RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/४/२७ गते
१७२३ पटक

काठमाडौं– जातिय छुवाछुत र भेदभाव भएको भन्दै प्रहरीकहाँ उजुरी दिनेको संख्या वर्षेनी उकालो लाग्दो छ। प्रहरी प्रधानकार्यालयका अनुसार आर्थिक वर्ष ०७५/७६ मा देशभर जातिय छुवाछुत र भेदभावसँग सम्बन्धित ४५ वटा मुद्दा दर्ता भएका थिए।

यो अघिल्लो आर्थिक वर्षको तुलनामा करिब तीन गुणाले बढी हो। आर्थिक वर्ष ०७४/७५ मा जातिय छुवाछुत र भेदभावसँग सम्बन्धित मुद्दाको संख्या १७ थियो। आर्थिक वर्ष ०७०/७१ मा १६, ०७१/७२ मा १०,  ०७२/७३ मा १९ र ०७३/७४ मा २५ वटा मुद्दा जातिय छुवाछुत र भेदभावसँग सम्बन्धित थिए।

यसैगरि गत आर्थिक वर्षमा बहुविवाहका ९ सय ९८ र वालविवाहका ८८ मुद्दा दर्ता भएको प्रहरी प्रधानकार्यालयले जनाएको छ। आर्थिक वर्ष ०७४/७५ मा बहुविवाहका ६ सय २ र वालविवाहका ६२ मुद्धा दर्ता भएको थियो।

यसैगरि बोक्सी भन्दै कुटपिट गर्ने घटना पनि विगतको वर्षकै हाराहारीमा रहे। गत आर्थिक वर्षमा बोक्सीको आरोपसम्बन्धि ४३ वटा मुद्दा प्रहरीकहाँ दर्ता भएका थियो। त्यसभन्दा अघिल्लो आर्थिक वर्ष यसको संख्या ४८ थियो।

बलात्कारका घटना ५० प्रतिशतले बढे

बलात्कारका मुद्दा ५० प्रतिशतले बढेका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार गत आर्थिक वर्षमा बलात्कारका २ हजार  २ सय ३३ घटना भएका थिए। अघिल्लो आर्थिक वर्षमा यसको संख्या एक हजार चार सय ८० थियो।

हरेक वर्ष बलात्कारको घटना बढिरहेको थियो। आर्थिक वर्ष ०७०/७१ मा ९ सय ५, ०७१/७२ मा ९ सय ८१, ०७२/७३ मा एक हजार ९३ र ०७३/७४ मा एक हजार एक सय ३७ घटना बलात्कारका थिए।

प्रतिकृया दिनुहोस्