RaraNews

बिनु तिम्सिना प्रकाशित : २०७६/१/३१ गते
१४५१ पटक

विराटनगर । मोरङ बूढीगंगा गाउँपालिका २, सख्मा टोलमा ऋषिदेव -मुसहर) समुदाय र थापा परिवारबीच सुमधुर सम्बन्ध थियो । घरमा आउजाउ चल्थ्यो । समस्या पर्दा एकअर्कालाई सहयोग गर्थे । एक महिनायता भने ठीक उल्टो छ । आपसमा दुस्मनी छ । झडप भएको छ । यसको कारक हो, सनी ऋषिदेव र सिर्जना थापामगरले भागी बिहे गर्नु ।

मोरङ, बुढिगंगाको ऋषिदेव समुदायले खानेपानीबाट वञ्चित गराएको भन्दै उजुरी गरेपछि सोमबार इलाका प्रहरी कार्यालय नेमुवामा छलफल गरिँदै । तस्बिरः विनु/कान्तिपुर सनी र सिर्जनाबीच प्रेमसम्बन्ध रहेको हल्ला पहिलेदेखि नै थियो । एसईई परीक्षा सकिएकै दिन चैत १८ मा दुवैले गाउँ छाडे, सम्पर्कविहीन भए । लगत्तै थापा परिवारले छोरी फिर्ता ल्याउन भन्दै धम्क्याउन थाल्यो ।

थापा परिवारले ऋषिदेव बस्तीमा रहेको खानेपानीको सामूहिक टयुबवेल उखेलेर फालिदियो । नयाँ टयुबवेल नगाड्न पनि धम्क्याइयो । अहिले ऋषिदेव समुदाय पिउने पानीका लागि गुहार माग्दै हिँडिरहेका छन् । कुटपिट गर्ने र धाकधम्की दिने क्रम नरोकिएपछि सनीका बाबु ठाकुर र आमा सुगावती ऋषिदेवले घर छाडेका छन् । छोरा खोज्न भनेर उनीहरू हिँडेपछि घर खाली छ ।थापा परिवारको निजी जमिनमा लगभग १० घर ऋषिदेव समुदायको छाप्रा छन् । उनीहरूका थुप्रै पुस्ता त्यहीँ बसेका थिए । त्यहाँ सनीका आफन्तका चार घर छन् ।

धेरै वर्षपहिले वडा समितिले गाडिदिएको सार्वजनिक टयुबवेलबाट उनीहरूले पानी पिउँदै आएका थिए । सनी र सिर्जनाको बिहेलाई बहाना बनाएर आफूहरूलाई विस्थापन गर्न खोजिएको मुसहर परिवारको गुनासो छ ।मुसहर समुदायले अर्काे बस्तीबाट पानी ल्याउने गरेकामा त्यहाँ पनि टयुबवेल बिगि्रएको छ । ‘अर्को टयुबवेल गाडा फेरि थापा परिवारका सदस्यले उखेलिदिए । अहिले खानेपानीका लागि हामीले धेरै दुःख पाउनुपरेको छ,’ स्थानीय खकरी ऋषिदेवले भनिन् ।

खकरीले पानी खान पाउँ भन्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी थिइन् । ‘खानेपानी पनि नपाउने गरी हामिले के अपराध गरेका छौं ? गरिब भन्दैमा हाम्रो खानेपानीको स्रोत नै बन्द गरिदिने ?’ उनले भनिन् । बूढीगंगा वार्ड नम्बर २ का अध्यक्ष रेवती नारायण चौधरीका अनुसार थापा परिवारको दबाबमा मुसहरहरूले खुलेर समस्या राख्न डराइरहेका छन् ।

सनी र सिर्जनाले विवाह गरेलगत्तै थापा परिवारले आफ्नो छोरा खोजेर ल्याउन दबाब दिएको सनीका मामा दीपनारायण ऋषिदेवले बताए । ‘दुई जनाले भागेर विवाह गरे, अहिले बेपत्ता छन् । हामिलाई भने थापा परिवारको निकै दबाब आइरहेको छ,’ उनले भने ‘आक्रमण पनि गरे ।’ वडा अध्यक्ष चौधरीले पनि मुसहर समुदायमाथि पटकपटक कुटपिट भएको बताए ।तीन साताअघि झडप हुँदा थापा परिवारका ६ जना र ऋषिदेव परिवारका पाँचजना घाइते भएको स्थानीयले बताए ।

गाउँमा एक रात छलफल बोलाएर थापा परिवारका घाइतेको उपचार खर्च मुसहर परिवारलाई बेहोर्न लगाइयो । घाइते भएका मुसहर परिवारको न उपचार गरियो न त खर्च नै दिइयो । ‘आक्रमण गर्न थापा परिवार आएका थिए । हामीले प्रतिकार मात्र गरेका थियौं । उल्टै हामीलाई १३ हजार रुपैयाँ तिराइयो,’ दीपनारायणले भने ।सोमबार इलाका प्रहरी कार्यालय नेमुवामा छलफल भए पनि निष्कर्ष निस्किएन ।

इलाका प्रहरी कार्यालय नेमुवाका प्रहरी नायब निरीक्षक मनोज अधिकारीले जिल्ला प्रहरी कार्यालयले घटना छानबिन गरिरहको जनाउँदै आफूले छलफलको समन्वयमात्र गरेको बताए । मुसहर परिवारले भने प्रहरीले सुरक्षा नदिएको र समयमा उजुरी नसुनेको गुनासो गरेका छन् । ‘सानो जातको केटाले मगरकी छोरी भगायो भनेर कुटपिट र पानीको स्रोत बन्द गरिनु गलत छ भनेर मेरै पहलमा प्रहरीमा छलफल बोलाइएको हो,’ वडाध्यक्ष चौधरीले भने ।

टयुबवेल आफ्नो जग्गा भएकाले अब राख्न नदिने थापा परिवारको भनाइ छ । ‘हामीलाई टयुबवेल हटाएको आरोप लागेको छ तर त्यो सत्य छैन,’ सिर्जनाका आफन्त धीरेन्द्र थापाले भने, ‘त्यो जग्गामा हामीले उद्योग स्थापना गर्न लागेकाले बस्ती र टयुबवेल हटाउने अवस्था आएको हो ।’सिर्जनाका बुबा रामु थापाले छोरी फिर्ता ल्याइदिन आग्रह गर्दा नमानेपछि समस्या भएको बताए । ‘हामीबीच दाजुभाइको सम्बन्ध थियो, दुवै घरमा आउनेजाने थियो,’ उनले भने, ‘मेरो छोरी भगाएर लगेपछि खोजेर ल्याउन भन्यौं तर यिनीहरू मान्दैनन् ।’ थापा परिवारले ऋषिदेव परिवारलाई छोरी बेचिदिएको आरोप लगाएको छ ।

बिनु तिम्सिनाले लेख्नु भएको यो समाचार हामीले कान्तिपुर दैनिकबाट साभार गरेका हौं ।

प्रतिकृया दिनुहोस्