RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/२/२ गते
१२३४ पटक

स्याङ्जा । बिरुवा गाउँपालिका–५ किचनास पुष्पगाउँका दलित समुदायमा खानेपानीको चरम अभाव छ । उनीहरुले पुस्तौँदेखि एक घण्टाको बाटो हिँडेर खानेपानीको जोहो गर्दै आएका छन् ।

राजनितिक व्यवस्थामा अनेक परिवर्तन आए पनि २५ घर रहेको पुष्पगाउँका दलित समूदाय डोकोमा पानी बोकेरै प्यास मेटाइरहेका छन् ।

एक गाग्री पानी ल्याउन एक घण्टा लाग्छ, बिहान उठेर पानी लिन नागास्थान धारामा पुग्नुपर्छ डोकोमा पानीको गाग्री बोकेर घरतर्फ आउँदै गरेकी सन्सारी विकले भनिन् । पानी बोक्दा बिहानको धेरै समय खर्च हुने भएकाले छोराछोरीलाई स्कूल पठाउनसमेत समस्या हुने गरेको उनको भनाई छ ।

बिहान बेलुकाको अधिकांश समय पानी बोकेरै बित्ने भएकाले खेती किसान गर्नसमेत समस्या हुने गरेको स्थानीय मुक्तबहादुर विक बताउँछन् । “त्यत्ति टाढाबाट ल्याएको पानी घरपरिवारले खाने कि गाईवस्तुलाई खुवाउने ?” पानीको समस्याले गाउँलेले धेरै दुःख पाएको र चुनावका बेलामा सबैले यो गर्छौं त्यो गर्छौं भने पनि आफूहरुले कतैबाट सहयोग नपाएको उनको गुनासो छ ।

किचनास आधारभूत विद्यालयकी शिक्षिका सुनिता सुनारले बिहान झिसमिसेमै उठेर पानी बोक्नुपर्ने भएकाले राम्रोसँग निद्रासमेत पु¥याउन नपाएको बताउँछिन् । “बिहान उठेर पानी बोक्ने कि घरको काम गर्ने निकै समस्या भएको छ ।” पानीकै कारण कहिलेकाहीँ त विद्यालय जानसमेत ढिला हुने गरेको उनको भनाई छ ।

गाउँका वृद्धदेखि बालबालिकासम्म बिहान–बेलुका पानी बोकेरै अधिकांश समय बिताउन बाध्य छन् । लामो बाटो ठूलाठूला गाग्रीमा पानी बोक्नुपर्दा ढाडका साथै नशा च्यापिनेसम्मका समस्या आएको स्थानीय बासिन्दा बताउँछन् । गाउँमा पानीको समस्याले आफूहरु गाग्रीसँग सम्झौता गर्न बाध्य भएको र पानीकै अभावमा गाउँमा सरसफाइसमेत गर्न नसक्नुका साथै केही आयआर्जनका कामसमेत हुन नसकेको उनीहरुको गुनासो छ ।

बिरुवा गाउँपालिकका अध्यक्ष चुनप्रसाद शर्माले पुष्पगाउँको दलित बस्तीमा खानेपानी समस्या समाधानका लागि आफूले पहल गरिरहेको र मूलको समस्याले गर्दा केही ढिला भए पनि पुष्पगाउँका बासिन्दालाई पानी खुवाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ।

प्रतिकृया दिनुहोस्