RaraNews

गगन अयडी प्रकाशित : २०७६/२/१ गते
१५४१ पटक

स्वामीकार्तिक खापर गाउँपालिका–५ की धर्मा बुढा सुत्केरी भएको एक महिना भइसक्यो । तर, अझैसम्म उनी गोठमै बस्दै आएकी छिन् । सुत्केरीलाई एक महिनासम्म घरभित्र राख्नु हुँदैन भन्ने मान्यताले परिवारले उनलाई गोठमै राखेको हो । दिउँसै अँध्यारो गोठ निहुरिएर भित्र पस्नुपर्ने अवस्थाको छ । गोठमा झ्याल छैन, सानो दुलोजस्तो ढोका छ ।

एकातिर गोरु छन् भने अर्कोतिर कुखुराको खोर छ । त्यहीँ उनी नवजात शिशुलाई लिएर बस्दै आएकी छिन् । यस्तै, सोही गाउँकी सुरिन्द्र कठायतलाई सुत्केरी बेथा लाग्नेबित्तिकै स्वास्थ्यचौकी लगियो । स्वास्थ्यचौकीमा छोरा जन्माइन् । आफन्तले घरमा ल्याएर उनलाई सरासर गोठमा पु‍-याए । गोठको एउटा कुनामा उनलाई राखिएको छ ।

पूर्व उत्तरी क्षेत्रका अधिकांश महिला सुत्केरी हुँदा गोठमा

स्थानीय जनदेवी बुढाका अनुसार वाइमा तीन सय परिवार बसोवास गर्छन् । अहिले गाउँमा पाँचजना महिला एक महिना नपुगेका सुत्केरी छन्, सबै गोठमै बस्छन् । बाजुराको पूर्व उत्तरी क्षेत्रका अधिकांश महिला सुत्केरी हुँदा गोठमै बस्ने गरेको बुढाले बताइन् । हिमाली, स्वामीकार्तिक खापर, जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिकामा सुत्केरी महिला गोठमा बस्ने गरेको स्वास्थ्यकर्मीको भनाइ छ ।

‘गोठमा सुत्केरीलाई राख्नु हुँदैन भनेर चेतना दिने गरेका छौँ, तर न्यूनीकरण गर्न सकिएको छैन, छाउपडीभन्दा सुत्केरीलाई गोठमा राख्ने प्रचलन खतरनाक छ,’ स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाहीले भने । सरकारले स्वास्थ्य संस्थामा बच्चा जन्माउन प्रोत्साहनभत्ताको व्यवस्था गरेको छ ।

कर्णालीका पाँच जिल्ला र बाजुरामा स्वास्थ्य संस्थामा बच्चा जन्माएबापत तीन हजार, नियमित गर्भजाँचबापत आठ सय गरी ३८ सय र भोटो–चोलो दिने व्यवस्था छ । दुर्गम जिल्लामा बच्चा र आमाका लागि भन्दै सरकार सुहारा, युनिसेफ, फेज, आएनएफलगायत सरकारी तथा गैरसरकारी संस्थाले करोडौँ रुपैयाँ खर्च गरिरहेका छन् ।

यो समाचार हामीले नयाँ पत्रिका दैनिकबाट साभार गरेका हौं ।

प्रतिकृया दिनुहोस्