RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/१/३० गते
११८८ पटक

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० की भागरथी लुहारले सिलाइ कटाइको तालिम लिएपछि यसैलाई व्यावसायिक पेशा अँगाल्ने योजना बनाएकी छन् । परिवारको आर्थिक अवस्थामा सुधार ल्याउन उनले तालिमपश्चात् निःशुल्क रूपमा पाएको सिलाइ मेसिन पाएपछि यसैलाई पेशा बनाउने योजना बनाएकी छन् ।

भारतमा होटेलमा काम गर्ने श्रीमान कमाइले उनको पारिवारिक खर्च मुस्किलले चल्ने गरेको छ । ‘श्रीमान् एक्लैको कमाइले परिवार चलाउन मुस्किल छ,’ उनले भनिन्, ‘आर्थिक अवस्थामा सुधार ल्याउन पसल राखेर कपडा सिलाइको कार्य अगाडि बढाउँछु ।’ घरका दुई जनाले कमाउन थालेपछि विपन्नता हटाएर आर्थिकरुपमा सबल बन्न सकिने उनको भनाइ छ । दुई महिने एक तहको कक्षा उत्तीर्ण गरेका भागरथीले लेडिज सुट, पेटिकोट, ब्लाउज, म्याक्सीलगायतका कपडा सिलाउन सिकेकी छन् ।

आर्थिक रूपमा विपन्न मुक्त हलियाका महिलालाई आत्मनिर्भर बनाउन अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को सहयोगमा सञ्चालित दुईमहिने एक तहको कक्षाबाट ५० महिलाले सिलाइ कटाइसम्बन्धी तालिम लिएका छन् । तालिम लिएका महिला सिलाइ कटाइमा दक्षता हासिल गरेपछि आम्दानी बढ्नेमा ढुक्क छन् ।

तालिममा सहभागी नगरपालिका–८ जुडाकी कल्पना महरले भाइबहिनीको विद्यालय खर्च धान्नकै लागि अर्काको पसलमा कपडा सिलाइ कार्य गर्दै आएको बताइन् । घरको आर्थिक अवस्था दयनीय हुँदा बुबाले भारतमा छ महिना मजदूरी गरी ल्याएको रकमले परिवारको खर्च नचल्ने भएकाले अर्काको पसलमा काम गर्नुपरेको उनले बताइन् । ‘सीप नहुँदा सिलाइको कामबाट थोरै मात्र पारिश्रमिक पाउँदै आएको थिएँ,’ उनले भनिन्, ‘सीप सिकेर दक्ष बनेपछि पारिश्रमिक पनि सोहीअनुसारको पाइने भएको छ ।’

नगरपालिकाको वडा नं २ का चाँदनी आग्रीले कुनै पनि सीप नहुँदा चुलोचौको र मेलापातमै दिन खर्चिँदै आएकी थिइन् । सिलाइकटाइको तालिम पाएपछि उनको सोचमै परिवर्तन आएको छ । उनी भन्छिन्, ‘सिलाइकटाइको पसल राखेर गाडी चालक श्रीमानको भन्दा बढी कमाइ गर्न आतुर छु ।’

राष्ट्रिय मुक्त हलिया महासङ्घका अध्यक्ष ईश्वर सुनारले मुक्त हलिया परिवारको आर्थिक अवस्थामा सुधार ल्याउन विपन्नताका आधारमा महिलाको छनोट गरी सिलाइकटाइ तालिम दिइएको बताए ।

हामीले यो समाचार लोकान्तर डटकमबाट साभार गरेका हौं ।

प्रतिकृया दिनुहोस्