाउने !” त्यति बेला मेरो मुखबाट निस्कियो, “किन त्यस्तो भन्ने भान्जा ? हामी दुनियाँ होइनौ नि ! हामी सबै एउटै गाउँका साथीभाइ, दिदीबहिनी, इस्टमित्र हौ । हजुरहरूलाई दुःख पर्दा हामी अनि हाम्लाई पर्दा हजुरहरू । हामी आएकाले रिसाउनु भएको हो ?” उनी त झन् रिसाए अनि आमाचकारी गाली गरे ।
“किन हामीलाई बिना गल्ती गालीगलौज गर्नुहुन्छ ? आखिर जो जति नै उफ्रे पनि सबै जमिनमै हो बस्ने ,”

त्यसपछि उनले एक्कासी छातीमै हाने र धकेलिदिए । म एकछिन रनाहामा परें । तैपनि शान्त भई भनें, “मुखले भन्दाभन्दै किन हात चलाउनुभयो ? हजुरलाई आफ्नै भान्जा मानेकी थिएँ, तर हजुरले किन मलाई हात हाल्नु भयो ? के सोचेर हात हाल्नुभयो ?” यति भन्दानभन्दै म रुन थालें । म रोएको सुनेर मेरा भान्जा र आमाजु पनि आए । त्यसपछि बेस्सरी झगडा नै भयो ।

रवि र आशाको परिवारले मिलेर हामीलाई लात्तैलात्ताले हाने । “तैंले जितेर के गरिस् ? तँलाई कसले साथ दिन्छन् र ? तँ सार्कीको जात नै हो, हाम्रो पिढिमा पनि आउनु हुँदैन, किन आइस् हाम्रो पिढिमा ?”
रविले गरेको अपमान सहन सकिन । मैले भनें, “हामी सार्की भएर हजुरहरूलाई के गरेका छौं र ? भोलि काम पर्दा त हामी नै चाहिन्छ होला नि !”
“साला, धेरै नबोल, राँडीको छोरी, रन्डी । सार्कीको जात यस्तै होस् । सानो जात भएर ठूलो बन्न नखोज ।”

छोराहरूका बाउ एक दिनअघि मात्रै बाग्लुङ्ग गएका थिए । घरमा चिचिला छोरा र भान्जा मात्रै थिए । सोचेँ, उसँग कराएर जित्न नै सकिन्छ, नत लडेरै । कस्तो विडम्बना, अरुलाई सहयता दिन गएँ, आफै असहाय भएँ । म जनप्रतिनिधि भएकोमा उनीहरूलाई साह्रै रिस पो रहेछ । दलित जनप्रतिनिधिमा निर्बाचित भएकोमा झनै इर्श्या रहेछ ।

मन नमिठो गरी दुख्यो, दलित जनप्रतिनिधि हुनु पनि केवल अर्काको गाली र तिरस्कार खान मात्रै रहेछ कि । आफू जनप्रतिनिधि भएकोमा पनि धिक्कारजस्तै लाग्यो । हामी सार्की भएर किन जन्मेछौ ? सार्की भएर जन्मिनु गल्ती हो र ? सार्कीको नाम र इज्जत छैन र ? आखिर किन यो समाजले अझै पनि दलितलाई घृणा गर्छ । हामीले सधै अरुको पैतालामुनि चेपिएर बाँच्नुपर्ने हो ?

आशाको ठुलाबाका छोरा कराइरहे रातको १२ बजेसम्म । मैले झगडाका केही दृश्य मोबाइलमा रेकर्ड गरें । घर फर्केपछि वडाध्यक्षलाई फोन गरेर भनें, “दाइ, आज मलाई रविले मुखमा आको नानाथरी गालीगलौज गर्दै हात नै हाल्यो । हुन त गाउघरको सानै कुरा हो, तैपनि असाध्यै नै ग¥यो, म के गरुँ ?”
वडाध्यक्ष दाइले सल्लाह दिए, “तिम्रो इच्छा ! के गर्दा ठीक लाग्छ गर ! तिम्रो मन कसरी हल्का हुन्छ त्यै गर ।” अपमानले गर्दा मन थाम्नै सकिन । मुटु सोहरिएर फुटलाजस्तै भयो । घरीघरी रोएँ । निद्रा नै लागेन । रात

काट्न साह्रै गाह्रो भयो । कति बेला उज्यालो होला, कतिन्जेल न्याय पाउने होला, चिन्ता भइरह्यो ।

बिहान ६ बजे नै उठेर वडाध्यक्षको घरमा गएँ । मनको पीडा पोखें, सबै घटना सुनाएँ । टोलका अध्यक्षलगायत पार्टीका नेता कार्यकर्तालाई पनि भनें । उनीहरूकै सरसल्लाहमा उजुरी दिने निर्णय भयो । घटनाको भोलिपल्ट माघ संक्रान्ति परेको थियो, मेरो लागि चाडको खुसीभन्दा अपमानको पीडा बेसी थियो । माघे संक्रान्ति मेरो लागि दुःखलाग्दो चाडमा परिणत भयो । वर्षमा एक पटक आउने चाड पनि राम्रोसँग मनाउन पाइन । माईत गएर रमाइलो गर्ने बेलामा रन्यौरा प्रहरी चौकीमा पो जानुप-यो ।

जीवनमा कहिले पनि चौकी जानु परेको थिएन, तर के गर्नु आफैमाथि आइलागेपछि त जे पनि गर्नुपर्ने रहेछ । चौकी पुगेपछि गेटमा बस्ने पुलिसलाई सोधें, “केस दर्ता गर्ने ठाउँ कतापट्टि हो ?”

गेटको पुलिसले भित्र गएर सोध्नु भनेपछि पसें । भित्रको कोठामा एउटी महिला रहिछन् । उनलाई भनें, “मेडम, म अन्यायमा परें, न्याय चाहियो ।” उनले सोधिन्, “के भएको हो ?”

“छिमेकी रविले जात छोएर गालीगलौज ग¥यो । त्यति मात्र होइन, मलाई र मेरो आमाजुलाई हातसम्म हाल्यो । म जनप्रतिनिधि पनि हो, मलाई त यस्तो व्यवहार गर्नेले भोलि अरुलाई पनि गर्न सक्छ । त्यसैले म केस गर्न भनी आएको ।”

“सईसाब बाहिर जानुभएको छ । म नै हो महिला हिंसाको संयोजक । हजुरले एउटा निवेदन लेखेर वा लेखाएर लिएर आउनु । प्रक्रियामा जानुपर्छ अनि बल्ल दर्ता हुन्छ ।”

निवेदन लेख्ने ठाउँमा गएँ । लेखनदासलाई बेलिबिस्तार लगाएँ । उनले मैले भने अनुसार निवेदन लेखिदिए । निवेदन लिएर चौकीमा दर्ता गरें । मैले सोधे, “अभियुक्तलाई कहिले ल्याउनुहुन्छ मेडम ?”
उनले भनिन्, “चाडपर्वमा कैदीलाई पनि छुट दिइन्छ ! आज त हामी आउदैनौ भोलि आउँछौ ।”

अर्को दिन पनि अपयुक्तलाई समात्ने केही तरखर देखिएन । मैले प्रहरी चौकीमा फोन गरेर भनें, “मान्छे मरेर जावोस्, तर पुलिस प्रशासनलाई केही मतलव हुँदो रहेनछ हैन ?”

त्यसको १–२ घण्टापछि रविलाई प्रहरीले छोपे । प्रहरीले छोप्नुअघि उनी मेरो घरको वरिपरि नै थिए । प्रहरीले जिपमा हाल्ने बेला उनले मलाई भने, “यति सानो कुरामा पनि केस गर्ने ?”

मैले भनें, “सानो कुरा हो भनेर मुखमा आको नबोलेको भए, मलाई हात नहालेको भए म पनि सामान्य रूपमै लिन्थें । हजुरले मेरो इज्जतमाथि नै हात हाल्नु भएको छ । हामी दलित अवस्य हौ, तर कुनै खेलौना होइनौ । हजुरकी श्रीमतीलाई मेरो श्रीमानले पनि त्यस्तै व्यवहार गरेको भए हजुरले के गर्नुहुन्थ्यो ?”

त्यसपछि प्रहरीले रविलाई चौकीमा लगे । मलाई पनि चौकीमै बोलाए । चौकीमा वडाध्यक्ष, सदस्यहरूसँगै पार्टीका दाजुहरू जुटे । घटना हुँदा देख्ने र दुवै परिवारका मानिस भेला भए । प्रहरीले भने, “हजुरहरू दुई पक्षका मान्छे बसेर छलफल गर्नु, कुरा मिलेन भने हामी मिलाउने छौं ।”

छलफल हुँदा जातीय अपमानको केसमा पनि मिल्नुपर्ने कुरा आयो । पार्टीका दाइहरू, वडाध्यक्षलगायतकाले भनेको पनि मान्नैपर्ने अवस्था भयो । मिलापत्रको कुरा गर्दै उनीहरू सबैले एकै स्वरमा भने, “एक पटकका लागि छोडिदेउ, फेरि पनि यस्तै ग¥यो भनी पटके वा सार्वजनिक मुद्दा गरौंला ।”

के गर्नु, मुटुमाथि ढुङ्गा राखेर पनि मान्नैपर्ने । एक पटक त जसलाई पनि सच्चिने मौका दिनुपर्छ भन्ने लाग्यो । रविले पनि माफी माग्दै भने, “माइजू, आजबाट मैले हजुरलाई केही भन्ने छैन । कसैलाई पनि यस्तो व्यवहार कहिले पनि गर्ने छैन । हजुरहरूलाई औषधी उपचार पनि गर्छु ।”

सईले उनलाई चेतावनी दिए, “फेरि यस्तै गरिस् भने पटकेमा हालिदिन्छु ।”

अन्त्यमा मिलापत्रको कागज बनाइयो र हामी दुवै पक्षले सही ग¥यौं ।

रविले मलाई चौकीनजिकैको मेडिकलमा चेकजाँच र औषधी गराए । छातीको एक्सरे गराएँ, केही खराबी देखिएन । मुड्कीले हानेकोले छाती दुखेको थियो । छातीभन्दा बेसी मन दुखेको थियो, दुखेको मनले मिलापत्र गरें । महिलामाथि हिंसा गर्ने र जातीय अपमान गर्नेलाई सुध्रने मौका दिएर घर फर्किएँ । आशा गर्छु, अब यस्तो अपराध कसैले नगरोस् ।

Source – Ratopati

प्रतिकृया दिनुहोस्