RaraNews

रासस प्रकाशित : २०७६/२/२७ गते
१५९३ पटक

लहान ।  सिरहाको मिर्चैया नगरपालिका–६ स्थित आधारभूत प्राथमिक विद्यालय मटियर्वामा अध्ययनरत दलित विद्यार्थी छात्रवृत्तिबाट वञ्चित भएका छन् ।  नगरपालिकाले समयमा निकास नदिँदा सो विद्यालयका करीब एक सयभन्दा बढी दलित विद्यार्थी हालसम्म छात्रवृत्तिबाट वञ्चित भएका हुन् ।

 गत वर्ष २०७४ चैत महीनायता उनीहरु कुनै किसिमको छात्रवृत्ति पाउन नसकेको उक्त विद्यालयका विद्यार्थीहरुले बताएका छन् । छात्रवृत्तिका लागि विद्यालयमा सोधखोज गर्दा नगरपालिकाबाट निकासा नभएकाले वितरण गर्न नसकिएको भन्दै फर्काउने गरेको स्थानीय अभिभावक शत्रुधन सदाले जानकारी दिए ।

 गत वर्ष विद्यालयले छात्रवृत्तिबापत प्रतिविद्यार्थी रु ५०० का दरले ८५ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको थियो । छात्रवृत्तिका लागि अहिलेसम्म नगरपालिकाले रकम नपठाएकाले वितरण गर्न नसकिएको विद्यालयका प्रधानाध्यापक मनिकलाल यादवले बताएका हुन् । नगरपालिकामा पटक पटक छात्रवृत्ति रकमका लागि ताकेदा गरे पनि अझै प्राप्त नभएकाले वितरणमा ढिलाइ भएको प्रअ यादवको भनाइ छ ।

 यता मिर्चैया नगरपालिकाका नगरप्रमुख श्रवणकुमार यादवले विद्यालयले समयमा विद्यार्थीहरुको विवरण पेश गर्न नसकेकाले छात्रवृत्ति रकम निकासा गर्न नसकिएको बताएका हुन् ।

प्रतिकृया दिनुहोस्