RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/४/२७ गते
१०६७ पटक

पूर्व सभामुख एवं प्रतिनिधि सभा सांसद ओनसरी घर्तीले लोकसेवा आयोग र स्थानीय तहले कर्मचारी भर्नाका लागि असमावेशी तरिकाले विज्ञापन निकाल्ने र नियुक्ती गर्ने कार्य गलत भएको बताउनु भएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २०औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित ‘संवैधानिक व्यवस्था र मिडियामा समावेशीताको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटनपछि घर्तीले स्थानीय तहले समावेशी प्रक्रिया मिचेर कर्मचारी भर्ना गर्ने गलत कार्य गरेको बताउनुभयो ।

‘असमावेशी र असमानुपातिक रुपमा विज्ञापन निकाल्ने र नियुक्ती गर्ने कार्य असंवैधानिक छ’, उहाले भन्नुभयो, ‘विभेद र उत्पीडनमा परेका आदिवासी जनजाति, महिला, दलित समुदायलाई त्यसले थप पीडा दिएको छ।’

समावेशी र समानुपातिक नीतिको पक्षमा आफु सधैं लडिरहने बताउँदै सांसद घर्तीले त्यसबाट नै देशको समावेशी विकास हुने बताउनुभयो ।

‘सभामुख भैसकेको व्यक्ति जातीय कुरा गर्नुहुन्छ भनेर गुनासो गरेको पनि मैले सुनेको छु’, घर्तीले थप्नुभयो, ‘म जुन क्षेत्रबाट आएको हुँ, त्यसक्षेत्रको अधिकारका लागि मैले चासो नदिए कसले दिन्छ?’

प्रेस स्वतन्त्रताको नाममा अहिले विकृती पनि देखिएको भन्दै पत्रकारहरू थप जिम्मेवार र सचेत हुनुपर्ने उहाको सुझाव छ ।

‘देश र जनताप्रति मिडिया क्षेत्र सधैं जिम्मेवार र संवेदनशील हुनुपर्छ’, आदिवासी जनजाती पत्रकारहरूको छाता संस्था फोनिजको वार्षिकोत्सवमा उहाले भन्भनुभयो, ‘लाइक र शेयरको नम्बर बढाउने भन्दा सत्य र तथ्यमा जोड दिनुहोस्।’

प्रतिकृया दिनुहोस्