RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/२/२ गते
११३१ पटक

कञ्चनपुर । लालझाडी गाउँपालिका–६ ढक्का आरक्षपीडित शिविरका आठ वर्षीय शंकर लुहार जन्मदर्ताको प्रमाणपत्र नहुँदा शिक्षाबाट वञ्चित भएका छन् । साथीसंगी विद्यालय पुग्दा लुहार भने बाख्रा चराउन जंगल पुगेका हुन्छन् । जन्मदर्ता नहुँदा विद्यालयले उनको भर्ना लिएको छैन ।

सौतेला बुबाले हिस्सा दिनुपर्ने भएकाले शंकरको जन्मदर्ता प्रमाणपत्र बनेको छैन । शंकरका बुबा धनजित लुहारले अर्को बिहे गरेपछि माइती भीमदत्त नगरपालिका–७ हल्दुखालमा बस्दै आएकी डल्लीले पूर्वपतिकै नाम गरेका धनजित लुहार दोस्रो बिहे गरिन् । ‘शंकर ६ महिनाका थिए, श्रीमान्ले दोस्रो विवाह गरेर हामीलाई बिचल्ली बनाए । म र शंकर माइतीमै बसेका थियौँ’ डल्लीले भनिन्, ‘माइतीघरमा कतिन्जेल बस्ने भन्दै दोस्रो बिहे गरेँ ।’

ढक्का शिविरमा बस्दै आएका शंकरलाई सौतेला बुबाले नजिकैको रामेश्वर आधारभूत विद्यालयमा दुई वर्षअघि भर्ना गरे । तर, जन्मदर्ता नगरेका कारण उनले एक बर्ष पढे पनि अर्को वर्ष भर्ना हुन पाएनन् । विद्यालयले छिटो जन्मदर्ता गराऊ भन्दा पनि नगरेपछि भर्ना हुन नपाएको शंकर बताउँछन् ।

डल्लीसँग नागरिकता छैन, सौतेला बुबाले पछि अंशको दाबी नगरोस् भनेर जन्मदर्ता गराउन चाहेका छैनन् । ‘सौतेला बुबाले शंकरको बाबु बनेर जन्मदर्ता गरिदिएनन्, पहिलो घरमा गएपछि पोइला गएकी श्रीमती भन्दै छोराको जन्मदर्ता गरिदिएनन’ डल्लीले दुःखेसो पोखिन् ।

यो समाचार हामीले नयाँ पत्रिकाबाट साभार गरेका हौं ।

प्रतिकृया दिनुहोस्