RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/१/२२ गते
१६१३ पटक

 दलितले गैर दलित विहे गर्दा समाजबाट बहिस्कारदेखि अपमान खेप्नुपरेका समाचार नयाँ होइनन् । तर दलित केटा र दलित केटीबीच विहे हुँदा समेत सोही समुदायबाट सामाजिक बहिस्कार हुन्छ भने समाजमा रहेको जातीय उत्पीडन कसरी अन्त हुनसक्छ ?

परियार जातकी युवतीलाई बेहुली बनाएर भित्र्याएका रामेछाप मन्थलीका सबिन विश्वकर्मा अहिले नयाँ दाम्पत्य जीवनको शुरुआत गर्ने बेला समाजसँग यही प्रश्न गरिरहेका छन् । १० दिनअघिमात्र उनले सिन्धुलीकी मोनिका परियारसँग बिहे गरेका थिए ।

परिवारको सहमतिमै बिहे भए पनि विश्वकर्मा परिवारका नजिकका कतिपय नातेदार र आफन्तले सो बिहे बहिस्कार गर्न अन्य आफन्तलाई दबाव दिएको गुनासो उनले गरेका छन् । स्थानीय तहमा निर्वाचित दलित महिला जनप्रतिनिधि आफैं विश्वकर्मा परियारभन्दा माथिल्लो जात भएकाले सो बिहे भाँड्नुपर्छ भनेर लागेको आरोप छ ।

समाजमा कथित उपल्लो जात र दलितबीच जुन खाडल छ, दलित भनिएका समुदायबीच पनि त्योभन्दा ठूलो जातीय बिभेद रहेको कारण सबिनको बिहे उनकै समुदायबाट विवादित बनाइएको हो । दलित समुदायमा दमाई (परियार)लाई कामी (विश्वकर्मा) भन्दा तल्लो जाति मानिन्छ र उनीहरुबीच पानी चल्दैन ।

सो मान्यतालाई तोड्दै सबिनले मोनिका परियारसँग बिहे गरेपछि उनका कतिपय आफन्तले ‘सामाजिक बहिस्कार’ गरेका हुन् । परिवारको साथ सहयोगले भएको विवाहमा कतिपय आफन्तहरु भने सहभागी नभएको उनले दुखेसो पोखे । उनले ती आफन्तले अझै आफूहरुलाई स्वीकार नगरेको बताएका छन् ।

रामेछाप जिल्ला मन्थली नगरपालिका–११ स्थायी घर भई हाल ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका इमाडोलको बोझेपोखरी बस्दै आएका सबिन विश्वकर्माले सिन्धुली जिल्ला स्थायी घर भएकी मोनिका परियारसँग मागी विवाह गरेका हुन् ।

केही समयदेखि प्रेमसम्बन्धामा रहेका यो जोडीले दुवै परिवारको सहमतिमा यही वैशाख ९ गते मागी विवाह गरेका हुन् । समाजको अगाडि सविन र मोनिकाका लागि यो विवाह त्यति सजिलो भने थिएन । तर, आफ्नो परिवारको समर्थन पाएपछि भने उनीहरुले लगभग असम्भव जस्तो विवाहलाई सम्भव बनाएका हुन् ।

सविनको मात्रै होइन, उनका बुबा दीपक विश्वकर्माले केही आफन्तले आफ्नो छोराको विवाहलाई स्वीकार नगरेकोमा दुःख लागेको बताए । विवाहको निर्णय गर्नुपूर्व आफ्ना दाजुभाइसँग सल्लाह गर्दा केहीले सहमति जनाए पनि केहीले भने परियारलाई बुहारी बनाए नाता सम्बन्ध नै तोडिनेसम्मको धम्की दिएको उनले बताए । ती आफन्त बैबाहिक कार्यक्रममा समेत सहभागी भएनन् ।

सबिनकी ठूलीआमा अर्थात दीपककी भाउजू सुन्तली विश्वकर्मा स्थानीय जनप्रतिनिधि नै हुन् । उनी भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका वडानम्बर ८ की निर्वाचित वडा सदस्यसमेत हुन् ।

दलितमाथि हुने विभेद अन्त्य गर्नका लागि संविधानले नै स्थानीय तहका दलित महिला अनिवार्य निर्वाचित हुने प्रवन्ध गरेपनि सुन्तलीले उल्टै विभेदको पक्ष लिएको आरोप दुलाहाका परिवारले लगाएका छन् । भतिजोको विवाहमा सुन्तलीको परिवारबाटै कोही पनि उपस्थित नभएको दीपक बताउँछन् ।

निर्वाचित जनप्रतिनिधिले आफूभन्दा तल्लो जातको बुहारी ल्याएको भन्दै अन्य आफन्तलाई समेत वैवाहिक कार्यक्रममा सरिक नहुन भनेकोप्रति दीपकको चित्त दुखाई छ ।

‘गैह्रदलित विवाह गर्दा मेरा भाइभतिजाले ठूलो जातको केटी ल्यायो भन्दै खुसी साट्दै हिँड्ने मेरा दाजुभाइ, आज मेरो छोराले परियार ल्याउँदा वैवाहिक कार्यक्रममा नै सहभागी भएनन्,’ दीपक भन्छन्, ‘आफू त आएनन् नै अरुलाईसमेत नजानू भन्दै उर्दी लगाउँदै हिँडेको पाएँ । त्यो देख्दाचाहिँ दुःख लागेको छ ।’

समाजमा जातीय विभेद भयो, कथित उपल्लो जातबाट दलित हेपियौं भनेर अभियान चलाइरहेका बेला दलित समुदायभित्रै रहेको विभेदले समग्र दलित आन्दोलनलाई नै गिज्याइरहेको दलित अधिकारकर्मी बताउँछन् ।

यो समाचार हामीले अनलाइन खबरबाट साभार गरेका हौं ।

प्रतिकृया दिनुहोस्