बझाङ सदरमुकाम चैनपुरको वडा प्रहरी कार्यालय नजिकै नमुना निमावि छ । कक्षा ६ सम्म पढाइ हुने उक्त विद्यालयमा गैरदलित विद्यार्थी पढ्दैनन् । विद्यालयको परिचरदेखि प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षमा पनि दलित समुदायकै छन् ।
नमुना निमावि दलित समुदायकै लागिमात्र भनेर सञ्चालनमा आएको भने हैन । २०४१ सालमा स्थापना गरिएको उक्त विद्यालयमा सुरुमा गैरदलितका विद्यार्थीहरुको संख्या बढी थियो । दलितप्रति हेर्ने दृष्टीकोण र छुवाछूतका कारण हुने अपहेलनाका कारण दलित समुदायका विद्यार्थीहरु कम मात्रामा थिए । विस्तारै समयको परिवर्तनसँगै दलित समुदायका विद्यार्थीहरुको संख्यामा वृद्धि हुन थाल्यो ।
दलित समुदायका विद्यार्थीहरुको संख्या बढे पनि गैरदलितका छोराछोरीहरु भर्ना हँुदैनन् । विद्यालयमा हरेक वर्ष ९५ प्रतिशत भन्दा बढी दलित समुदायका विद्यार्थी भर्ना हुने गरेको विद्यालयको तथ्यांकले देखाउँछ । पुरातनवादी सोच, दलित समुदायप्रति हेर्ने दृष्टिकोण र जातीय छुवाछुतकै कारण गैरदलित अभिभावकहरुले आफ्ना छोराछोरी भर्ना गर्न मान्दैनन् ।
सदरमुकाम चैनपुर बजारबाट सत्यवादी मावि भोपुर, जालपा मावि देवल, पाण्डु मावि पडेस र बालविकास मावि गोलाई पुग्न १५ देखि ३० मिनेट लाग्छ । सानो क्षेत्र भए पनि सदरमुकाम चैनपुरमै मात्र दुई वटा सरकारी स्कुल छन् । नमुना निमावि र बालमन्दिर निमावि बढीमा २ सय मिटरकोे दूरीमा रहेका विद्यालय हुन् । सानो चार वटा जीर्ण भवनमा पठनपाठन हुने उक्त विद्यालयमा दलित समुदायकै विद्यार्थी भएकैले कसैले चासो दिएका छैनन् ।
विद्यालयमा सदरमुकाम र आसपासका बिक, कामी, सुनार, रसाईली, दमाई, वादी लगायतका दलित समुदायका बालबालिका अध्ययन गर्छन् । विद्यालयमा शिक्षकहरु पनि दलित समुदायकै बढी छन् । दरबन्दी, राहत, बालकक्षा र परिचर गरेर जम्मा ८ जना कर्मचारी छन् । जसमा ५ जना दलित समुदायका र ३ जना गैरदलितका शिक्षक छन् ।
चैनपुर बजारको पुरानो स्कुल भएकाले विभिन्न सहयोगी संस्थाहरुले विद्यार्थीहरुको शैक्षिक सामग्रीहरुमा सहयोग गरिरहेको भए पनि आफूहरु सफल हुन नसकेको शिक्षक धिरेन्द्र सिंह बताउँछन् । नमुनामा पढाइ राम्रो नहुने र भौतिक संरचना पनि राम्रो नभएका कारण छोराछोरी अन्य विद्यालयमा भर्ना गर्ने गरेको गैरदलित अभिभावकहरु बताउँछन् ।
जातीय विभेदका कारण अभिभावकले भर्ना गर्न नमान्ने गरेको र विगत १७ वर्षदेखि आफूले यस्तो विभेद भोग्दै आएको प्रधानाध्यापक गजेन्द्र रसाईली बताउँछन् । उनले भने, “२०५८ सालदेखि प्रधानाध्यापकको जिम्मेवारी सम्हालेर आएको छु । आफू दलित समुदायकै भएका कारण दलित हेडसर भएको विद्याालयमा छोराछोरी पढाउनु हुन्न भन्ने गैरदलित अभिभावकहरुको मानसिकता भएका कारण यस्तो अवस्था आएको हो । विद्यालयमा परिचर, प्रधानाध्यापक र विद्यालय व्यवस्थापनका अध्यक्ष हामी सबै दलित समुदायका छौं । अभिभावकहरुमा पनि यो दलित समुदायकै विद्यालय हो भन्ने धारणा छ ।”
विद्यार्थीहरुलाई आकर्षण गर्न स्कुलले ड्रेस, कापी, कलमलगायत शैक्षिक सामग्री वितरण गरेको भए पनि आफू दलित भएकै कारण असफल भएको उनको भनाइ छ । चैनपुर बजार क्षेत्रमै दुई सरकारी विद्यालय आवश्यक नरहेको र अब दुवै विद्यालयलाई मर्ज गरिदिए राम्रो हुने उनको भनाइ छ । हरेक वर्ष भर्नाको समयमा अभिभावकहरुले त्यो त दलितहरुको विद्यालय हो ।
त्यता भर्ना गर्नु हँुदैन भनेर गैरदलित अभिभावकहरुले कुरा गरेको सुन्दा दुःख लाग्ने गरेको शिक्षिका कविता सुवर्णकारले गुनासो गरिन् । “पढाईको गुणस्तर पनि सदरमुकाम आसपासका अन्य विद्यालयको भन्दा राम्रो छ । आफू पनि भर्ना नगर्ने र अरुलाई पनि दलित समुदायको स्कुल हो भनेर भ्रम छरेका कारण विद्यार्थी कम भर्ना हुने गरेका छन्,” उनले भनिन् ।
मकरराज धामीले लेख्नु भएको यो समाचार हामीले कारोबार दैनिकबाट साभार गरेका हौं ।