RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/१/३१ गते
९२७ पटक

हावाले छानो उडाएपछि बागलुङको दलित उत्थान आधारभूत विद्यालयका विद्यार्थी एक महीनादेखि खुला चउरमा बसेर पढ्न बाध्य भएका छन् ।

जैमिनी नगरपालिका–५ स्थित उक्त विद्यालयको छानो ३ वैशाखमा आएको हावाहुरीले उडाएको थियो । भवन समेत चर्किएकोले कक्षा २ र ३ का विद्यार्थीलाई चउरमा पढाउँदै आएकाे विद्यालयका प्रधानाध्यापक रामु विकले बताए । “घामलाग्दा चउरमा, पानी पर्दा बाल विकास भवनको बार्दलीमा पठनपाठन गराउँदै आएका छौँ”, उनले भने ।

विद्यालयले क्षति र समस्याबारे नगरपालिका, जिल्ला समन्वय समिति र जिल्ला शिक्षा एकाइलाई जानकारी गराएको छ । नगरस्तरीय विपत् व्यवस्थापन समितिले विद्यालयको स्थलगत अनुगमन गरिसकेको र क्षतिको विवरण प्राप्त हुँदासाथ विद्यालयको छाना छाउनका लागि सहयोग गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माको भनाइ छ ।

विद्यालयको अर्को एककोठे भवन समेत भूकम्पले क्षति पुगेको कारण लामो समयदेखि जोखिम मोलेर पढाउँदै आएको विद्यालयले जनाएको छ । ४३ जना विद्यार्थी रहेको उक्त विद्यालयमा अधिकांश दलित विद्यार्थी छन् ।

यो समाचार हामीले हिमालखबरबाट साभार गरेका हौं ।

प्रतिकृया दिनुहोस्