RaraNews

पदम सिंह प्रकाशित : २०७६/४/१३ गते
११५४ पटक

बाजुराको हिमाली गाउँपालिका–२ का एक बृद्ध दम्पत्ति र उनको परिवार दलितको हातबाट पानी पिएको भन्दै ६ वर्षदेखि गाउँ निकालिएका छन् । जिल्लाको अति विकट तथा दुर्गम क्षेत्र नातिखोलामा बस्ने ६० वर्षीय जयलाल बुढाको परिवार ६ वर्षदेखि अझै गाउँ फर्कन पाएको छैन । जयलाल बुढाकी श्रीमतीले कवाडीमा बस्दा दलितको हातको पानी पिएको र उनी बस्ने घरको ओटालोमा दलित आएको देखेपछि गाउँलेले बुढा परिवारलाई कुटपिट गर्दै धारो, कुलो, घट्ट कतै पनि प्रवेश गर्न दिएनन् ।

त्यस क्रममा गाउँलेले ती युवकसँग बुढाकी श्रीमतीको नाजायज सम्बन्धको समेत शंका गर्दै जातीय गाली गरिएको थियो । ‘गाउँलेले अनावश्यक रुपमा मेरो परिवारलाई दुख दिए,’ जयलाल बुढाले गुनासो गरे । नेपालको संविधान २०७२ को धारा २४ ले कसैलाई पनि छुवाछुत तथा जातीय विभेद् गर्न नपाइने व्यवस्था गरेको छ । तर देशको कानुन र संविधानको खिलाफ गाउँले नै उक्त परिवारलाई व्यवहार गरेको हो ।

मानसिक तनाव, कुटपिट गर्दै छोरा–बुहारीलाई समेत सँगै बस्न नदिएपछि माइलो छोरो भागेर भारत गएको बुढाको गुनासो छ । गाउँले धारामा पानी लिन गएको समयमा गाग्री फुटाउँदै ‘यीनीहरुलाई कुनै काममा सहभागी गराउनु हुँदैन’ भन्दै अमानवीय व्यवहार गरेको बुढा परिवार बताउँछन् ।

हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लले बुढा परिवारलाई अन्याए भएको भए दोषीलाई कारवाही गर्दै सम्मानजनक रुपमा गाउँमा बस्ने वातावरण मिलउने प्रतिवद्धता जनाएका छन्।

पदम सिंहले लेख्नु भएको यो समाचार अन्नपूर्णपोष्टबाट साभार गरिएको हो ।

प्रतिकृया दिनुहोस्