RaraNews

क्रान्ति शाह प्रकाशित : २०७६/४/९ गते
१३१२ पटक

सरकारले दलित वस्तीका लागि ऐलानी जग्गामा बनाइ दिएको सार्वजनिक शौचालय दलितले प्रयोग गर्न नपाइ जीर्ण बनेको छ। वीरगन्ज महानगरपालिका -२२ मनियारीको दलितवस्ती छेउमा रहेको सार्वजनिक शौचालय गैर दलितले दलितलाई प्रयोग गर्न नदिएका कारण जीर्ण भइ प्रयोगबिहीन अवस्थामा पुगेको हो।

सार्वजनिक शौचालयको चापाकल,त्यसमा जडान गरिएको पानी तान्ने विद्युतीय मोट‍र र पानी ट्याङकी गैर दलितले झिकेर घरमा लगेपछि शौचालय प्रयोगमै नआइ जीर्ण अवस्थामा पुगेको हो।

दलितवस्तीका मुसहर र चमार गरी ४० घरधुरीका लागि २०७३ सालमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले सुविधा सम्पन्न दुई कोठे पक्‍की सार्वजनिक शौचालय निर्माण गरिदिएको थियो।

वडालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने बेला दलित वस्तीमा शौचालय निर्माण गर्न जग्गा नभएको गुनासो दलितले गरेका थिए। त्यसपछि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले दलीत वस्तीकै छेउमा रहेको ऐलानी जग्गमा सार्वजनिक शौचालय बनाइएको थियो।

तर शौचालय निर्माण भएदेखि नै स्थानीय गैर दलितले शौचालयमा ताल्चा मारेर राख्ने गरेका कारण दलितले उक्त शौचालय प्रयोग गर्न नै पाएका थिएनन्। ६ महिना पहिले मुसहर र चमारले जबरजस्ती शौचालय प्रयोग गर्न प्रयास गरेपछि भने गैर दलितले शौचालयको चापाकल , त्यसमा जडान गरिएको विद्युतीय मोटर र पानी टयाङकी नै झिकेर आफनो घरमा थन्कयाएर राखेका हुन्। जसका कारण जीर्णभइ शौचालय प्रयोग गर्न सक्ने अवस्थमा छैन।

प्रयोगमै नआएपछि दुई कोठे शौचालयका ढोका जीर्ण भसकेका छन्। शौचालयका प्यानमाथि फोहोरको डुङगुर थुप्रिएको छ । हातधुने बेसीन पनि फुटिसकेको छ। दलितवस्ती छेउका जगदीश दासले शौचालयको चापाकल, त्यसमा जडान गरिएको विद्युतीय मोटर र पानी टयाङकी झिकेर आफ्नो घरमा राखेका हुन्।

‘घरमा मोटर बिग्रियो, चापाकलमा पानी सुक्यो त्यहि भएर मैले नै झिकेर आफ्नो घरमा राखेको छु,’ उनले भने, ‘चोर लफङगाले चोरेर लैजानुभन्दा सुरक्षित रहोस् भनेर नै मैले घरमा राखेको हुँ।’

तर दलितवस्तीका मुसर र चमारले भने आफ्ना लागि बनाइएको शौचालय प्रयोग गर्न नपाइ जीर्ण अवस्थामा पुगेको बताएका छन्। ‘सरकारले हामी मुसहर र चमारका लागि नै भनेर सिप्टी (चर्पी ) बनाइ दिएको थियो।तर मालिक ( गैर दलित यादव) हरुले सुरुदेखि नै ताला मारेर राखे दलितवस्तीका बैझनाथ माझी मुसहरले भने, ‘अहिले सिप्टीमा न त धारा छ न मोटर नै छ, धारा, मोटर र पानी ट्याङकी सबै मालिकले झिकेर आफ्नो घरमा राखेका छन्।’

