RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/३/४ गते
१६१५ पटक

गुल्मी– कानुनले बन्देज गरेको जातीय विभेद कतिपय स्थानमा अझैपनि कार्यान्वयन हुन सकेको छैन । यसको उदाहरण बनेको छ गुल्मीको वस्तु गाउँ । धुर्कोट गाउँपालिका वडानम्वर ५ साविक वस्तु गाविसमा दलित समुदायका जेष्ठ नागरिकहरुमाथि विभेद भएको समाचार सेलाउन नपाउँदै अर्को घटना दोहोरिएको छ ।

समाचार अनुसार मङ्गलबार बिहान दलित समुदायका ५ बर्षीय एक बालकलाई स्थानीय कालिका मन्दिर भित्र पस्न नदिएर र टीका पातमा दिएर विभेद गरिएको हो । मन्दिरका पुजारीले धुर्कोट गाउँपलिकाका वडासदस्य टीका विश्वकर्माका नाति ५ वर्षीय बालक ग्रेसन विकमाथि विभेद गरेको भन्दै सरोकारवालाहरुले विरोध गरेका छन् ।

मङ्गलवार बिहान नातिलाई सातो फुकाउन भन्दै विश्वकर्माकी श्रीमती सीता विश्वकर्मा ऐतिहासिक कालिका मन्दिर पुगेकी थिइन् । त्यसक्रममा अन्य समुदायका बालबालिकाहरु मन्दिर पुगेका थिए । त्यसवेला पुजारी झविन्द्र पोखरेलले अन्य समुदायका बालबालिकाहरुलाई मन्दिरभित्रै लगेर टीका लगाइदिए पनि  ग्रेसनलाई बाहिरै राख्न लगाउनुका साथै भित्रबाट पातमा टीका दिएर आफै लगाउन भनेका थिए ।

पुजारीको यस्तो व्यवहारको बालककी आमा सिताले बिरोध गरिन् । जवाफमा पुजारी पोखरेलले आफूले टीका लगाउदिन भन्ने अडान छाडेनन् । विवाद निकै बेर चल्यो । होहल्ला भएपछि दलित समुदायका मानिसहरु भेला भएपनि अन्य समुदायका मानिसहरुले खासै चासो देखाएनन् । वडासदस्य विश्वकर्माले त्यसरी जातीय विभेद गर्नु खेदजनक भएको प्रतिकृया दिए ।

स्मरण रहोस जेठ १ गतेदेखि सञ्चालनमा आएको जेष्ठ नागरिक दिवा सेवा केन्द्रमा त्यहाँका दलित समुदायका बृद्धालाई विभेद गरेको समाचार आएपछि केन्द्र सञ्चालक समितिले खण्डन गर्दै विभेद नगरेको दावी गरेको थियो ।

कालिका मन्दिर पुजा ब्यबस्थापन समितिका अध्यक्ष भुपाल भण्डारीले घटना हुँदा आफू त्यहाँ नभएको भन्दै सबैलाई निधारमा टीका लगाइदिँदा ती बालकलाई नलगाउनुपर्ने कुनै कारण नरहेको बताए । उता वडाध्यक्ष ढुण्डिराज भण्डारी र धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले विभेदको उजुरी परे कानुन अनुसार कारबाही गर्ने प्रतिबद्धता जनाए ।

यो समाचार हामीले रातोपाटीबाट साभार गरेका हौं ।

प्रतिकृया दिनुहोस्