RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/२/१५ गते
१४८० पटक

विराटनगर — नेपाल राष्ट्रिय मुसहर संघले मुसहर आयोग गठन गर्न माग गरेको छ । संघको विराटनगरमा सम्पन्न भेलाले विभिन्न १० बुँदे मागसहित मुसहर आयोग गठनको माग गरेको हो । नेपालको कुल जनसंख्यामध्ये  १२ लाख मुसहरहरु छन् । सोमबार विराटनगरमा भएको संघको प्रथम जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।

अधिवेशनले जितेन्द्र ऋषिदेवको अध्यक्षतामा १७ सदस्यीय मोरङ जिल्ला समिति गठन गरेको हो। समितिका सचिव धर्मेन्द्र ऋषिदेवले देशमा ठूल्ठुला क्रान्तिपछि राजनीतिक परिवर्तनहरु भएपनि मुसहरहरुको अवस्थामा सुधार आउन नसकेकाले मुसहर आयोग गठन गरिनुपर्ने आफूहरुको मुख्य माग रहेको बताए। सरकारले समृद्धिको नारा लगाएको भएपनि आफ्नै भोटले जितेका नेताहरु फर्केर गाउँ नआउने, मुसहर समुदायको शिक्षा, स्वास्थ्य, रोजगारी, स्थायी बसोवास लगायतका विषयमा बेवास्था गरेको उनले गुनासो गरे।

नेपालभरी २२ वटा जिल्लाका १ सय २४ स्थानमा मुसहरहरुको बसोबास छ। यसमध्ये ९८ प्रतिशत मुसहरहरु भूमिहीन रहेको समितिले जनाएको छ। ९९ प्रतिशत मुसहरहरु अझै पनि निरक्षर नै रहेको भन्दै उनले उच्च शिक्षा लिएका १२ हजार युवाहरु अझै शैक्षिक बेरोजगारका रुपमा यत्तिकै बस्न बाध्य रहेको उनले बताए।

यो समाचार हामीले कान्तिपुर दैनिकबाट साभार गरेका हौं ।

प्रतिकृया दिनुहोस्