 सुरुदेखि नै ताल्चा मारेर राखिएको शौचालयमा केहि महिना पहिले दलितले दिशा पिसाब गर्न जान खोज्दा गैर दलित (यादव जाति) हरुले धारा, मोटर र पानी टयाङकी नै खोलेर आफ्नो घरमा लगेर राखेको खेदु मुसहरले बताए।

उनले भने, ‘गाँउमा मालिककै दबदबा छ, उनीहरुकै हुकुम चल्छ, त्यसैले डरले हामी उनीसँग झगडा गर्न सक्दैनौं।’

वडा खुल्ला दिशामुक्त क्षेत्र घोषणा भइसकेको भएपनि बाध्यताले आफूहरु दिशा पिसाब गर्न खाली पर्ति र खेतमा जाने गरेको दलित वस्तीकी तपिया देवी मुसहरले बताइन्।

दलित वस्तीमा तीन घरमा मात्र शौचालय छ। बाँकी सबै घरका मान्छे दिशा गर्नुपरे खेतमा जान्छन्। तपिया देवीले भनिन् ,’खुल्ला जगहमा दिशापिसाब गर्ने रहर हामीलाइ पनि छैन, तर बाध्यताकै कारण बिहान बेलुका सरेह (खेत) मै गएर शौच गर्छौं।’

सार्वजनिक शौचालयबारे वडाध्यक्ष नै बेखबर

दलितकै लागि बनाइएको सार्वजनिक शौचालय दलितले प्रयोग गर्न नपाएर जीर्ण अवस्थामा पुगिसक्दा पनि स्थानीय जनप्रतिनिधि भने यसबारे बेखबर छन्।  दलितवस्तीका मुसहर र चमारलाई गैर दलितले सार्वजनिक शौचालय प्रयोग गर्नबाट बन्चित गराएको विषयमा आफूलाई कुनै जानकारी नभएको वडाअध्यक्ष ग्यासुद्धिन मियाले बताए।

आफ्नै वडामा रहेको दलितवस्ती छेउमै तीन वर्ष पहिले निर्माण गरिएको सार्वजनिक शौचालयका बारेमा अझैसम्म आफूलाई जानकारी नभएको उनले बताए।

दलितवस्ती छेउमा सार्वजनिक शौचालय छ भन्ने मलाई अहिलेसम्म जानकारी पनि छैन, वडाअध्यक्ष मियाले भने, ‘अहिलेसम्म त्यहाँका मुसहर र चमारले शौचालय प्रयोग गर्न नपाएको गुनासो मसँग गरेका छैनन्।’

ऐलानी जग्गमा बनाइएको सार्वजनिक शौचालयको धारा, मोटर र ट्याङकी कसैले पनि झिकेर आफनो घरमा राख्न नपाउने भन्दै उनले भने, ‘अब यस बारेमा दलितवस्तीमै पुगेर म बुझ्छु, समस्या सामधानका लागि पहल थाल्छु।’

समाजकै बेइज्जती भइरहेको छ – खानेपानी कार्यालय
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख जक्की अहमद अन्सारीले दलितका लागि ऐलानी जग्गामा कार्यालयले निर्माण गरिदिएको सार्वजनिक शौचालय दलितले प्रयोग गर्न नै नपाइ जीर्ण अवस्थामा पुग्नु समाजका लागि दुर्भाग्य भएको बताए।

 आर्थिक रुपले अति विपन्न दलितले घरमा शौचालय बनाउन सक्ने अवस्था नभएको गुनासो गरेपछि कार्यालयले ऐलानी जग्गामा दुई कोठे पक्की शौचालय बनाइ दिएको थियो, ‘अन्सारीले भने, ‘शौचालय संचालन र मर्मत सम्भारको जिम्मा त्यहीको समुदायलाई दिएका थियौं तर अहिले उक्त शौचालय दलितले नै प्रयोग गर्न नपाइ जीर्ण बनेको सुन्दा हामीलाइ पनि दुख लागेको छ।’

क्रान्ति शाहले लेख्नुभएको यो समाचार अन्नपूर्णपोष्टबाट साभार गरिएको हो ।

 

प्रतिकृया दिनुहोस्