RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/२/२७ गते
१२५८ पटक

छुवाछूतलाई व्यवहारमै अन्त्य गर्न पाँचथरमा सरोकारवाला निकायहरुले १० बुँदे प्रतिवद्धता गरेका छन् । जिल्ला समन्वय समिति पाँचथरको अगुवाईमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति सहित जिल्लाका सबै स्थानीय तहका जनप्रतिनिधिहरुले उक्त प्रतिवद्धता गरेका हुन् । प्रतिवद्धताअनुसार दलित समुदायमाथि हुँदै आएको जातीय भेदभाव, छुवाछूत र बहिष्करणलगायत सबै प्रकारका विभेदको पूर्ण रुपमा अन्त्य गर्दै सबै कानूनी ब्यवस्था र मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रवितद्धता अक्षरशः पालना गर्ने, संविधानका ब्यवस्थाहरुलाई स्थानीय तहहरुले आफ्ना कार्यक्रममार्फत कार्यान्वयन गर्ने घोषणा गरिएको छ ।

यसैगरी समावेशी सिद्धान्तको अवधारणालाई आत्मसाथ गर्दै स्थानीय तहका हरेक निकायमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने तथा दलित समुदायलाई शिक्षा, स्वास्थ्य, रोजगारी, भूमि, आवास, परम्परागत पेशाको औद्योगिकीकरणमा सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरिएको छ । तीनै तहका सरकारमा दलित समुदायको अर्थपूर्ण सहभागिताका लागि कानून निर्माण र कार्यान्वयन गर्ने घोषणा पनि स्थानीय तहहरुले गरेका छन् । यसैगरि सबैखाले विभेदलाई ब्यवहारत अन्त्य गर्नका लागि प्रतिवद्ध रहने, स्थानीय सरकारको कार्यक्रम तय गर्दा दलित समुदायको राजनीतिक, नागरिक, आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारको सुनिश्चितता गर्ने घोषणा गरिएको छ ।

जातीय भेद्भाव तथा छुवाछूतको अन्त्यका लागि जिल्ला स्तरमा जिल्ला समन्वय समितिको प्रमुखको संयोजकत्वमा तथा जिल्लाका आठ वटै स्थानीय तहहरुमा स्थानीय तहका प्रमुखको संयोजकत्वमा अधिकारसम्पन्न संयन्त्र बनाई नीतिगत र ब्यवहारिक ब्यवस्था गर्नतर्फ लाग्ने घोषणा गरिएको छ । यसैगरी जातीय भेद्भाव तथा छुवाछूत कसुर सजाय ऐन २०६८ बमोजिम छुवाछूत तथा भेद्भाव गरेको मानिने कार्य नगर्न अभियान चलाउने, माध्यमिक तहका सम्पूर्ण दलित विद्यार्थीका लागि निःशुल्क अध्ययनको ब्यवस्था गर्ने, सार्वजनिक स्थानमा दलितमैत्री ब्यवहार गर्ने गराउने र राजनीतिक दलहरुले आफ्ना कुनैपनि कार्यकर्तालाई जातीय भेद्भाव तथा छुवाछूत गर्नबाट रोक लगाउने घोषणा गरिएको घोषणा कार्यक्रमको आयोजक संस्था मध्येको समता नेपालका अध्यक्ष सहमान विश्वकर्माले वताउनुभयो ।

जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटाका अनुसार प्रदेश नं. १ लाई छुवाछुतमुक्त घोषणा गर्नका लागि जिल्ला स्तरमा अभियान चलाउन उक्त प्रतिवद्धता गरिएको हो । प्रदेश सरकारले जिल्ला स्तर तथा स्थानीय तह स्तरमा छुवाछुतमुक्त अभियान चलाई प्रदेशलाई छुवाछूतमुक्त बनाउने तयारी गरेको सापकोटाले जानकारी दिनुभयो । छुवाछूत व्यवहारमा कायमै रहेकोमा चिन्ता कानूनी ब्यवस्थाहरुले निषेध गरेको छुवाछूत प्रथा समाजमा अझै पनि विद्यमान रहेको प्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

समाजमा छुवाछूत जस्तो कुप्रथा विद्यमान रहनु दुर्भाग्यपूर्ण र बिडम्बनापूर्ण भएको भन्दै अन्त्यका लागि स्थानीय तहको थप भूमिकाको अपेक्षा पनि गरिएको छ । छुवाछूत दलित–दलितवीच समेत कायम रहेको स्वीकार गर्दै अगुवाहरुले राजनीतिक ब्यवस्था र शासकहरु फेरिएपनि राजनीतिक संस्कार र चरित्र नफेरिएको प्रति समेत चिन्ता व्यक्त गरेका छन् रगत सबैको एउटै हो भन्ने सन्देशका साथ आयोजना गरिएको रक्तदान कार्यक्रममा १२ जनाले रक्तदान गरेका थिए ।

यो समाचार समता नेपालका सचिव तथा अधिकारकर्मी खगेन्द धमलाको सहयोगमा तयार पारिएको हो ।

प्रतिकृया दिनुहोस्