RaraNews

बिस्नप्रसाद न्याैपाने प्रकाशित : २०७६/७/४ गते
१२१८ पटक

कालिकोट : चुल्हो छोएको निहुँमा केही वर्षअघि जुविथाका मनवीरे सुनारको हत्या भयो। थिर्पुमा धारा छोएको निहुँमा गतवर्ष एक दलितमाथि सार्वजनिक स्थलमै अभद्र व्यवहार गर्दै गाग्री तोडफोड गरियो। केही दिनअघि खाँडाचक्र नगरपालिका–६ का वडाध्यक्ष जगदीश शाहीले आफ्नो ब्रत छ, भन्दै दलित जनप्रतिनिधिहरूसँग हात मिलाउन मानेनन्।

जिल्लामा दलितमाथि जातीय विभेदका घटना बढ्दै गए पनि पीडितले भने न्याय पाउन सकेका छैनन्। अधिकांश यस्ता घटना गाउँमै मिलाउने चलनले मुद्दाको रूपमा बाहिर आउन सक्दैनन्। आर्थिक अवस्था कमजोर हुनुका साथै समाजबाट बिहिस्कृत हुने त्रासका कारण स्वयं पीडित पनि अदालतसम्म न्यायका लागि पुग्न सक्दैनन्।

जातीय विभेदका मुद्दागाउँमै बसेर छलफल गरी मिलाउने, पीडितलाई धम्की दिने, प्रलोभनमा पार्ने जस्ता कारणले जातीय विभेदका मुद्दामा अदालतमा पुगेपछि पीडित बयान फेर्न बाध्य हुन्छन्। नरहरीनाथ गाँउपालिका–१ गणेशपुरका डिल्ली कामी गएको पुस १७ गते स्थानीय चने विष्ट र नरेन्द्र विष्टद्वारा कुटिए। तर मुद्दा अदातलमा पुगेपछि स्वयं पीडित कामीले अभियुक्तसँगको मिलोमतोमा मुद्दा फिर्ता लिए।

यो मुद्दा जिल्लामै पहिलो जातीय विभेद तथा छुवाछुत अन्र्तगत दर्ता भएको थियो। मुद्दामाथि बहस चल्ने क्रममा पीडित डिल्लीले ‘जातीय विभेद सम्बन्धी प्रतिवादीहरूले कसुर गरेका होइनन्, रिसको आवेकमा मैले मुद्दा दिएको हुँ’ भन्दै बयान फेरेपछि मुद्दा अघि बढ्न सकेन। हालसम्मकै अदालतमा पुगेको एक एकमात्र जातीय विभेद सम्बन्धी घटना हो। तर गाउँमा दैनिक यस्ता विभेदका घटना भइरहन्छन्।

पीडितहरू पनि फेरी यही गाउँमै बस्नुछ, किन दुष्मनी मोल्नु भनेर मिल्न बाध्य हुन्छन्। जिल्ला न्यायधिवक्ता दिनेशकुमार रेग्मीले जातीय विभेदका मुद्दा आए पनि पीडितहरूले बयान फेरेर अभियुक्तलाई उम्काउने प्रयास गर्ने गरेको बताए। उनका अनुसार यस्ता घटनामा दोषीलाई हदैसम्मको कारबाही माग गर्दै मुद्दा अदालतमा पेश भए पनि अन्त्यमा पीडितले विभिन्न बहानामा मुद्दा फिर्ता लिने गरेका छन्।

प्रहरी प्रमुख डीएसपी श्यामबाबु ओलीयाले जातीय विभेदमा पीडितलाई न्यायिक प्रक्रियासम्म पुग्न जाने बुझेकै व्यक्तिबाट अवरोध हुने गरेको बताए। जातीय विभेदका घटनामा कानुनी प्रक्रियाबारे स्थानीयलाई जानकारी दिन आवश्यक रहेको उनको भनाइ छ। दलित अधिकारकर्मी रमेश नेपालीले जातीय विभेद तथा छुवाछुतका घटनामा पहिले मुद्दा दिने र पछि दोषीलाई उम्काउन खोज्नेलाईसमेत कारबाही गर्नुपर्ने तर्क गरे।

खाँडाचक्र नगरपालिका–४ का वडाध्यक्ष धनसिंह कामीले आफूले जनप्रतिनिधिबाटै विभेद सहनुपरेको बताए। आफूहरूले उठाएका जातीय विभेदका सवालमा अन्य जातिका जनप्रतिनिधिले वास्ता नगरेको उनको आरोप छ।

Source – Annapurnapost

प्रतिकृया दिनुहोस्