RaraNews

प्रदीपचन्द्र राई प्रकाशित : २०७६/२/२० गते
८७८ पटक

भोजपुर । भोजपुरको दक्षिणी हतुवागढी गाउँपालिका ८ पात्लेपानीकी सिर्जना परियारका ५ वर्षे छोरा र २ वर्षे छोरी छन्। ४ वर्षअघि श्रीमानले उनलाई र छोराछोरी छोडेर दोश्रो विहेपश्चात घर छाडे। गरिबीका कारण बिहान बेलुकीको छाक टार्नै धौधौ पर्छ उनलाई। जग्गा जमिनको नाउँमा एक फोक्टो बारी छैन। दिनभर अरुको ज्यालामजदुरी गरेर दुःखले घर चलाइरहेकी सिर्जना वर्षौदेखि कुपी बत्तीको धिपधिपे प्रकाशमा रात गुजार्दै आएकी थिइन्।

त्यहि कुपी बत्तीको सहरापुरै रात कटाउने सिर्जनाको घरमा अहिले भने सोलार बत्तीले झिलिमिली बनेको छ। छोराछोरीलाई पढ्न, खाना पकाउन, घरधन्दा गर्न अहिले सजिलो भएको छ। गाउँपालिका र केहि संस्थाबाट निः शुल्क सोलार सेट पाएपछि अहिले सिर्जनाको घर झिलीमिली बनेको छ। ‘अँध्यारोमा रात कटाउने दिन गए। छरछिमेकको घरमा जस्तै हाम्रो पनि घर उज्यालो बनेको छ।’

सिर्जनाले सुनाईन्, ‘गाउँपालिका र सहयोगी संस्थाले सहयोग नगरेको भए अझै कतिवर्ष अँध्यारोमा कटाउनुपथ्र्यो।’ वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र,जर्मन सहयोग नियोग र हतुवागढी गाउँपालिकाको साझेदारीमा गाउँपालिकाको वडा नं ७ र ८ पात्लेपानीका ८७ घरधुरी विपन्न परिवारलाई ५० वाट क्षमताको सोलार वितरण गरिएको थियो।

निःशुल्क अनुदानमा सोलार पाएपछि गाउँको चमक नै बेग्लै भएको सोलार पाउने अर्का स्थानीय काले सार्कीले सुनाए। भन्छन्, ‘गाउँका अधिकांश घरधुरी विजुली बत्तीले झलमल छ। के गर्नु पैसा नभएपछि बत्ती जोड्न पनि सकेनौं। तर सोलार बत्ती पाएपछि गाउँमा अहिले पुरै झलमल उज्यालो बनेको छ।

आर्थिक हिसाबले विपन्न रहेका एकल महिला, दलित, जनजातीलाई प्राथामिकतामा राखेर सोलार सेट प्रदान गरिएको नविकरणीय उर्जा रेरा कार्यक्रमका भोजपुर प्रमुख राजेश विष्टले बताए। उनले आगामी दिनमा समेत गाउँपालिकाका अन्य ४ सय बढी घरधुरीबाट सोलारको माग भएको बताए।तत्कालै विद्युत विस्तार गर्न नसकिएका ती वडाका आर्थिक अवस्था कमजोर भएका परिवारलाई सोलार वितरण गरिएको गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले बताए।

उनले आगामीआर्थिक वर्ष ०७६/७७ मा यसलाई थप विस्तार गरेर लैजाने बताए।विपन्न परिवारमा सोलार सेट वितरणले महिलाको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्ने गाउँपालिका उर्जा उपसमितिका प्रमुख तिर्थ राईले बताइन्।

अँध्यारो, धिपधिपे कुपी बत्तीको उज्यालोमा घरयासी काम गर्दा विशेषगरी गृहणी महिलालाई विभिन्न संक्रमण हुने जोखिम हुँदा सोलार सेट जडानपछि काम गर्न र स्वास्थ्यमा पनि राम्रो असर पुग्ने राईले सुनाइन्। हाल ५५ किलो वाटको स्थानीय कावा खोला लघु जलविधुत्तबाट निकालिएको बिजुलीले गाउँपालिकाका झण्डै ४ सय ७० घरधुरीलाई वितरण गरिएको छ।

प्रदीपचन्द्र राईले लेख्नु भएको यो समाचार हामीले अन्नपूर्णपोष्टबाट साभार गरेका हौं ।

प्रतिकृया दिनुहोस्