RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/१/२४ गते
१६३८ पटक

बारा । पत्रकार र साहित्यकारहरुको संयुक्त प्रयासमा आँधीबाट प्रभावित बाराको एक दलित बस्तीमा खानेपानी धारा निर्माण गरिएको छ । पीडितलाई राहातस्वरुप जिल्लाको सुवर्ण गाउँपालिका वडा न.४ हर्दिया स्थित ६४ घरधुरी रहेको दलित बस्तीमा दुई वटा पानीका धारा निमार्ण गरेको हो ।

गत चैत्र १७ गते आएको बिनासकारी आँधीबाट प्रभावित उक्त दलित बस्तीमा स्थलगत रिर्पोटिङका क्रममा ६४ परिवारले एउटै पानीको धारा प्रयोग गरिरहेको पाइएको थियो । उक्त बस्तीमा खानेपानीको चर्को अभाव देखिएपछि स्थानिय र स्थानिय जनप्रतिनिधीसंग छलफलगरी खानेपानीका धाराहरु निमार्ण गरिएको पत्रकार केपी अनमोलले जानकारी दिए ।

धारा निर्माणका लागि साहित्यप्रेमी तथा पत्रकार समर प्रकाश, बासुपुष्पा अधिकारी, पवन लामिछाने, लेख कार्की, दिप दर्शन, संजय, अहमद साहिल, राजमार्ग, दिनेश खप्तडी, दिपकराज बंजाडे, आगन्तुक अच्युत, कमल पौडेल, सागर बस्याल, राज अविरल, बरुण रिजाल, कर्ण बोगटी, सुनिता बस्नेत, कमल संघर्ष, केपी अनमोल र न्यु भिजन तथा सिर्जनशिल युवा क्लव अछामबाट रु. ६०,१०० रकम संकलित गरिएको गजलकार तथा पत्रकार कमल संघर्षले बताए ।

निर्माण गरिएका धाराहरु आइतबार एक कार्यक्रमको आयोजनागरी स्थानिय जनप्रतिनीमार्फत दलित बस्तीलाई हस्तान्तरण गरिएको छ ।
हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै सुवर्ण गाउँपालिका उपप्रमुख बविता यादवले खानेपानीको चर्को अभाव रहेको दलित बस्तीमा खानेपानी धारा निर्माण गरेर आफुहरुलाई ठुलो गुन लगाएको बताईन ।

“काठमाडौंबाट आएर आँधी पीडित दलित बस्तीमा मलम लगाउनु भयो उनले भनिन्, अब हामीहरुले यसको सहि सदुपयोग गर्दै संरक्षणमा ध्यान दिनुपर्छ ।” कार्यक्रममा उपस्थित वडा अध्यक्ष दोलेन्द्र यादवले निर्माण गरिएका पानीका धाराहरु राहात नभई कहिल्यै नमेटिने अमुल्य उपहार भएको बताए । दलित बस्तीका समस्याहरु समाधान गर्नका लागि स्थानिय सरकार लागि परेको बताउँदै अध्यक्ष यादवले भने, “दलितहरु धेरै कुरामा पछाडी छन्, उनिहरुको विकासका लागि आफ्नोस्तरबाट भरपुर प्रयास गरिरहेको छु ।”

स्थानिय दलित महिला वडा सदस्य मन्र्तुन्नी देवी रामले पहिले आफ्नो दलित बस्तीमा पानीको धेरै अभाव रहेकोले तर अब केहि राहात भएको बताइन । कार्यक्रममा बोल्दै स्थानिय दलित युवा राज देव रामले पानीको अभावमा आफुहरु गर्मी समयमा पानी पिउन, नुहाउन, लुगा धुन, गाईबस्तुलाई खुवाउन समेत नपाईरहेको बताएका थिए ।
कार्यक्रममा उपस्थित स्थानियहरुले आफुहरुका लागि थप दुई वटा धारा निर्माण भएपछि अब पानीको सहजता भएको भन्दै खुशी ब्यक्त गरेका थिए ।

यो समाचार हामीले अनमोलपोष्टबाट साभार गरेका हौं ।

प्रतिकृया दिनुहोस्