RaraNews

मोहन जोशी प्रकाशित : २०७६/६/१३ गते
१२७३ पटक

दलित समुदायको बाहुल्य रहेको कैलाली, गोदावरी नगरपालिकाको ओलानीमा पानीमाथि गैरदलितले रँजाइ गर्दै आएका छन्। सुदूरपश्चिम प्रदेशको सबैभन्दा सुगम मानिने उक्त क्षेत्रमा जातीय छुवाछूतले भयानक रूपमा जरो गाडेको छ। गैरदलित परिवारले नदिए दलित परिवारले पानीसमेत खान पाउँदैनन्।

उक्त क्षेत्रमा गैरदलितभन्दा दलित परिवारको जनसंख्या तीन तिहाइभन्दा बढी छ। त्यस क्षेत्रमा पिउने पानीको निक्कै अभाव छ। ओलानीमा फाटफुट धारा तथा कुवा रहे पनि तिनमाथि गैरदलित समुदायको राज चल्छ।

गोदावरी–११, ओलानीकी ५० वर्षीया पद्मा विक अहिलेको आधुनिक समाजमा पनि जातीय छुवाछूतको चपेटामा पनुपरेको गुनासो सुनाउँछिन्। आफूले थाहा पाएदेखि समाजमा जातीय छुवाछूत अन्त्य भइसक्यो भनिए पनि व्यवहारमा त्यस्तो कहिल्यै नदेखेको उनको भनाइ छ। ‘ओलानीमा पानीको निक्कै समस्या हुन्छ,’ उनले भनिन्, ‘गाउँमा बल्ल–बल्ल एक÷दुई धारा उपलब्ध छन्, ती धारामा दलित परिवारले सहजै पानी भर्न पाउँदैनन्।’ दलित बाहुल्य ओलानीमा गैरदलितले रजाइँ गर्ने गरेको उनको दुःखेसो छ।

बाहुन क्षेत्री थोरै हुँदा दलित समुदाय भने बाहुन क्षेत्रीले पानी दिए मात्रै खान पाउने गरेको विकले बताइन्। उनले भनिन्,‘गैरदलित समुदायले पानी दिए प्रयोग गर्न पाउँछौं, नत्र समस्या हुने गरेको छ।’ गाउँमा पानी दिने मानिस नभेटिए दूषित पानी प्रयोग गर्नुपर्ने बाध्यता रहेको उनले सुनाइन्। ‘चुनावका बेला नेता आएर घरघरमा धारा दिन्छांै भनेका थिए,’ उनले भनिन्,‘तर अहिलेसम्म न काम भएको छ, न नेता गाउँमै आएका छन्।’

गोदावरी नगरपालिका–१० की डम्मरादेवी जयगढीले बुढापाकाका कारण जातीय छुवाछूतले निरन्तरता पाउन थालेको बताइन्। बाहुन क्षेत्री समुदायका बुढापाका मात्र नभई दलित समुदायकै बुढापाकाले समेत छुवाछूतको परम्परालाई जगेर्ना गर्ने गरेको उनले सुनाइन्। उनले भनिन्, ‘बाहुन क्षेत्री समुदायका बुढापाकाले मात्र नभई दलित समुदायकै बुढापाकाले समेत छुवाछूतलाई प्रोत्साहन दिने खालका गतिविधि गर्ने गरेका छन्, जसले नयाँ पिँढीलाई समेत छुवाछूत गर्न सिकाएको छ।’ गैरदलित समुदायका मानिस पानी छुन पनि नदिने र घरको आसपास गए नराम्रो दृष्टिले हेर्ने गरेको उनले बताइन्। पहिलेको तुलनामा पछिल्लो समय युवा पिँढीले भने छुवाछूतलाई खासै वास्ता नगर्ने गरेको उनले उल्लेख गरिन्।

गोदावरी–११ की पार्वती विकले जातीय छुवाछूत अझै पनि कायमै रहेको जानकारी गराइन्। सबै राजनीतिक दलले विभेद नगर्ने प्रतिबद्धता गरे पनि व्यवहारमा त्यसलाई कसैले कार्यान्वयन नगरेको उनको गुनासो छ। ‘सार्वजनिक स्थलमा भाषण गर्दा सबैले जातीय विभेदमुक्त समाज बनाउँछौं भन्दै भाषण गर्छन्,’ उनले भनिन्, ‘तर व्यवहारमा त्यसो हुँदैन, जसले हामीमाथि अन्याय दोहोरिँदै आएको छ।’ आफूहरू दलित भएकै कारण गैरदलितले प्रयोग गर्ने धाराको पानी प्रयोग गर्नसमेत नपाएको उनले स्पष्ट पारिन्। उनले भनिन्, ‘दलित समुदायको मानिसले अगुवाइ गर्दा राम्रो हुँदैन भन्ने मानसिकता यहाँका गैरदलित समुदायमा अझै कायम छ।’

गोदावरी नगरपालिका–१२ की अमृता बिकले पनि जातीय छुवाछुतका कारण दलित समुदायलाई पानीको समस्या हुने गरेको सुनाइन्। अहिले दलित र गैरदलित समुदायका फरकफरक कुवा निर्माण गरिएका छन्,’ उनले भनिन्, ‘तर, धेरै दलित परिवारका अझै आफ्ना कुवा छैनन्, नजिकैका गैरदलितको कुवामा जान दिइँदैन।’ गैरदलित समुदायको कुवाबाट पानी लिन जाँदा टाढाबाट माग्नुपर्ने बाध्यता रहेको उनले सुनाइन्। पानी नखान पाएको पीडा लिएर धेरै परिवारले गुनासो गरिरहेका छन्,’ उनले भनिन्, ‘तर मुद्दा हाल्ने आँट कसैले गर्दैनन्, जसको फाइदा गैरदलितले लिने गरेका छन्।’

गोदावरी ११ का वडाध्यक्ष शिव विकले जातीय छुवाछूत अन्त्यका लागि प्रयास भइरहेको बताए। उनले जातीय छुवाछूत ऐन २०६८ बारे वडाका सवै नागरिकलाई बुझाउने गरेकाले पहिलेभन्दा अहिले धेरै नागरिक सचेत बनेका जानकारी दिए। हालसम्म जातीय छुवाछूत भएको भन्ने उजुरी भने कतैबाट नआएको उनको भनाइ छ।

Source – Nepalnews

प्रतिकृया दिनुहोस्