RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/१/२७ गते
१२६८ पटक

कञ्चनपुर-कञ्चनपुरको बेदकोट नगरपालिका-५ धरमपुरको मुक्त कमैया शिविरमा पानीको हाहाकार भएको छ। बिहीबार बेलुकी बस्तीमा रहेको धारामा पानीमा लाइन बसेकी अनिता विकलाई हरेक दिन पानीका लागि लाइन बस्नु बाध्यता बनेको छ।

“गर्मीयामका तीन महीना त प्यास मेटाउनै मुश्किल पर्छ”, धरमपुरकी विकले भने, “मुक्तभएपछि यहाँ बसेयता पानीको समस्या हरेक वर्ष झेल्नुपरेको छ।” फागुनदेखि असार महीनामा आकाशबाट पानी नपरुञ्जेलसम्म बस्तीमा पानीको समस्या हुने गरेको विकको भनाइ छ।

“सयौँ परिवार रहेको गाउँमा मुश्किलले दुई÷तीन वटा नल्का (धारा) मा थोरथोरै पानी आउँछ”, उनले भने, ‘यहाँ राति १२ बजेसम्म पानी भर्न धारामा बस्नुपर्ने बाध्यता छ ।” त्यसैगरी बस्तीकै सुनिता थारुले पनि पानीकै कारण बस्तीभरि समस्या रहेको बताए। “कमैयाबाट मुक्त भएपछि स्वतन्त्र भएको आभास त भयो”, थारुले भने, ‘तर सामान्य सुविधासमेत बस्तीमा नहुँदाको पीडा हामीलाई मात्रै थाहा छ।” सिँचाइको अभावले करेसाबारीमा तरकारी फलाउन पनि समस्या हुने गरेको मुक्तकमैया बस्तीका स्थानीयवासीको दुखेसो छ।

“जहिल्यै तरकारी किनेर खानुपर्छ”, उनले भने, ‘कृषिमै निर्भर रहेपनि थारु समुदाय मजदूरी गरेर परिवार पाल्दैछन्।” विसं २०५८ मा पुनःस्थापना भई शिविरमा बसेयता पानीको समस्या रहेको स्थानीय लक्ष्मी औजीले बताए। बस्तीमा पानीका लागि बोरिङ जडानको काम भइरहेको भए पनि त्यसको निर्माण गति सुस्त रहेको उनको भनाइ छ।

‘अठार वर्षदेखि यहाँ पानीको समस्याबाट मुक्त हुन सकेनौँ”, औजीले भने, “हाम्रो बस्तीसम्म पनि स्वच्छ खानेपानी पुग्ला र ?” स्थानीय कल्पना डगौराले पानी नहुँदा नुहाउन र लत्ताकपडा धुन टाढाको खोलामा जानुपर्ने बाध्यता रहेको बताए।

हामीले यो समाचार देश सञ्चारबाट साभार गरेका हौं ।

प्रतिकृया दिनुहोस्