RaraNews

सुनिता बराल प्रकाशित : २०७६/२/२४ गते
१६२५ पटक

बर्दिवास — महोत्तरीको गौशाला नगरपालिका–१० भरतपुरस्थित मुसहर बस्तीकी ६० वर्षीय अघनिया सदाले नागरिकता पाएकी छैनन् । उनले अब जीवनमा नागरिकता देख्न पाउने आशा कम हुँदै गएको छ । उनले तीन छोरीको विवाह गरिसकेकी छन् । एउटै छोरा सुकुदेव सदा २४ वर्ष पुगिसक्दा पनि नागरिकता पाएका छैनन् । नागरिकरता नपाएपछि रोजगारीका लागि भारतमा बस्छन् ।

अघनिया छोरा साथैमा भैदिए हुन्थ्यो भन्ने मात्रै आशा भएको बताउँछिन् । छोरो २४ वर्ष पुगे पनि नागरिकता नबनेपछि भारत जानुपरेकोमा मात्रै चिन्ता लागिरहने उनले बताइन् । ५० वर्ष पुगेकी मदिना सदालाई नागरिकता कस्तो हुन्छ ? हेर्ने ठूलो रहर छ । नागरिकता नदेखिकनै श्रीमान्को देहावसान भएको उनले सुनाइन् । ‘भएको एउटा सन्तान पनि मद्रासमा छ,’ मदिनाले भनिन्, ‘हाम्रो नागरिकता नभएपछि छोराको पनि छैन । ऊ अहिले २५ वर्षको भयो, १५ वर्षदेखि भारतमै छ ।’ मदिनाका छोरा प्रगाश सदा मात्रै होइन उनकी श्रीमती शिलादेवीको पनि नागरिकता छैन ।

मुसहर समुदायकै गोपी सदा ५५ वर्ष पुगेका भए पनि उनीसँग नागरिकता छैन । गोपीका ३ छोराहरू पनि नागरिकताविहीन छन् । ‘यहाँ केही काम गर्न जाँदा नागरिकता खोज्छ, केही सहयोग र सहुलियत पनि पाइँदैन, गोपीले भने, मेरो बुबा आमाको पनि नागरिकता थिएन, मेरो पनि छैन । त्यसैले छोराहरूको नागरिकता नबनेपछि उनीहरू भारतको पंजाबमा बसेर काम गरी घर चलाइरहेका छन् ।

महोत्तरीको गौशाला १० भरतपुर मुसहरबस्तीमा बसोवास गर्ने मुसहर समुदायका अधिकांश मानिससँग नागरिकता छैन । ७० घरपरिवार भएको मुसहर समुदायका पुरुषहरू अकिकांश घरमा छैनन् । नागरिकता नभएकाले नेपालमा पढ्न र काम गर्न समस्या भएपछि उनीहरू सानै उमेरमा भारत लाग्ने गरेका छन् ।

आर्थिक अवस्था अत्यन्तै कमजोर भएका मुसहरहरू गौशालामा सयौं वर्षदेखि बसोवास गर्दै आएका भए पनि नागरिकता नभएकाले उनीहरूले समस्या झेल्दै आएका छन् । पढ्न लेख्न, सरकारी सेवा सुविधा प्रयोग गर्न र रोजगारीको अवसरबाट पनि उनीहरू वञ्चित हुँदै आएका छन् ।बुबा आमाको नागरिकता नभएपछि मुसहर समुदायका बालबालिकाको जन्मदर्ता पनि छैन । जन्मदर्ता बिना स्कुलमा भर्ना नलिने भएपछि छोराछोरीले पढ्न नपाएको प्रमिला सदाले बताइन् । नागरिकता नभएकै कारण मुसहरहरूले भोट हाल्ने अधिकार पनि नपाएको र कसैले मुसहरलाई सहयोग नगरेको उनको गुनासो छ ।

वर्षौंदेखि बसोबास गर्दै आएका भए पनि सरकारले बनाएको कानुन अनुसारका कागजपत्र उनीहरूसँग नभएका कारण सरकारी सेवा सुविधा दिन नसकिएको वडा नं १० कावडाध्यक्ष जलिल शेषले बताए ।जन्मका आधारमा नागरिकता पाउने भएपछि १५/२० जना मुसहरलाई नागरिकताको सिफारिस दिइएको शेषले जानकारी दिए । आफ्नो वडामा गरिब, दलित र पछाडि परेको बस्तीलाई आाफूले प्राथामिकतामा पारेको भए पनि मुसहर समुदायमा नागरिकताको समस्या भएको हुँदा सरकारी सेवा सुविधा कटौती हुने गरेको उनले बताए ।

काम छोडेर भारत नफर्किने सोच लिएर नेपालमा आएका मंगनिया सदा वडाबाट सिफारिस लिएर नागरिकताका लागि २ महिनादेखि भौतारिहेका छन् । २५ वर्ष पुगेका सदालाई नागरिकता बने नेपालमै बसेर काम गर्ने ठूलो इच्छा छ । अनेकौं कागजपत्र ल्याउन भनी प्रशासन कार्यालयले दुःख दिएको भन्दै उनले गुनासो गरे । नागरिकता नभएपछि उनीजस्तै ३ सय युवा तथा पुरुष भारतमा दिन बिताइरहेका छन् । नागरिकता बनाइदिन र नेपालमै काम गर्ने वातावरण मिलाईदिन मुसहर समुदायको जोडदार माग छ ।

सुनिता बरालले लेख्नु भएको यो समाचार हामीले कान्तिपुर दैनिकबाट साभार गरेका हौं ।

प्रतिकृया दिनुहोस्