RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/२/३१ गते
१४८६ पटक

दाङ जिल्लाको दङ्गीसरण गाउँपालिका वडा नम्बर १ र २ का स्थानीयले दशकौंदेखि भोग्दै आएको खानेपानी समस्या समाधानको माग गरेका छन् । विभिन्न निकायसँग गरेको माग सुनुवाई नभएपछि स्थानीयले संघीय प्रतिनिधी सभा सदस्य समक्ष ध्यानार्कषण पत्र पठाएका हुन् ।

करिब ८ हजार स्थानीयले खानेपानीका लागि दैनिक आधादेखि दुईघण्टासम्म संघर्ष गर्नु परेको भन्दै स्थानीयको माग लिएर अधिकारकर्मीहरु सिंहदरबार पुगेका छन् । न्याय अधिकार संस्था (जुरी नेपाल) गोगो फाउण्डेशन र जागरण मिडिया सेन्टरले दाङ क्षेत्र नम्बर ३ का संघीय प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसीलाई संयुक्त रुपमा खानेपानी समस्या तत्काल समाधान गर्न ३३ जना स्थानीयको हस्ताक्षरसहितको ध्यानार्कषणपत्र बुझाएका हुन् ।

जुरी नेपालकी अध्यक्ष शर्मिला श्रेष्ठले दाङ जिल्लाको दङ्गीसरण गाउँपालिका वडा नम्बर १ र २ को समस्या सुनाउँदै खानेपानी अभावका कारण जनजीवन निकै कष्टर भईरहेकाले समस्याको शिघ्र समाधान गर्न आग्रह गर्नुभयो । दलित तथा विपन्नहरुको बाहुल्यता रहेको त्यस क्षेत्रका महिला एवं किशोरीहरुआधुनिक युगमा समेत हातले खोस्रेर पानीको मुहान खोज्दै हिँड्नु पर्ने बाध्यतामा रहेको उहाँको भनाई छ । खानेपानीको चरम अभावका कारण स्थानीयले  दैनिक आधा घण्टादेखि दुई घण्टासम्म पानीको लागि संघर्ष गरिरहेका छन् । सरकारको भाषण धेरै सुनेको भन्दै उहाँले सभासद् केसीलाई सक्दो पहल गरेर स्थानीयको मुहारमा खुशी ल्याउन ध्यानार्कषण गराउनुभयो ।

जवाफमा, सभासद् केसीले खानेपानीको विषयलाई सरकारी लक्ष्यले नै समेटेकाले दङ्गीसरण गाउँपालिका वडा नम्बर १ र २ को समस्या छिट्टै समाधान हुने विश्वास व्यक्त गर्नुभयो । आउँदो पाँच वर्षमा ९० प्रतिशत जनतालाई स्वच्छ पानी ख्वाउने सरकारको लक्ष्य रहेको बताउँदै उहाँले खानेपानीका लागि गतिलै बजेट छुट्याईएको स्मरण गर्नुभयो ।

सरकार अनुसार विकास पनि तीन तहमा बाँडीएकाले सो विषयमा स्थानीय सरकारको ध्यान नपुगेको हुन सक्ने भएकाले आफ्नो निर्वाचन क्षेत्रको यो समस्यालाई गम्भीर रुपमा लिएको उहाँको भनाई थियो । पिउने पानीको समस्या समाधानका लागि आफ्नो तर्फबाट हुन सक्ने पहलमा कुनै कमी नहुने सभासद् केसीको जिकीर छ । स्थानीयको यो मागबारे खानेपानीमन्त्रालयलाई पनि ध्यानार्कषण गराउने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस्