![](https://jagaranonline.com/wp-content/uploads/2019/06/Reservation-Movement-4-1070x713.jpg)
लोकसेवा आयोगको विज्ञापन रद्द गर्न माग गर्दै ‘आरक्षण बचाऔं आन्दोलन’ तथा ‘नेपाल आदिवासी जनजाति’ महासंघले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । लोकसेवाको विज्ञापन संविधानको मर्म विपरीत रहेको भन्दै आन्दोलनमा रहेका उनीहरुले नेपाल बन्दसहितका कार्यक्रमको घोषणा गरेका हुन् ।
असंवैधानिक विज्ञापन रद्द गरी समावेशी हिसाबले पुनः विज्ञापन गर्न संसदीय समिति, सभासद्, नेता र मन्त्रिसँग आग्रह गरे पनि आफुहरुको मागलाई बेवास्ता गरिएको उनीहरुको आरोप छ । अदालतले पनि लोकसेवाको बाटो खुला गरिदिइसकेको अवस्थामा दलित, मुस्लिम, जनजातिहरुले सडक तताउने कार्यक्रमको घोषणा गरेका हुन् ।
आरक्षण बचाऔं आन्दोलनको एकजना सचिवालय सदस्य सहेक विश्वकर्मा भन्नुहुन्छ, ‘हामीले लोकसेवा आयोगको असंवैधानिक कदमलाई सच्याउन थुप्रै ढोकाहरु ढक्ढकायौं तर कसैबाट सुनुवाई भएन, त्यसैले आन्दोलनका कार्यक्रम घोषणा गरेका हौं ।’
यस्ता छन्, आन्दोलनका कार्यक्रम
असार २८ गते प्रचार प्रसार र पर्चा वितरण काठमाडौ उपत्यकालगायत विभिन्न ठाउँमा
असार २९ गते साझा मसाल जुलुस काठमाडौँ उपत्यकालगायत देशका विभिन्न ठाउँबाट
असार ३० गते साँझ सिठी जुलुस काठमाडौँ उपत्यकालगायत विभिन्न ठाउँहरुबाट
असार ३१ गते उपत्यकासहित देशैभर जुलुससहित विशाल जनप्रर्दशन
साउन २ र १० गते नेपाल बन्द