RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/४/१३ गते
१८९६ पटक

तेह्रथुम — पाँचथर र तेह्रथुमका निम्न आर्थिक अवस्थाका दलित तथा माझी समुदायका घर बनाउन सरकारले सुरु गरेको छ । जनता आवास कार्यक्रम अन्तर्गत पाँचथरका आठ र तेह्रथुमका ६ गरी १४ स्थानीय तहका १ सय ४५ परिवारका घर निर्माण सुरु भएको हो ।

घर निर्माणका लागि प्रदेश सरकारले लगानी गरेको १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए । पाँचथरमा ३ करोड ८१ लाख र तेह्रथुममा १ करोड रुपैयाँ खर्च हुने प्रदेश सरकारले जनाएको छ । प्रदेश तर्फको आवास कार्यक्रम र संघबाट हस्तान्तरित आवास कार्यक्रम अन्तर्गत पाँचथरमा यो वर्ष पहिलो पटक जनताको घर निर्माण गर्न लागिएको मन्त्री आङ्बोले बताए ।पाँचथरको प्रदेश निर्वाचन क्षेत्र अन्तर्गत १ मा ५२ र २ मा ६३ वटा घर निर्माण शुरु भएका छन् ।

निर्वाचन क्षेत्र १ मा प्रदेशबाट २० र संघ बाट २६ घर निर्माण हुने छन् । यस्तै, २ मा प्रदेशबाट २०, संघ बाट २४ र बाँकी घर समपुरक कोषको रकमबाट निर्माण गरिनेछ । फिदिम नगरपालिकामा २२, फालेलुङमा १३, याङवरकमा ५, हिलिहाङ गाउँपालिकामा ११ घर बन्ने छन् ।यस्तै तुम्बेवामा ११, कुम्मायकमा १६, फाल्गुनन्दमा ११ र मिक्लाजुङ गाउँपालिकामा २० घर बन्ने प्रदेश सरकारले जनाएको छ ।

त्यस्तै तेह्रथुमका सबै स्थानीय तहमा ५/५ वटाका दरले घर निर्माण हुने सांसद लक्ष्मण तिवारीले बताए । ‘चालु आर्थिक वर्षभित्र घर बनाइसक्ने योजना रहेको मन्त्री आङबोको भनाई छ । चार किस्तामा गरी घर निर्माणका लागि ३ लाख ३२ हजार रुपैयाँ छनोट भएका प्रत्येक परिवारलाई सरकारले उपलब्ध गराउने जनाएको छ ।

यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो 

प्रतिकृया दिनुहोस्