RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/६/१३ गते
१३१७ पटक

धरानः लक्ष्मी बैंकका प्रबन्धक आकाश राईले दलित समुदायका व्यक्तिहरुले उद्यम तथा व्यवसाय गर्न चाहेमा १५ लाखसम्म बिनाधितो ऋण प्रवाह गर्न सकिने बताएका छन् । दलित विकास समिति धरान उपमहानगरपालिकाद्वारा असोज ६ गते होटल नभयुगमा आयोजित उद्यमशील लगानी सुनिचितता तालिमका अवसरमा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले भने, ‘सहकारीहरुले महङ्गो ब्याजमा लगानी गर्छन तर कमर्सियल बैंकले सस्तो व्याजमा ऋण प्रवाह गर्छन् ।’

५० हजारदेखि १५ लाखसम्म बिना धितो ऋण दिन सक्ने बैंकहरुमा प्रावधान भएको बताए । व्यवसायको स्पष्ट खाका हुँदा पनि पैसाकै अभावमा पछि पर्न नहुने उनले बताए । व्यवसायका लागि सिप अनिवार्य भएकोले बिदेशबाट फर्केका वा स्वदेशमा नै रहेका इच्छुकहरुले लक्ष्मी बैंकमा सम्पर्क गर्न उनले आग्रह गरे । धेरै ठूलो रकम पनि ऋण दिन सकिने तर त्यसको लागि भने धितो आवश्यक रहेको प्रबन्धक राईले बताए ।

सुनसरी उद्योग वाणिज्य संघका संगठन सचिव एवम् बराह ग्रुप धरानका प्रमुख मानबहादुर विश्वकर्माले अहिले व्यवसाय गरेर खान्छु भन्ने जोसुकैलाई सरकारले प्रशस्त सहयोग गरेको बताएका छन् । प्रमुख अतिथिका रुपमा रहेका विश्वकर्माले साँच्चिकै उद्यम तथा व्यवसाय गर्नेहरुलाई सरकारले ऋण, अनुदान तथा अन्य प्रकारका सहयोग गरेको बताए ।

उनले भने, ‘स्पष्ट भिजन भएका र व्यवसाय गरेरै खान्छु भन्नेलाई सरकारले राम्रो लगानी गरेको छ तर अनुदान पाउने आशमा झूठो विवरण बनाउनेहरुलाई सहयोग गर्दैन ।’ नेपाल सरकारले समृद्ध नेपाल र शुखी नेपालीको नारा ल्याएको छ यो पूरा गर्नु र मुलुकमा आर्थिक क्रान्ति गर्न आवश्यक रहेको बताए । आर्थिक स्रोत राम्रो बनाउन उद्यम तथा व्यवसाय सञ्चालन गर्नुपर्ने बताउँदै कोही पनि बेरोजगार रहन नहुने तर्क गरे ।
कार्यक्रमका प्रशिक्षक मोहन श्रेष्ठले बैंकहरुले लगानी गर्ने मात्र नभई व्यवसाय सानैबाट शुरु गर्न सुझाव दिए ।

उनले भने, ‘व्यापार गरेरै खान्छु भन्ने व्यक्तिले पैसा भन्दा सिपलाई ध्यान दिनुपर्छ । आफ्नो लगानी सुरक्षित गर्न बिधि र प्रक्रियाको पालना गर्नुपर्छ । अनुशासित रुपमा नाफा नोक्सानको अवस्था अडिट राखेर सोही अनुसार व्यवसाय सञ्चालन गर्ने व्यक्ति कहिल्यै डुब्दैन तर नाफा नोक्सानको हिसाव नराख्ने व्यक्ति सफल बन्न सक्दैन । दलित समुदायका व्यक्तिहरुका आफ्नै खालको सिप छ त्यसलाई आधुनिकीकरण र व्यवस्थित बनाउनु पर्छ ।’

तालिममा सहभागि धरान १७ का बिनोद रसाइलीले आफू ४ वर्षसम्म बिदेशमा रहेर श्रम गरे पनि अहिले स्वदेशमा नै कुनै व्यवसाय गर्ने सोंचमा हुँदा आर्थिक अभाव भएको बताए । उनले आफूले सहुलियत व्याजदरमा ऋण पाए व्यवसाय गरेर स्वदेशमा नै रोजगारीको बातावरण सृजना गन सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै, धरान–८ का टिका मंग्रातिले आफुहरुलाई स्वदेशमा नै सरकारले रोजगारी दिनुपर्ने बताए । ऋण माग्दा पनि धितो खोज्ने र धितो नहुनेले पैसा नपाउँदा रोजगारी नहुने गुनासो गरे । सरकारको विभिन्न कार्यक्रम सरकारकै कर्मचारीहरुबाट लागु नभएको भन्दै सरकारले युवाहरुलाई रोजगारको वातावरण सृजना गर्नुपर्ने बताए ।

त्यस्तै धरान १३ का रामबहादुर रम्तेलले आफुसँग जुत्ता बनाउने सिप भए पनि मेसिन किन्न सक्ने आर्थिक अवस्था नभएकोले व्यवसाय अघि बढाउन नसकेको बताए । सरकारले घोषणा गरेका कार्यक्रमहरु नेता कार्यकर्तामा नै सिमित रहेकोले आम जनतामा पुग्नेगरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । यसैगरी सहभागी धरान १७ कि उषा परियारले आफुले स्टोर सञ्चालनमा ल्याएपनि सामग्रीहरु खरिद गर्न सहज नहुँदा नाफा कम भएको बताइन् । दिर्घकालिन् रुपमा सञ्चालन गर्दा दलित समुदायका व्यवसायीहरुले सहुलियत पसल सञ्चालन गर्न राजश्व तथा अन्य शुल्कमा सरकारले विशेष छुटको व्यवस्था गर्नुपर्ने माग गरिन् ।

धरान १७ कै रामकुमार पुर्कुटीले व्यवसाय सञ्चालन गर्नुपूर्व नै दर्ता गर्नुपर्ने सरकारले करमात्रै लिने तर कुनै राहत नदिएका कारण आफुहरु अन्यौलमा परेको बताए । उनले दर्ता गरेका दलित व्यवसायीहरुलाई सहुलियत सेवा दिनु पर्ने बताए । त्यसैगरी धरान १६ की उषा शंकरले दलित समुदायमा अत्याधिक बेरोजगार युवाहरुको संख्या रहेकोले रोजगारको ग्यारेन्टी गर्न तथा दलित युवाहरुलाई स्वरोजगारमुखी कार्यक्रममा सहयोग गर्न सरकारसँग माग गरेकी छन् ।

धरान उपमहानगरपालिकाका बोर्ड सदस्य तथा दलित विकास समितिका संयोजक किशोर परियारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा धरानका विभिन्न वडाबाट व्यवसायी गरिरहेका, व्यवसाय गर्न चाहने युवाहरुको अत्याधिक सहभागिता रहेको थियो भने केहि सफल व्यवसायीहरुको समेत सहभागिता रहेको थियो । दलित समुदायको आर्थिक विकासका लागि आयोजित उक्त उद्यमशील लगानी सुनिश्चितता तालिममा समितिका सदस्य डिल्लीराम शिवाले स्वागत मन्तव्य राखेका थिए भने सदस्य खगेन्द्र नेपालीले कार्यक्रम सञ्चालन गरेका थिए । धरान उपमहानगरपालिकाबाट समेत केहि रकम बिनियोजन गरेर साना उद्यमी तथा व्यवसायीलाई लगानी गर्ने तयारीस्वरुप तालिमको आयोजना गरिएको दलित विकास समितिका सदस्यसचिव तारा लामगादेले जानकारी दिएका छन् ।

Source – hamrokoshiawaz

प्रतिकृया दिनुहोस्